राष्ट्रिय समाचारसमाचार

त्रिशूली जलविद्युत् केन्द्रमा आगलागी

१९ पुस, नुवाकोट । नुवाकोट जिल्लामा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी हुँदा विद्युत् उत्पादन बन्द भएको छ । २१ मेगावाट क्षमताको उक्त केन्द्र र सहायक योेजनाको रूपमा रहेको १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत् केन्द्रसमेत बन्द हुँदा राष्ट्रिय प्रसारण लाइनमा यहाँबाट जोडिएको ३५ मेगावाट विद्युत् गिरावट आएको छ ।

बुधबार साँझ ६ः३० बजेतिर उक्त उत्पादन गृहबाट उत्पादन भएको विद्युत् प्रवाह हुने बसबारमा ताप उत्पन्न भएर आगो लाग्दा ब्रेकर नं ६ मा रहेको ६.६ केभीको जेनेरेटर जलेर पूर्णरूपमा क्षति भएको छ । आगलागीले क्षति पुर्याएका उपकरण मर्मत र परिवर्तन गर्न १ करोडभन्दा बढी लाग्ने देखिएको छ भने सञ्चालनका लागि करीब एक साता लाग्ने अनुमान छ ।

उत्पादन गृहमा लागेको आगो नियन्त्रणमा ल्याउन नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी, विदुर नगरपालिकाको दमकलसहित स्थानीयवासीलाई एक घण्टाभन्दा बढी समय लागेको थियो । आगलागीका कारण उक्त केन्द्रबाट विद्युत् उत्पादन बन्द हुँदा नुवाकोटसहित रसुवा र धादिङका केही स्थानमा विद्युत बन्द भएकाले राष्ट्रिय प्रसारण लाइनमार्फत गए रातिदेखि विद्युत उपलब्ध गराइएको छ । उक्त उत्पादन गृहमा गत असार २६ र मङ्सिर ८ गते पनि आगलागी भएको थियो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!