स्वास्थ्य

कब्जियत र यसको उपचार

Dr. Hemraj Koirala
डा. हेमराज कोइराला

कब्जियत र यसको उपचार । मल निष्कासनको स्वाभाविक आवृत्तिमा विलम्ब हुनु, नियमित रूपले मल त्याग गर्न नसकी बल प्रयोग गर्नुपर्ने अवस्था आउनु वा दैनिक एकपल्ट कोमल दिसा गर्न नसकिएको अवस्थालाई कब्जियत भनिन्छ । विशेष रोग अवस्था जस्तै आन्द्राको घाउ, ट्युमर, पक्षघात, मधुमेह, थाइराइडिज्म, पराकिन्सन रोग जस्ता समस्या बाहेक अधिकांश अवस्थामा कब्जियतको मुख्य कारण अप्राकृतिक जीवनशैली नै हुन्छ । भोजन, व्यायाम, विश्राम, विचार र भावनात्मक रूपमा असन्तुलित जीवनसँग नै अप्राकृतिक जीवनशैलीको सम्बन्ध छ ।

भोक लागेको बेला नखाने, अटसमटस हुने गरी ज्यादा खाने, गरिष्ठ भोजन, मसिनो मिठो, तारे भुटेको, पचाउन कठिन, जङ्कफुड, बट्टाबन्द र संरक्षित खाद्यवस्तु प्रायः खाइरहने, सागसब्जी सलाद जस्ता खस्रामोटा, रेसा र चोकरयुक्त खाद्यपदार्थ कम खानाले कब्जियत हुने प्रवल सम्भावना रहन्छ । व्यस्त र भागदौडले भरिएको, तनावपूर्ण जीवन जिउने, श्रमपछि विश्राम नगर्ने, भय, चिन्ता, शोक र उदासिनताका रोगीमा कब्जियत ज्यादा देखिएको छ । व्यायाम र श्रमबाट भाग्नेलाई पनि कब्जियतले छाडेको छैन भने लामो समयसम्म विरेचक औषधि, पेनकिलर, नार्काेटिक्स र दिमागलाई लठ्याउने औषधि खानेहरूमा कब्जियत हुने गर्छ ।

कब्जियतको उपचार

विशेष रोगावस्था भएकाले रोगको उचित निदान गरेर रोग निर्मूल पार्ने तिर लाग्नुपर्छ । गलत आहारविहार र जीवनशैली भएकाले प्राकृतिक जीवनशैली अपनाउनु नितान्त जरुरी छ । प्राकृतिक उपचार पद्धतिको मुख्य अङ्ग भोजन, व्यायाम र जीवन शैली सुधार हो ।

कब्जियत हुँदा गर्नुपर्ने भोजनहरु

बिहानको नास्तामा तारेभुटेको, बट्टा र बोतलबन्द खाद्य पदार्थ, मैदाका परिकारको सट्टा ताजा फलपूmल खाने बानी बसाल्नुपर्छ । मौसम अनुसारको फलफुल खाने गरौँ । मौसम, सुन्तला, नासपाति, खरबुजा, काँक्रो, आँप, सरिफा, बेल, बेलौती, मेवाका साथै अङ्कुरित मुंग र मेथी, मौसमी तरकारीले फाइदा गर्छ । मुनन्का र छोहरालाई राति भिजाएर बिहान खाने गर्दा कब्जियत कम गर्न सहयोग पुग्छ । ठोस भोजन दिनको दुई पल्ट मात्रै खाने गरौ । बिहानको भोजनमा रातो चामल वा मकैको भात, गहँुको वा मकैको पिठोको रोटी, काउली, बन्दा, तोरई र बेथेको सागको विषेश समायोजन होस् ।

मास, खेसरी बाहेक बोक्रैसित पकाएको दालले पनि कब्जियत हटाउन फाइदा पुर्याउछ । बेलुकाको भोजनमा अन्नको सहभागिता नभएको राम्रो हो । सब्जी तथा तरकारीको सुप वा २५० ग्राम उमालेको तरकारीसँग ताजा मोही मात्र खादा कब्जियतबाट पार पाउन सहयोग पुग्छ । माछा, मासु अन्डा, घ्यू, पनिर, मख्खन र मैदाबाट बनेका वस्तु खानमा पहरेज गर्नुपर्छ । केरा, स्याउ, अङ्गुर, लिची जस्ता फलले कब्जियतमा राम्रो गर्दैन । आलु, पिँडालु, तरुल, सुठुनी, भान्टा, चुकन्दर, राजमा, सेतो चना, मास, भटमास जस्ता खाद्यवस्तु सकभर बेलुका नखानु ।

कब्जियत हुँदा गर्नुपर्ने व्यायामहरु

अङ्गव्यायाम, रिढव्यायाम, सिथिलीकरण व्यायाम, प्रातः भ्रमण, सूर्य नमस्कार, योगआसन तथा प्रणायामको यथाविधि प्रयोगले कब्जियतमा अत्यन्त लाभ पुयाउछ । ताडासन, त्रियकताडासन, पवनमुक्तासन, माण्डुक, मत्येन्द्र, भुजाङ्ग, उदारकर्स धनुर जस्ता आसनविधि, भस्त्रीका, अग्निसार, कपालभाती जस्ता श्वासन विधिले कब्जियत निवारणमा अमृतसरी काम गर्छ । एनिमा, कुन्जल, लघु तथा गरु सङ्खप्रक्षालन (आन्द्राको सफाइ), पेटको मालिस, माटोको पेडुँपट्टी, कटिस्नान र गणेशक्रिया जस्ता प्राकृतिक उपचार विधि पनि कब्जियत भएकाले अपनाउनुपर्ने हुन्छ । कब्जियत आफैमा ठूलो समस्या नभए पनि कयौ रोगको कारण बन्न सक्छ ।

कब्जियत हुँदा अपनाउनुपर्ने सावधानीहरु

१. राति चाँडै सुत्ने, बिहान व्रह्म मूर्हुत (घाम झुल्किनु भन्दा ९६ मिनेट अगाडिदेखि घाम झुल्किदा सम्मको समय) भित्र उठिसक्ने । उठ्ने बित्तिकै एक लिटर जति मनतातो पानी पिउने गरेमा कब्जियत नियन्त्रणमा सहयोग पुग्छ ।

२. दैनिक ३० मिनेटको व्यायामलाई जीवन शैलीको अभिन्न अङ्ग बनाऔँ । अङ्ग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातःभ्रमण जस्ता व्यायामले शरीर तथा पाचन प्रणालीलाई सबल राख्न सहयोग पुयाउँछ ।

३. भोजनको समय निश्चित गरी नियमित उही समयमा भोजन गर्ने गरौँ । रातिको भोजन सकभर सूर्यास्त आसपासको समयमा होस् । भोजनको लगत्तै सुत्ने बानी कब्जियतको मुख्य कारण मध्यको एक हो । भोजन गर्दा खुुब चपाई खाने गरौँ । भोजनको समयमा बातचित गर्ने, उठी उठी वा टिभी, कम्प्युुटर अथवा मोबाइलमा व्यस्त रहेर भोजन गर्नेहरूमा कब्जियत ज्यादा पाइएको छ ।

४. बेमौका र जुन बेला पायो त्यहीं बेला खाइरहने बानी भए त्यागौँ ।

५. खानामा मौसमी तथा रैथाने अन्न तथा सागसब्जीको विशेष समायोजन होस् । काँचो सागसब्जी, सलाद तथा रेसादार फलफूलको समायोजनले कब्जियत नियन्त्रण गर्न विशेष सहयोग गर्दछ ।

६. मल त्यागको समयमा मनलाई पूर्ण रूपमा मल त्याग गर्नमा नै लगाऔ । शौचालयमा बसेर अखबार पढ्ने, गीत सङ्गीत सुन्ने तथा अन्य विषय सोच्ने गर्दा मस्तिष्कले मल त्याग सम्बन्धी सूचना सम्बन्धित अङ्गलाई दिन विलम्ब गर्ने हुुँदा कब्जियत हुने सम्भावन रहन्छ ।

७. कब्जियतका उपर्युक्त लक्षण देखिएमा समयमै चिकित्सकको उचित परामर्श लिई रोगको निदान गर्न तिर लागौँ ।

*डा. हेमराज कोइराला योगी नरहरिनाथ योगा एण्ड नेचर केयर हस्पिटल भरतपुर, चितवनमा कार्यरत योग तथा प्राकृतिक चिकित्सक
हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

जान्नुहोस् ! कब्जियतका लक्षणहरु र जोखिमहरु

नसा च्यापिने समस्या र यसको उपचार

रक्तचाप र यसका श्रेणीहरु

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!