राष्ट्रिय समाचारसमाचार

नेपालको पहिलो भू-उपग्रह वैशाख ४ गते प्रक्षेपण गरिँदै

फाल्गुन ३, काठमाडौँ । नेपाली-स्याट-१ नाम दिइएको नेपालको पहिलो भू-उपग्रह तयार भएको छ । शुक्रबार जापानस्थित क्यूसू इन्सिटिच्यूट आफ टेक्नोलोजी (क्यूटेक) विश्वविद्यालयमा पत्रकार सम्मेलन गर्दै भू-उपग्रह निर्माण कार्य सम्पन्न भएको जानकारी दिइएको हो । यस्तै, शुक्रबार नै क्यूटेकका प्रेसिडेन्ड यूजी ओईएले नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठलाई भू-उपग्रहको प्रतिमा हस्तान्तरण गर्दै नेपाललाई बधाई दिए ।

‘बर्डस’कार्यक्रम अन्तर्गत नेपाल सरकारको तर्फबाट नास्टले भू–उपग्रह निर्माणका लागि जापानको क्यूटेक विश्वविद्यालयसँग सहकार्य गरेको थियो । उपग्रह निर्माणका लागि नेपालको तर्फबाट इलेक्ट्रिकल र कम्युनिकसेन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जियिरिङमा विद्यावारिधी गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्के खटिएका थिए । यसका लागि १ करोड ५० लाख जापानी यान खर्च भएको थियो ।

यसैबीच, आगामी अप्रिल १७ तारिख अर्थात् वैशाख ४ गते उपग्रह अन्तरीक्षमा प्रक्षेपण गरिने तालिका सर्वाजनिक गरिएको छ । नेपालसँगै श्रीलंकाको रावना-१ र जापानको उगिसू भू–उपग्रह पनि त्यसैदिन प्रक्षेपण गर्ने तालिका रहेको छ । गत अगस्टमा उपग्रहको इन्जिनियरिङ मोड्यूल तयार भएर डिसेम्बरमा वातवरणीय परीक्षण सम्पन्न भएको थियो। नेपाल र नास्टको लोगो अंकित स्टिकर टाँसिएको यो भू-उपग्रह सोमबार जापानको अन्तरिक्ष संस्था ज्याक्सालाई हस्तान्तरण गर्ने कार्यतालिका रहेको छ ।

तयार भएको नेपालको पहिलो भू-उपग्रह
नेपाली-स्याट-१

प्रक्षेपणको जिम्मेवारी अमेरिकी स्पेस कम्पनी अर्बिटल ए टीकेले लिएको छ । कम्पनीको सिग्नस रकेटले स्याटेलाइट उडाउने छ । उपग्रह अन्तरिक्षमा पुगेपछि एक महिनासम्म इन्टरनेश्नल स्पेस स्टेसनमा(आईएसएस)मा रहने छन्। स्पेस स्टेसनमा रहेका अन्तरिक्षयात्रीहरुले पुन: स्याटालाइटको परीक्षण गर्नेछन् । मेको तेस्रो सातामा स्पेस स्टेसनबाट भू–उपग्रहलाई पृथ्वीको कक्षमा छाडिनेछ । त्यसको तीन दिनदेखि तथ्यांकहरु दिन सुरु गर्ने नास्टले जनाएको छ।

पृथ्वीको भूमध्ये रेखाबाट ९० डिग्रीको कोण भएर करिब ४ सय किलोमिटर माथि रहने यो उपग्रह नेपालको आकाशमा दैनिक ५/१० मिनेटसम्म रहनेछ। स्याटालाइटमा ४३७ मेघाहर्जको यूएचएफ ब्यान्ड प्रयोग गरिएको छ । ‘ग्राउण्ड स्टेशन’मा भू–उपग्रहले पठाएको तथ्यांकहरुको विश्लेषण र संकलन गरिनेछ । ग्राउण्ड स्टेशन निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने नास्टले जनाएको छ । नास्टका मेकानिकल इन्जिनियर रोशन पाण्डेले जापानमा गएर ग्राउण्ड स्टेशन निर्माण र तथ्यांक संकलन गर्नेबारे तालिम लिएर फर्किसकेका छन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!