विचार-विश्‍लेषण

पैसा र यसको सम्बन्ध

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

पैसा विनिमय गर्ने एक माध्यम मात्र हो । पैसाको व्यवस्थापन गर्न सके यसले सुविधा पनि किन्छ, सुख पनि दिन्छ । सदुपयोग गरे पुण्य कमाउँछ, दुरुपयोग गरे पाप कराउँछ । पैसा न कमाउन सजिलो छ न जोगाउन सजिलो छ । पैसाले हसाउँछ पनि रुवाउँछ पनि । छन् गेडी सबै मेरी छैन, गेडी सबै टेढी त्यसै भनिएको होइन ।

पैसाले कहिल्यै कसैलाई पुग्दैन । करोडपति पनि कुदेकै छ, पत्नीको पति पनि कुदेकै छ । पैसाले सुविधा किन्न सकिन्छ तर सुख किन्न सकिँदैन । आरामदायक ओछ्यान किन्न सकिन्छ तर निद्रा किन्न सकिँदैन । पैसाले रूप किन्न सकिन्छ तर असल सम्बन्ध किन्न सकिँदैन । यौवन किन्न सकिन्छ तर प्रेम किन्न सकिँदैन । ओखती किन्न सकिन्छ तर मृत्यु रोक्न सकिँदैन । घर, गाडी किन्न सकिन्छ तर इज्जत किन्न सकिँदैन ।

खाली हात आइन्छ, खाली हात गइन्छ, सबैलाई थाहा छ तर बाँचुन्जेल पैसा, धनका लागि मारकाट पनि चलिरहन्छ । पैसा अनेकथोक हो तर सबै थोक होइन । अनेक व्यवहार धान्न सबैलाई पैसा चाहिन्छ । पैसाले टाढाको नातालाई पनि नजिकको बनाइदिन्छ, घरकै मानिसलाई पनि कोसौं टाढा हुत्याइदिन्छ ।

पैसाले नै कति सम्बन्ध जुटाउँछ, कति सम्बन्ध छुटाउँछ । पैसा हुनेसँग र पैसा नहुनेसँग मानिसहरूले देखाउने व्यवहार पनि फरक–फरक हुन्छ । यौनमा सन्तुष्ट भएन भने पतिले झर्कोफर्को गर्छ रे, धनमा सन्तुष्ट हुन नसके पत्नीले झर्कोफर्को गर्छे रे । त्यसैगरी पैसा हुँदा पतिको चरित्र र नहुँदा पत्नीको चरित्र उदाङ्ग हुन्छ रे ।

पैसा माग्ने बेलामा मानिसले यति अनुनय विनय गर्छ कि के रात के बिहान जतिबेला जहाँ जसरी भने पनि आइपुग्छ, तर फिर्ता गर्ने बेलामा दाँतबाट पसिना निकाल्छ । आफैं पुर्‍याउन आउनु त कहाँ हो कहाँ, अनेकपल्ट धाउँदा पनि आफ्नै पैसा लिन पनि भीख मागेझैं गर्नुपर्छ । कसैसँग सम्बन्ध बिगार्न परे पैसाको लेनदेन गरे पुग्छ ।

सिक्नुपर्ने पाठ

दुई भारी दाउरा र दुई मिटर सेतो कपडा । मृत्युपछि लिएर जाने त केही होइन । मरेपछि कमाएको यावत धनसम्पत्ति, शक्ति र प्रसिद्धि यहीँ छोडेर जानुपर्छ तर यी कुरा कमाउँदा, गलत काम गर्दा हामीले गरेको पाप मरेपछि पनि लिएर जानुपर्छ । धेरै पैसा कमाएका व्यक्ति मृत्युशैय्यामा घिकघिक गरिरहेको मैले देखेको छु । उनीहरुको स्वास पनि सजिलोसँग जाँदैन। उनीहरु आनन्दसँग मर्न पनि पाउँदैनन् । अतिशय महत्वकांक्षाको यो दौडलाई हाम्रो शिक्षा प्रणालीले नै बढावा दिएको छ।

हामीकहाँ पढेको पश्चिमा शिक्षाको प्रभाव हो यो । बच्चैदेखि हामी हाम्रा बालबालिकालाई यही सिकाइरहेका छौँ कि ठूलो मान्छे बन्नुपर्छ, धनी बन्नुपर्छ । उनीहरुलाई असल मान्छे बन्न, अनुशासित नागरिक बन्न हामीले सिकाएका छैनौँ । मुख्य कुरा बुझ्नुपर्छ कि अनुशासित जीवन जिउन सक्नु नै सबैभन्दा ठूलो धन हो । अनुशासित जीवनका लागि नैतिकता चाहिन्छ । नैतिकता र अनुशासनले मात्र आनन्द दिन सक्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

के लोभ मृत्युको कारण बन्न सक्छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!