धर्म-सस्कृति

सपना सम्बन्धी लोकविश्वास

सपना सम्बन्धी लोकविश्वास को बारेमा चर्चा गरौ । लोकले मान्दै आएको परम्परागत विश्वास नै लोकविश्वास हो। हरेक मानव समुदायमा कुनै न कुनै प्रकारको विश्वास रहेको पाइन्छ। धेरै सन्दर्भमा लोकविश्वासको जन्ममा प्रकृतिको योगदान देखिन्छ। लोकविश्वासलाई अन्धविश्वास र रुढीको रूपमा पनि लिइन्छ। तर सबै लोकविश्वासहरू अन्धविश्वास वा रुढी होइनन्। अन्धविश्वास वा रुढी भन्नका लागि ती विश्वासहरूको वैज्ञानिक परीक्षण गर्नु जरुरी छ। लामो अनुभव तथा भोगाइका परीक्षामा परीक्षण भएर मात्रै लोकविश्वासहरू स्थापित हुने भएकोले प्रायः लोकविश्वासहरू वैज्ञानिक र व्यावहारिक सिद्ध हुन्छन्।

सपना सम्बन्धी लोकविश्वास

१) सपनामा हरियो घाँस काटेमा निकट भविष्यमा रूपैया-पैसा प्राप्त हुन्छ भन्ने लोकविश्वास छ।

२) सपनामा खोलो तरेको देखेमा वा उकालो उक्लेको देखेमा कार्यमा सफलता मिल्छ भन्ने लोकविश्वास छ।

३) सपनामा दही खाएको देखिएमा प्रगति हुने र सपनामा भात-मासु खाएमा अनिष्ट हुन्छ भन्ने लोकविश्वास छ।

४) सपनामा आगो लागेको देखेमा द्वन्द हुन्छ भन्ने लोकविश्वास छ।

५) सपनामा रुख ढलेको वा उखेलिएको देखिएमा गाउँघरमा कसैको मृत्यु हुने वा अनिष्ट हुन्छ भन्ने विश्वास छ।

६) धिमाल जातिमा, सपनामा कपालमा लाउने फूल देखेमा आफ्नै श्रीमती गर्भवती भएको विश्वास गरिन्छ (दिवस, २०३९ः२३०)।

७) सपनामा गाई अथवा बाच्छाबाच्छी देखियो भने त्यो ज्यादै शुभ हुन्छ भन्ने लोकविश्वास छ (उपाध्याय, १९८८इः८९)।

८) सपनामा मृत व्यक्तिलाई देख्नु शुभ हुन्छ भने सन्यासीलाई देख्नु अशुभ मानिन्छ (पूर्ववत् ः१४२)।

९) सपनामा दाँत झरेको, नाक-कान काटिएको तथा घर जलेको देखेमा अशुभ हुन्छ भन्ने लोकविश्वास छ (पूर्ववत्)।

१०) इङ्गलैण्डमा सपनामा रगत देख्नुलाई परिवारको कुनै सदस्यको मृत्युको सूचना मानिन्छ।

११) दक्षिण अफृकामा सपनामा विवाह भएको देख्नुलाई मृत्युको सूचनाको रूपमा लिने लोकविश्वास छ।

१२) अष्ट्रेलियामा सपनामा उल्लू देख्नुलाई शत्रुद्वारा आक्रमण हुने सूचनाको रूपमा लिने विश्वास छ।

१३) अमेरिकामा सपनामा कुनै शव वा रक्तपात देखेमा भयङ्कर दुर्भाग्य भोग्नु पर्छ भन्ने विश्वास छ।

१४) इटलीमा सपनामा सेतो बादल देखेमा शुभ हुने र कालो बादल देखेमा अशुभ हुन्छ भन्ने लोकविश्वास छ (उपाध्याय, १९८८इः १४४)।

साभार : नेपाली विकिपिडियाबाट

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply