विज्ञान जिज्ञासा

पुरुषको तालु किन खुइदिन्छ ?

सामान्यतः टाउकोमा रौँ नहुनेलाई तालु खुइलिनु भनिन्छ । तपाईले तालु खुइलिएका पुरुष धेरै देख्नु भएको होला । तालु खुइलिएकोमा धेरै भनाईहरू छन् । कसैले यसलाई बुढौलीको संकेत मान्छन् भने कसैले बुद्धिमानीहरूको तालु खुइलिन्छ भन्छन् । यसैलाई नै केही व्यक्तिहरू धनी हुनुको पहिचानको रूपमा लिनुका साथै कसैले मुर्खताको प्रतिकको रूपमा लिन्छन् । कतिपयले तालु खुइलिनुलाई बुद्धि र विवेकको क्षमताको रुपमा लिएपनि यो एउटा रोग नै हो । सामान्यत तालु दुई प्रकारले खुइलिन्छ । एक स्थायी र अर्को अस्थायी तवरले । वंशाणु, उमेर र पुरुषमा हुने Sex Hormone Androgen को निष्काशन, यी तीन प्रमुख कारणले गर्दा मान्छेको तालु स्थायी रूपले खुइलिन्छ । साथै टाउकोमा घाउचोटपटक, जन्मजात टाउकोमा रौँ को कमी हुनाले रौँ को जरामा भौतिक एवं रासायनिक तत्वले चोट लाग्नाले पनि तालु स्थायी रूपले खुइलिने गर्दछ । त्यस्तै निमोनिया, टाइफाइड, ज्वारो, रुघाखोकीका कारणले तालु अस्थायी रूपमा खुइलिने गर्दछ ।

यसका साथै कमजोरीले गर्दा पनि तालु खुइलिने गर्दछ । धेरै पटक X–ray गर्नाले औषधी सेवन गर्नाले, कुपोषण, छाला सम्बन्धी रोग, धेरै तनाव लिनाले र Endocrine मा खराबी हुनाले पनि अस्थायी रूपमा तालु खुइलिन्छ । यदि तालु कमजोरी र रोग लागेर खुइलिन्छ भने त्यसलाई पौष्टिक खानेकुरा खाएर निको पार्न सकिन्छ । दैनिक जसो कपालको राम्रो हेरविचार गनुृका साथै पौष्टिक खानेकुरा खानाले तालु खुइलिने प्रक्रियालाई केही हदसम्म नियन्त्रण गर्न सकिन्छ । तर यसलाई स्थायी रूपले निर्मूल पार्न अहिले सम्म कुनै औषधी उपचार र थेरापीको विकास भएको छैन । तसर्थ यसको उपचारको निम्ति झूठा विज्ञापनको पछाडि दौडेर आफ्नो समय र पैसा खर्च नगर्नुमा नै बुद्धिमानी होला । बरु नियमित व्यायाम, सरसफाई, पौष्टिक खानेकुरा कपालको हेरविचार गर्नाले र तनाव एक आपसमा बाड्नाले यसबाट केही मुक्ति पाउन सकिन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!