मुख्य समाचारविज्ञानसमाचार

वैज्ञानिकले गरे चमत्कार, इतिहासमा पहिलो पटक ब्लाक होलको तस्वीर सार्वजनिक

Gopal Bhandari
गोपाल भण्डारी

चैत्र २७ , काठमाडौँ । अन्ततः वैज्ञानिकहरुले इतिहासमै पहिलो पटक ब्ल्याक होल (कृष्ण छिद्र) को तस्बिर बुधबार सार्वजनिक गरेका छन् । पृथ्वीभन्दा ५ करोड ५० लाख प्रकाश वर्ष टाढा रहेको एम–८७ तारापुञ्ज (ग्यालेक्सी)मा रहेको ब्ल्याक होलको पहिलो तस्बिर वैज्ञानिकहरुले बुधबार सार्वजनिक गरेका हुन् । यस अघि ब्ल्याक होलको तस्बिर हामीले सधैं कल्पना गर्दै आएका मात्र थियौँ । बुधबार नेपाली समयअनुसार साँझ ६ बजेर ४५ मिनेटमा सार्वजनिक गरिएको उक्त तस्बिर हामीले कल्पना गरे जस्तै आकारको देखिएको छ।

यो ब्ल्याक होल सूर्य भन्दा ६ अर्ब ५० करोड गुणा ठूलो छ । यसलाई ब्रहमाण्डको अहिलेसम्मकै सबैभन्दा गह्रौ र ठूलो ब्ल्याक होल मानिएको छ । वैज्ञानिकहरुले सार्वजनिक गरेको तस्बिर ब्ल्याक होलेको छाँया हो । ब्ल्याक होलको वास्तिवक तस्बिर खिच्न सम्भव नै छैन किनभने यसबाट प्रकाश उम्कन पाउँदैनन्।खगोलशास्त्रीहरुले इभेन्ट होरिजन टेलिस्कोप (ईएचटी) को मद्दतबाट यसको तस्बिर लिन सफल भएका हुन् । इभेन्ट होराइजन टेलिस्कोप विश्वका विभिन्न ८ वटा टेलिस्कोपहरुको एउटा नेटवर्क हो। एस्ट्रो फिजिक्स जर्नल लेटरमा प्रकाशित रिर्पोट अनुसार विश्वका विभिन्न २० मुलुकका ५९ वटा संस्थाका दुई सय जना वैज्ञानिकहरु ब्ल्याक होलको इभेन्ट होरिजनको तस्बिर लिने कार्यमा संलग्न थिए।

प्रा. डा. उदयराज खनाल अनुसार इवेण्ट होराइजन टेलिस्कोप (इएचटी) भन्ने एक अन्तर्राष्ट्रिय सहकार्यले बोलाएको पत्रकार सम्मेलनले, विश्वको पत्रकार जगतनै तरङ्गित भएको छ । एप्रिल १ का दिन निस्केको यो खबरले मूर्ख बनाउन खोजिएको त हैन भन्ने पनि शङ्का उब्ज्यो । एकै समयमा टोकियो र शाङ्घाइदेखि ब्रसल्स र वाशिङ्गटन डीसी लगायत विभिन्न स्थानबाट विभिन्न भाषामा प्रसारण हुने त्यो सम्मेलनमा, पहिलो पटक ब्लाक होलको तस्वीर अनावरण भएर, खगोलशास्त्रीहरु निकै उत्साहित भएका छन् । इतिहासमा पहिलो पटक ब्लाक होलको कैद गरिएको तस्वीर सार्वजनिक गरियो । जसलाई खगोल बिज्ञानको क्षेत्रमा यो एउटा ठुलो ऐतिहासिक चमत्कारपूर्ण उपलव्धीपूर्ण सफलताको रुपमा लिईएको छ ।

ब्लाक होल वरिपरि अवस्थित इवेण्ट होराइजनबाट प्रकाश पनि निस्कन सक्दैन, त्यहाँ पुग्ने ऊर्जा जति सबै केन्द्रमा समाहित हुन्छ । केन्द्रबाट, यो इवेण्ट होराइजन रहेको दुरीको डेढ गुणा परको प्रकाशगोल (फोटोन स्फियर) मा प्रकाशले पनि गोलाकर कक्षमा परिक्रमा गर्दछ । त्यसको केहि बाहिर पिण्डयुक्त कणको अन्तिम स्थीर कक्ष हुन्छ । त्यो भन्दा बहिर ब्लाक होलले खाँदै गरेको पदार्थको आँधी र तिनले प्रसारण गर्ने तेजको घना बादललाई छिछोलेर ब्लाक होलको कालो अन्धकारको तस्वीर खिच्ने जमर्को गर्न पनि धेरै समय लाग्यो ।

अहिले विश्वभर अवस्थित धेरै रेडियो टेलिस्कोप एकै समयमा उपयोग गरेर वेरी लङ्ग बेसलाइन इण्टरफेरोमेट्रिको प्रविधिले, ब्लाकहोल अनुमान गरिएको खगोलीय क्षेत्रलाई नियालेर हेरिन्छ । तसर्थ, यस्तो दूरबिनको आँखाको नानी पृथ्वी जत्रै हुन्छ । ब्लाक होल त देख्न सकिन्दैन, तर त्यसभित्र खस्दाको पदार्थले प्रवाहित गरेको विद्युत चुम्वकीय तरङ्गको केन्द्रमा कालो छाँया देखिने अनुमान छ ।

हाम्रो सूर्य अवस्थित आकाशगङ्गा नाम पाएको तरापुञ्जको केन्द्र रहेको धनु राशितिर लगभग आधा करोड सौर्यपिण्डको अति पिण्डयुक्त ब्लाक होल, साजिटेरियस ए रहेको अनुमान छ । हाम्रो छिमेकमा कन्या राशितिरको विशाल अण्डाकार एम ८७ तारापुञ्जको केन्द्रमा त, ६ अर्ब सौर्य पिण्डको ब्लाक होल छ । यिनै मध्येको तस्वीर हुने सम्भावना धेरै छ । दुर्भाग्यबस, हाम्रो देशको संचार माध्यमलाई यो खबरले त्यति उत्साहित गर्न सकेन ।

राजनीतिबाट पिडित भएर होला, अरु केहि देख्दैनौं । समृद्धिको दिवा सपना मात्र देख्ने हो कि त्यसलाई साकार पार्ने विज्ञानको उपयोग गर्न थाल्ने हो ? विज्ञानको उपयोग बाहेक विकासको कुनै अर्को बाटो छैन । यस्ता अन्तर्राष्ट्रिय अनुसन्धानमा भाग लिन हाम्रा युवाले कहिले पाउलान् ? हाम्रा नीति निर्माताको ध्यान यसतर्फ कहिले जाला ? सानै कूटनैतिक पहलबाट यस्ता अन्तर्राष्ट्रिय योजनाका संचालकसंग सहमति गरेर हाम्रा युवाको सीप विकास गर्न सकिन्छ । ब्लाक होल त देखि सक्यो, हाम्रा नेताको घैटोमा घाम लाग्ला भन्ने आशा गरौँ ।

थप जानकारीको लागि यो भिडियो हेर्नुहोस्।

*प्रा. डा. उदयराज खनाल नेपालको भेट्रान भौतिकशास्त्री हुनुहुन्छ । नेपालमा भौतिकशास्त्रको नाम लिने बित्तिकै प्रा. डा. उदयराज खनालको नाम अग्रपंक्तिमा आउने गर्छ । उहाँले ३५ बर्ष त्रिभुवन विश्वविद्यालय केन्द्रिय भौतिकशास्त्र विभागमा प्राध्यापन गर्नुभयो । “कुनै सुचालक माध्यममा भएका कणहरूको ग्रुप गति प्रकाशको गति भन्दा पनि बढी हुन्छ” भन्ने नतिजाको सैद्धान्तिक पुष्टि सहित उल्लेख गरिएको एउटा रिसर्च पेपर सन् १९९८ मा इन्टरनेशनल जोर्नल अफ मोडर्न फिजिक्समा प्रकाशित भयो । यस तथ्यले सिंगो भौतिकशास्त्रको जगतमै ठूलो हलचल ल्याएको थियो किनकि कुनै पनि बस्तुको गति प्रकाशको गति भन्दा पनि बढी हुन सक्दैन । यदि यो नतिजा प्रयोगात्मक रूपमै पुष्टि भएको भए महान वैज्ञानिक अल्वर्ट आइन्टाइनको सापेक्षतावादको सिद्धान्त नै गलत सावित हुन्थ्यो । अल्वर्ट आइन्टाइनले प्रतिपादन गरेको सापेक्षतावादको सिद्धान्त भौतिकशास्त्रको एउटा स्थापित सिद्धान्त हो । उक्त अनुसन्धान पत्रको सैद्धान्तिक नतिजा आजसम्म पनि अध्ययन अनुसन्धानकै क्रममा छ । हाम्रा लागि खुसीको कुरा के छ भने भौतिकशास्त्रको जगतमा तहल्का मच्चाउन सफल यस अनुसन्धान पत्रको नतिजा प्रस्तुत गर्ने वैज्ञानिक उहाँ नै हुनुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!