विज्ञान जिज्ञासा

के हो सूचना प्रविधि (Information Technology) ?

ध्वनि, तस्वीर, अक्षर तथा अंकको रूपमा सूचनाहरूलाई विद्युतीय यन्त्रहरू, कम्प्युटर तथा दुरसञ्चार प्रविधिको प्रयोग गरि भण्डारण, सम्पादन, सम्प्रेषण, संग्रह र प्रवाहलाई सूचना प्रविधि भनिन्छ । दिनप्रतिदिन बढ्दै गईरहेको सूचना प्रविधिको विकाससंगै यसको कार्यक्षेत्र पनि फराकिलो हुदै गइरहेको छ । नेपालको सन्दर्भमा सूचना प्रविधि, बिधुतिय अथवा अनलाइनबाट गरिने कारोबारको शुरुवात एउटा नयाँ आयाम हो । सूचना  प्रविधिको द्रुततर विकासले नेपाल जस्ता अल्पविकसित मुलुकहरुलाई शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा व्यापार लगायतका आर्थिक तथा सामाजिक क्षेत्रको दिगो विकास गर्ने सुवर्ण अवसरहरु प्रदान गरेको छ ।

अहिले सबैभन्दा धेरै जनसम्पर्क चाहिने निकायहरू, सरकारी, गैरसरकारी संस्थाहरू, जनताको सेवामा काम गरिरहेका सार्वजनिक निकायहरू, उद्योग तथा व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन जस्ता कुनै पनि क्षेत्र सूचना प्रविधिको उपयोगविना अपुरो हुन्छ ।एक्काइसौं शताब्दी सूचनाप्रविधि को युग हो । विकासोन्मुख देशमा सूचना प्रविधिको विकासले महत्त्वपूर्ण भूमिका खेलेको छ । सूचनाप्रविधि को क्षेत्रमा आएको परिवर्तनलाई स्थानीय निकायका प्रत्येक तहमा पुर्याउन आवश्यक छ ।

२०२८ सालको राष्ट्रिय जनगणनाको तथ्याङ्क प्रशोधनको क्रममा नेपालमा कम्प्युटर प्रविधिको प्रयोग भए पश्चात नेपालले सूचना प्रविधिको क्षेत्रमा प्रवेश गरेको भएपनि हालसम्म सूचना प्रविधको क्षेत्रमा भएको विकासको सन्दर्भमा नेपालले यस क्षेत्रमा अपेक्षित प्रगति तथा उल्लेखनीय उपलब्धी हासिल गर्न सकेको छैन । तथापी यस क्रममा विगतमा केही प्रयासहरु भने नभएका हेाइनन् । राष्ट्रिय कम्प्युटर केन्द्रको स्थापना गरी सो केन्द्र मार्फत कम्प्युटर प्रविधिसम्बन्धी तालिम कार्यक्रम संचालन र कतिपय क्षेत्रमा कम्प्युटर प्रविधिको प्रयोगको कार्य गरिएको थियो । आर्थिक उदारीकरणको नीति अवलम्बन संगै यस क्षेत्रमा पनि नीजि क्षेत्रको संलग्नता व्यापक बन्दै गएको र निजी क्षेत्रबाट सूचना प्रविधि शिक्षा, सूचना प्रविधिको प्रयोग र सूचना प्रविधि सम्बन्धी जनशक्तिको विकासमा उल्लेखनीय योगदान रहेको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!