स्वास्थ्य

जान्नुहोस् ! कब्जियतका लक्षणहरु र जोखिमहरु

Dr. Hemraj Koirala
डा. हेमराज कोइराला

कब्जियतका लक्षणहरु र जोखिमहरु । मल निष्कासनको स्वाभाविक आवृत्तिमा विलम्ब हुनु, नियमित रूपले मल त्याग गर्न नसकी बल प्रयोग गर्नुपर्ने अवस्था आउनु वा दैनिक एकपल्ट कोमल दिसा गर्न नसकिएको अवस्थालाई कब्जियत भनिन्छ । विशेष रोग अवस्था जस्तै आन्द्राको घाउ, ट्युमर, पक्षघात, मधुमेह, थाइराइडिज्म, पराकिन्सन रोग जस्ता समस्या बाहेक अधिकांश अवस्थामा कब्जियतको मुख्य कारण अप्राकृतिक जीवनशैली नै हुन्छ । भोजन, व्यायाम, विश्राम, विचार र भावनात्मक रूपमा असन्तुलित जीवनसँग नै अप्राकृतिक जीवनशैलीको सम्बन्ध छ ।

भोक लागेको बेला नखाने, अटसमटस हुने गरी ज्यादा खाने, गरिष्ठ भोजन, मसिनो मिठो, तारे भुटेको, पचाउन कठिन, जङ्कफुड, बट्टाबन्द र संरक्षित खाद्यवस्तु प्रायः खाइरहने, सागसब्जी सलाद जस्ता खस्रामोटा, रेसा र चोकरयुक्त खाद्यपदार्थ कम खानाले कब्जियत हुने प्रवल सम्भावना रहन्छ । व्यस्त र भागदौडले भरिएको, तनावपूर्ण जीवन जिउने, श्रमपछि विश्राम नगर्ने, भय, चिन्ता, शोक र उदासिनताका रोगीमा कब्जियत ज्यादा देखिएको छ । व्यायाम र श्रमबाट भाग्नेलाई पनि कब्जियतले छाडेको छैन भने लामो समयसम्म विरेचक औषधि, पेनकिलर, नार्काेटिक्स र दिमागलाई लठ्याउने औषधि खानेहरूमा कब्जियत हुने गर्छ ।

कब्जियतका लक्षणहरु

मलत्यागको प्राकृतिक आवृत्तिमा विलम्ब हुनु, मलत्याग गर्न बल लगाउनु पर्ने अवस्था आउनु, दिसा कोमल नभएर गोटापर्नु, अपानवायु बढ्नु, पेट भारी हुनु वा दुख्नु, भोक नलाग्नु मुख बिग्रिनु, रिङ्गटा लाग्नु, तिघ्राको पछाडि पट्टिका मांसपेशी दुख्नु, टाउको दुख्नु छाती पोल्नु र थाकेको महसुस हुनु ।

कब्जियतका जोखिमहरु

कब्जियत सामान्य, महत्वपूर्ण तथा बहुुप्रचलित रोग भएतापनि यो रोग कयौँ रोगको कारण हुन्छ । पूर्वीय स्वास्थ्य विज्ञानमा कब्जियतलाई भवावही रोगहरूको जननी मानिएको छ । कब्जियत हुँदा लामो समयसम्म मल आन्द्रामा नै रहने भएकाले आन्द्राभित्रै मल सडेर कुपित हुनपुुग्छ । यसरी लामो समयसम्म आन्द्रामा मल रहिरहँदा आन्द्रा भित्रै विषाक्त पदार्थ बन्न पुुग्छन् । ती विषाक्त पदार्थ आन्द्राबाटै अवशोषित भएर रगतको माध्यमबाट शरीरको विभिन्न अङ्गमा पुुग्छन् । फलतः अङ्गहरूमा विषाक्तता बढ्न गइ महत्वपूर्ण अङ्गको कार्यक्षमतामा कमी आउँदा अनेक प्रकारका रोग पैदा हुन्छन् ।

पूर्वीय स्वास्थ्य विज्ञानको मतअनुुसार कब्जियतका कारणले उच्च तथा निम्न रक्तचाप, मधुमेह, मोटोपना, ग्यास्ट्रि«क, अल्सर, आन्द्रा तथा पेटको क्यान्सर, इरिटेबल वाउल सिन्ड्रोम, अम्लीयता, एपेन्डिसाइटिस, अपच, गुुद्द्वार खस्नुु, डकार आउनुु तथा चाँया, पोतो र डन्डीफोर आउनु, जोर्नी दुख्नुु, हड्डी खिइनुु, सुुन्निएर विकृत हुने जस्ता समस्या आइपर्छ । यसैगरी, मानसिक समस्या जस्तैः डर, चिन्ता, खिन्नता, उदासिनता, अनिन्द्रा तथा यौन शक्तिको क्षय, प्रतिरक्षा प्रणालीको कार्य क्षमतामा गडबडिने, पटक पटक सङ्क्रमण हुने, सर्दी–मर्कीले सताइरहने, ज्वरो खोकी बल्झिरहने, मांसपेशी तथा नसा–नाडी कमजोर हुने, अन्तश्रावी ग्रन्थीको कार्य सुुचारु नभएर हर्मोन असन्तुलन हुने, कोलेस्टेरोल, युरिक एसिड बढ्ने, रगतमा भएका तत्वको मात्रा घटबढ भइरहने, रक्तअल्पताको समस्या देखापर्नु आदि पनि कब्जियतसँग सम्बन्धित हुन्छन् ।

*डा. हेमराज कोइराला योगी नरहरिनाथ योगा एण्ड नेचर केयर हस्पिटल भरतपुर, चितवनमा कार्यरत योग तथा प्राकृतिक चिकित्सक
हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

कम्मर दुख्दा गर्नुपर्ने योग आसनहरू

नसा च्यापिने समस्या र यसको उपचार

रक्तचाप र यसका श्रेणीहरु

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!