विज्ञान जिज्ञासास्वास्थ्य

मुख किन गन्हाउँछ ?

 ‘छ्या तिम्रो मुख कस्तो गन्हाएको अलि पर बस।’ यस्तो प्रतिक्रिया कुनै साथीबाट सुनियो भने जोकोहीलाई नराम्रो लाग्नसक्छ। मुख गन्हाउने समस्याले साथीभाइबीच मात्र नभई श्रीमान्-श्रीमतीबीचको सम्बन्धमा समेत आँच आउनसक्छ। मुख गन्हाउने समस्या धेरैजसो आफ्नै कारणले उत्पन्‍न हुन्छ जसको समयमै ख्याल नगर्दा मानिस आफैं लाजमर्दो अवस्थामा बस्नुपर्छ। मुखबाट दुर्गन्ध आउने रोगलाई चिकित्सा क्षेत्रमा ‘हेलिटासिस्’ भनिन्छ।

चिकित्सकका अनुसार मुख गन्हाउने समस्या खानपानसहित अन्य केही स्वास्थ्य समस्याका कारण देखा पर्छ। यसबाट सजिलै छुटकारा पनि पाउन सकिन्छ। भनिन्छ, धेरैजसो अवस्थामा पाचन क्रिया सही नभएपछि मुखबाट दुर्गन्ध आउँछ। मुखमा दुर्गन्ध भएको मानिसले कुरा गर्दा वा सास फेर्दा मुखबाट निस्कने हावा पनि दुर्गन्धित हुन्छ। यसको असर नजिकका मानिसलाई पर्न जान्छ। मुखबाट गन्ध आउने रोग भएका बिरामीलाई कतिपयले जानीनजानी घृणा गरिरहेको पाइन्छ।कतिपयले आफ्नो मुख गन्हाउने समस्या भएकोबारे जान्दाजान्दै पनि बेवास्ता गर्दा साथीभाइका अगाडि शिर झुकाउनुपर्ने अवस्था आइलाग्छ। यस्तो अवस्था आउन नदिन हामीले समयमै विचार पुर्‍याउनुपर्छ।

अहिले मानिसहरुले नै दाँत र मुखको स्वास्थ्य र सौन्दर्यमा चासो दिन थालेका छन् । पछिल्लो समय मानिसहरु फोनमा बोल्दा पनि स्वास्थ्यबारे सोधपुछ गर्छन् । सामान्यतः हामीले श्वास फेर्दा गन्ध आउनुलाई नै मुख गन्हाउने भनिन्छ । आफैँले पनि दुवै हत्केलामा श्वास फेर्दा गन्हाएको महसुस गर्न सकिन्छ । श्वास गन्हाउने विभिन्न कारण हुन्छन् । पहिलो, शारीरिक कारण पनि हुन्छ । वास्तवमा खानाको रस पेटभित्र कुहिन थालेपछि मुखबाट दुर्गन्ध आउने हो। यसका साथै कब्जियत, पेटमा घाउ, अत्यधिक रक्सी सेवन, दाँत तथा गिजाको समस्या भएकाहरूमा मुख गन्हाउने समस्या हुन्छ। यसरी मुखबाट दुर्गन्ध आउनुका कारणमा दाँतमा फोहोर जम्नु, टन्सिलको इन्फेक्सन हुनु, नाक या साइनसमा विकार आउनु, मुखमा घाउ निस्कनु, श्वासनली या फोक्सोको विकार हुनु आदि मानिन्छन्।

अर्को, मानिसले गन्ध आउने खाना लसुन, प्याज खाँदा पनि श्वासमा गन्ध आउँछ । यो मुखमा रहेन अस्थायी गन्ध हो । त्यस्तै, धुम्रपान गर्नेहरुको मुख गन्हाउँछ, यो गन्ध बेग्लै प्रकारको हुन्छ । त्यस्तै, दाँत नमाझ्ने वा मुखको सरसफाइ नगर्नेहरुको पनि मुख गन्हाउँछ । यस्तै जिब्रोमा फोहोर जम्मा हुनु, नक्कली दाँत हालिनु, धूमपान, तमाखु, गुट्खा आदि खानु, मदिरापान, मधुमेह, कब्जियत, पेटको अल्सर, अपच, टीबी, निमोनिया, साइनस, डिप्थिया, लसुनप्याज खानु, दाँतमा खाना अड्किनु, दाँत नियमित नमाझ्नु आदि कारणले पनि मुखबाट दुर्गन्ध आउँछ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!