स्वास्थ्य

जान्नुहोस् ! नसा च्यापिने समस्याको कारण, लक्षण र उपचार

Dr. Hemraj Koirala
डा. हेमराज कोइराला

नसा च्यापिने समस्या र यसको उपचार । जीवनको कुनै न कुनै कालखण्डमा हामी सबैले पिठ्युँ दुखाइको सामना गरेकै हुनुपर्छ । अझै हाम्रो जस्तो भौगोलिक विकटता भएको मुलुकमा त ढाड सड्किने समस्याबाट अधिकांश पीडित हुने गरेका छौ । अझ ढाड सडि्कने भनेपछि, गरुङ्गो भारी ऊठाउँदा ढाड झसक्क हुँदा, हल न चल भई थलापर्नुपरेको स्थितिको अनुभव वा अरू कसैलाई भएको सम्झना आउँछ होला । यसरी ढाड सडि्कँदा हुने पीडा ढाडका मांशपेसी, लिगामेन्ट र अन्य तन्तुहरूमा चोट (स्ट्रेन) पुग्न गई ‘इन्टर भट्टेब्रल डिस्क’ले स्नायु नसाहरूलाई थिची दिनाले हुने गर्छ । नसा च्यापिनु आफैँमा कुनै रोग नभएर ढाडको हड्डी, डिस्क, लिगामेन्ट, मांसपेसी तथा नसाको कमजोरीले गर्दा उत्पन्न हुने यान्त्रिक समस्या हो । नसा च्यापिने समस्यालाई बुझ्न, ढाड तथा मेरुदण्डको रचना र क्रियालाई थाहा पाउन जरुरी हुन्छ ।

कारण तथा लक्षण

नसा च्यापिने मूल कारण भनेकै खराब पोस्चर (आसन) हो । यसबाहेक अनियमित दिनचर्या तथा ढाडको हेरचाहको कमीको पनि उत्तिकै योगदान छ । अचानक झुक्ने, भारी वस्तु अचानक उठाउने, गलत तरिकाले उठ्ने, बस्ने, हिड्ने, व्यायाम नगर्ने, अग्लो हिल भएको जुत्ता चप्पल लगाउने, खाल्डे बाटोमा वाइक चलाउने, कुप्रेर लामो समय कुर्सीमा बस्ने, सुर्ती जन्य वस्तु सेवन गर्ने तथा धुमपान गर्ने, मानसिक तनाव, डर चिन्तामा परेकाहरू, डाक्टर, प्रहरी, कार्यकारी अधिकृतहरू, बैंकर्सहरू जस्ता तनावग्रस्त पेसामा संलग्न पेसाकर्मी यस समस्यका जोखिममा हुन्छन् । धेरै बच्चा जन्माएकी आमा, मोटा तथा भुँडीलागेका व्यक्तिहरू, व्यायाम नगर्ने तथा लामो समयदेखि मोटरसाइकल चलाउनेमा यो समस्य ज्यादा देखिएको छ। यस्ता खराब जीवनशैली भएका व्यक्तिको डिक्स तथा हड्डी चाडै खिइने, सुनिने र घोटिने हुन्छ।

फलतः डिक्स फुटेर यसभित्रको चिप्लो पदार्थ पोखिएर जानुका साथै डिक्सले आफ्नो ठा“उ छाडेर नसा च्याप्न पुग्छ। नसा च्यापिँदा मुख्यतः नसाको क्रिया अवरुद्ध हुन जाँदा कम्मर दुख्ने, च्यापिएको नसा गएको खुट्टा वा हाततिर दुख्ने, हातखुट्टा निदाउने, झमझमाउने, लाटो हुने र बिस्तारै हातखुट्टा तथा ढाड चलाउन नसकिने, ढाडमा असहनीय पीडा हुने, उठ्दा बस्दा, हिँड्दा, खोक्दा र हाच्छिउँ गर्दा ढाड र हातखुट्टा दुख्ने गर्छ। समस्या बढ्दै गएमा, औलाहरूमा कमजोरी देखा पर्ने, हातखुट्टा सुक्दै जाने र प्यारालाइसिस पनि हुन सक्छ। समस्या गम्भीर भए मलमूत्र विसर्जनमै समस्या (क्वाडा इक्वाइना सिन्ड्रम) देखा पर्न गई तुरुन्त आपतकालीन व्यवस्थापन गर्नुपर्ने पनि हुनसक्छ ।

Follow on Science Infotech Facebook Page

उपचार

नसा च्यापिएका रोगीमध्ये ९० प्रतिशतको उपचार प्राकृतिक तरिकाले गर्न सकिन्छ भने १० प्रतिशत रोगमा शल्यक्रिया गर्नुपर्ने हुनसक्छ । तर, आपतकालीन अवस्था छैन भने शल्यक्रिया नगराएकै राम्रो हो । गराउनु नै पर्ने अवस्था भएमा विज्ञ स्नायु शल्य चिकित्सकबाटै गराउनुपर्छ । प्राकृतिक उपचारमा विशेषतः पूर्ण ‘बेड रेस्ट’का साथ फिजियोथेरापीका विद्युतीय उपकरणले गरिने उपचार आइएफटी, अल्ट्रासाउन्ड, ट्रेक्सन, तातोको सेकाइ आदि दिएर दुखाई कम गराइन्छ । यसका साथै अकुपन्चर तथा अकुप्रेसर जस्ता चिनियाँ उपचार पद्धतिले पनि यो रोगमा फाइदा पुर्याेउँछ । यी विधिले दुखाइ कम गर्नुका साथै हड्डी, डिस्क र लिगामेन्टको घाउ निको पारी च्यापिएको नसा छुटाऊन सहयोग गर्छ। ढाडको मालिस, अकुप्रेसर, कपिङ, अस्टियोपेथी, काइरोप्राक्टिस जस्ता उपचार पद्धतिले दुखाइ कम गराउनका साथै डिक्सलाई यथास्थानमा जान सहयोग गर्छ । दुखाइ कम भएपछि बिरामीलाई ढाडका व्यायाम, योग आसनहरू सिकाइन्छ । त्यसले मेरुदण्ड र आसपासका तन्तुलाई बलियो बनाउ“छ र फेरि यही समस्या दोहोरिन दिँदैन । नसा हड्डी खिइनाले च्यापिएको भए हड्डी खिइनुको कारण पत्ता लगाएर उपचार अगाडि बढाऊनुपर्ने हुन्छ ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढनुहोस्

पिनासको कारणहरू, लक्षणहरू र निदान विधि

टाउको दुख्ने समस्या र यसको उपचार

कान कराउनुको कारण के हो ?

योगी नरहरिनाथ अस्पताल

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!