साहित्य-कला

नजाऊँ है पराई मुलुक देश खोज्न भनेर

शोभा खतिवडा काफ्ले
शोभा खतिवडा काफ्ले

यो देश खोज्न कहाँ पो जान्छौ र; मुटु भित्र नै खोज !
पराइको आड्गनमा गएर आफ्नो प्यारो देश नखोज !!
के भन्लिन धराले; के भन्ला देशले; यो हाम्रो कर्मलाई !
नेपाली भएर नि नेपाल नै नचिन्ने यस्तो हाम्रो धर्मलाई !!१

छिद्रले यो देश दस टुक्रा भइकन टुक्रामा फेरि टुक्रिदा !
ति आमा रोलिन है नेपाली सन्तान दस भाग भै छुट्टिदाँ !!
कसको होला हिमालको शिखर; पहाड कसको भू- भाग !
मधेस बाँढे त छातिहरु फुट्ला पिडाले रोलान है हर प्रदेश !!२

नेपाली हामी दश टुक्रा भए यी आमाले के कसो गर्लिन !
मुर्छा र पिडा अनि डाहले छाती पोलेर आमा निदाउलिन !!
यी पिडा हेर्न सकौँला र हामी त्यो घडी सम्झौँ है एकछिन् !
छातिको पिडा आमाको बुझौँ हामी सन्तान सोचौँ एकछिन् !!३

यी हाम्रा कर्म सँधै यसरी बहुन देशको विकास नै गर्नलाई !
नेपाली जाति रमाएर बाँचुन यो सुन्दर देशको हर माटोमा !!
तराइमा आमा हाँसुन; हिमालमा नाचुन; पहाडमा रमाउन् !
कर्मको पाटो यसरी पोखौँ देशमा गंगा नदी हामी बगाउन् !!४

टुक्रेको देश, नेपाली भु-भाग अनि कसरी हो र जोडिन्छ ?
नेपाली हामी नै एक जुट भए पो त हरेक कुरा सम्भव छ !!
नेपाली जातीले नेपाली भूमि हेर्न कर तिर्नु पर्ला है भोली !
डाँफेको हिमाल र पहाडको गुराँस भन्नु पर्ला है भोली !!५

फूल, माला जस्ता नेपाली जाती हामी बसेको नेपाल !
यो फूलबारीलाई दश भाग लाउने कुनै दुस्प्रयास नगर !!
यो चार किल्ला बलिया पार्ने ति बहादुर हुन है नेपाली !
रगत तिनको सिंचेका छन है प्यारो देश जोगाउनलाई !!६

एकता भाव अनि सद्भावको ठुलो खाँचो छ यो देशलाई !
यो पाठ पढाऊ चौध अंचल र पचहत्तर जिल्ला तिमी गै !!
यो हिमाल प्रदेश, अमुल्य रत्न हिरा, मोती जस्तो छ है !
देश जगमग पार्ने जलको भण्डार यहि प्रदेशमा बग्दछ है !!७

पहाड हाम्रो छ कति राम्रो फल फूलको खानीको भाग !
जडी र बुटी यी खोला, नाला नि गर्भमा यसको फल्दछन् !!
तराई भाग बलियो हो छाती देशको मुटुमा अन्न फल्दछ !
यहाँ प्राण धान्ने नेपाली हरुको अन्नको कति भण्डार नै छ !!८

देश खोज्न र विकास रोज्नलाई; पराइ मुलुक हो र जाने ?
न्याय दिलाउन र निसाव मिलाउन पराइ देश हो र धाउने ?
यो परम्परा विर्सौ सबैले आफु मिलेर आफ्नो देश बनाऊँ !
नत्र त खोज्न जानु पर्ला हाम्रो स्वाभिमान पनि त हामीले !!९
मुटुबाट तिम्रो मनको नजरलाई बालि हेर त सँधै तिमी !
कस्तो यो सुन्दर देश देख्छौ हरपल स्वर्ग जस्तो छ अनि !!
देशका पाखा अनि हरेक भित्ता भरी पोखिएको देशलाई !
पौरखले उठाऊँ हामीहरु मिलौँ छरिएको देशको भागलाई !!१०

नेपाल पुर्खाको हो तपो भूमि; हाम्रो विज्ञानको ज्ञान भूमि !
यो देशलाई पारौँ हामी राम्रो, सुन्दर अनि देश सिड्गारौँ !!
नेपाली जाति गरिमा भाँति गरेर यस्तो देशलाई जोगाऔँ !
सन्तान रमाई धन्यवाद दिने यो देशलाई हामी नै बनाऊँ !!११

शोभा खतिवडा काफ्ले लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन ।  उहाँले साहित्यको माध्यमवाट देशको  राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको विषयमा निरन्तर कलम चलाउदै आउनु भएको छ । 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!