खानपानहेल्थ टिप्स

आँप र यसका उपयोगी गुणहरु

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

आँपलाई फलको राजा भनिन्छ । शास्त्रमा यसलाई अमृत फल भनिएको छ । आँप काँचो होस् वा पाकेको, दुवैमा औषधीय गुण हुन्छ । आयुर्वेदका अनुसार, आँपका पाँचै अंग अर्थात् बोक्रा, जरा, पात, फल, फूल सबै काममा आउँछन् । पाकेको आँप गुलियो, वीर्यवर्धक, पौष्टिक, वायुनाशक, कान्तिदायक, शीतल, पित्तनाशक हुन्छ । आँपको सेवनले भोक पनि बढ्ने गर्छ । यसले मुटुलाई बलियो बनाउनुको साथै पित्तलाई नियन्त्रणमा ल्याउने काम गर्छ । आँप कफवर्धक पनि मानिन्छ । आँप चाउरी रोक्नसमेत प्रभावकारी मानिन्छ ।

पाकेको आँपमा प्रोटिन, बोसो, खनिज पदार्थ, कार्बोहाइड्रेट, क्याल्सियम, फोस्फोरस, फलाम, भिटामिन ‘ए’, ‘सी’ र ‘बी’ लगायत पाइन्छ । आँपको मुख्य घटक सर्करा हो, जुन विभिन्न फलमा ११ देखि २० प्रतिशतसम्म हुन्छ । आँपमा पाइने मुख्यतः चिनी त्यसको खानयोग्य खण्डको ६.७८ देखि १६.९९ प्रतिशतसम्म हुन्छ । ग्लुकोज र अन्य सर्करा भने १.५३ देखि ६.१४ प्रतिशतसम्म पाइन्छ ।आँपमा टार्टरिक र मेलिक अम्लसमेत पाइन्छ । साइटि्रक अम्ल भने थोरै मात्रामा हुन्छ । यो अम्ललाई मानव शरीरले उपयोग गर्ने गर्छ । यो अम्ल शरीरमा क्षारीय सञ्चय कायम राख्न सहयोगी हुन्छ ।

१. क्यान्सरबाट बचाउछ

एन्टिअक्सिडेन्टयुक्त हुन्छ, जसले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर कोलोन क्यान्सर तथा ल्युकेमियाबाट बचाउछ ।

२. दृष्टिशक्ति बढाउछ

यसमा हुने भिटामिन ए र रेटिनोलले आँखाको शक्ति बढाउछ ।

३. फाइबर र भिटामिन सिको भण्डार

आँपमा हुने फाइबर र भिटामिन सिको प्रचूर मात्राले लिपोप्रोटिनको कम उपस्थितिलाई घटाउन मद्दत गर्छ, जसबाट कोलेस्टेरोलको मात्रा घट्छ ।

४. शरीरमा अल्कालाइनलाई सन्तुलित पार्छ

यसले मानव शरीरमा अल्कालाइनलाई सन्तुलित राख्न मद्दत गर्छ, किनभने यसमा मालिक एसिड, टार्टारिक एसिड तथा राम्रो मात्रामा साइट्रिक एसिड हुन्छ ।

५. पाचन प्रक्रिया राम्रो बनाउछ

मेवाले जस्तै, आँपले पनि पाचन शक्तिलाई राम्रो बनाउछ, किनभने यसमा फाइबर उल्लेख्य मात्रामा हुन्छ । फाइबरले दिसा राम्रो हुन्छ र मेटाबोलिक रेटलाई वृद्धि गर्छ ।

६. रोगप्रतिरोधी

आँपमा २५ प्रकारका क्यारोटेनोइड्स हुन्छन् र तिनीहरुमा उच्च मात्रामा भिटामिन सि हुने हुनाले शरीरलाई रोग प्रतिरोधी बनाउन मद्दत गर्छ ।
७. एन्टिअक्सिडेन्टयुक्त

आँपमा एन्टिअक्सिडेन्ट हुनाले कोषलाई पुनजीर्वन दिन तथा पुननिर्माण गर्न मद्दत गर्छ । यसले छालालाई भित्रैबाट रासायनिक पदार्थको असरबाट जोगाउछ ।

८. प्रजनन क्षमतामा वृद्धि गर्छ

आँप फोलेट र फोलिक एसिडयुक्त हुन्छ, जसले प्रजनन क्षमता बढाउन मद्दत गर्छ ।

९. खनिजयुक्त

आँपमा कपर, सेलेनियम, जिंक तथा पोटासियम हुन्छ, जुन मानव स्वास्थ्यका लागि आवश्यक हुन्छ । यस्ता खनिजको अभावमा मानिसमा विभिन्न स्वास्थ्य समस्या देखापर्छन् ।

१०. यौन क्षमता बढाउछ

आँपमा हुने भिटामिन ईले मानिसमा यौनक्षमता बढाउन मद्दत गर्छ । यसले कोलेस्टेरोल घटाउन र मधुमेह रोक्न मद्दत गर्छ । आँपले रगतमा हुने घातक होमोसिस्टाइन तहलाई नियन्त्रण गरी हृदयाघात हुनबाट बचाउछ । होमोसिस्टाइन रक्त नलीलाई अवरुद्ध गर्न सक्छ र हृदयाघात हुने सम्भावना हुन्छ ।

११. छालामा चमक ल्याउछ

आँपले छालाका लागि निकै राम्रो गर्छ, छालामा भएका काला धब्बा तथा दाग हटाउछ र प्राकृतिक चमक ल्याउछ । आँपमा हुने भिटामिन ए र बेटा क्यारोटिनले छाला पुनर्निर्माण गर्छ ।

१२. एन्टि एजिङ फाइदा

यसले क्यान्सर गराउन सक्ने धुलोका खतरनाक कणबाट छालालाई जोगाउछ । यसमा भएका भिटाभिन सिले डण्डीफोर आउन दिदैंन । यसलाई प्रत्यक्ष लगाउने हो भने प्राकृतिक मोस्चराइजरको काम गर्छ । यस्तै, यसलाई फेसवासको रूपमा पनि प्रयोग गर्न सकिन्छ । एकचम्चा आँपको गुदी र बदामको पाउडरमा एक टेबलचम्चा दुध मिसाएर पेष्ट बनाउनुस् र अनुहारमा लगाउनुस् । २० मिनेटपछि धोएपछि यसले अनुहारमा चमक ल्याउछ ।

१३. कपालका लागि पनि लाभदायी

भिटामिन र खनिजयुक्त भएकाले यसले कपालको वृद्धिलाई पनि लाभदायी हुन्छ । यसले कन्डिसनरको पनि काम गर्छ । यसमा हुने भिटामिन एले चाँया हटाउछ र कपालमा चमक ल्याउछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!