मुख्य समाचारसमाचार

नाष्टको उपकुलपतिमा डा. श्रेष्ठ नियुक्त

काठमाडौँ । सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)को उपकुलपतिमा डा. सुनिलबाबु श्रेष्ठलाई नियुक्त गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उहाँलाई ४ वर्षका लागि उपकुलपतिमा नियुक्त गरेको हो । नाष्टका प्राज्ञ समेत रहनु भएका ४७ वर्षीय श्रेष्ठ सम्भवत नेपालको इतिहासमा नै सवभन्दा कम उमेरमै उपकुलपति हुने प्रथम व्यक्ति हुनुपर्छ ।

२ पटक राष्ट्रिय योजना आयोगका सदस्य हुनु भएका श्रेष्ठले जापानको ओसाका सङ्ग्यो विश्वविद्यालयवाट वातावरणीय विकास इन्जिनियरिंगमा विद्यावारिधी गर्नु भएको हो । २० बर्ष भन्दा बढी निजी, सरकारी र गैरसरकारी सँस्थाहरु काम गर्नु भएका अनुभवी श्रेष्ठले युएनडीपी, बिश्व बैंक, एसियाली विकास बैंक र जिआईजेड लगायतका बिभिन्न अन्तर्राष्ट्रिय दातृ निकायमा विज्ञको रुपमा काम गरी सक्नु भएको छ ।

नेपालमा स्मार्ट सिटीको परिकल्पनाकार समेत रहेका शहरी बिकासका विज्ञ श्रेष्ठले राष्ट्रिय योजना आयोगको सदस्य हुँदा धेरै राष्ट्रिय नीतिहरु समेत तयार पार्नु भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुसंग आवद्ध श्रेष्ठ बिभिन्न पुरस्कार तथा सम्मानद्वारा पुरस्कृत तथा सम्मानित पनि हुनुहुन्छ ।

नाष्ट जस्तो नेपालको बैज्ञानिक संस्थाको उपकुलपति जस्तो गरिमामय पदमा यूवा तथा जोसिलो स्वभावका श्रेष्ठ नियुक्त हुनुभएकोमा देशका यूवा बैज्ञानिकहरु तथा सिंगो देशले उहाँवाट नेपालमा विज्ञान तथा प्रविधिको विकास हुनेमा ठुलो अपेक्षा राखेको छ । उहाँका अनुसन्धान पत्र र लेखहरु बिभिन्न जर्नलहरु तथा पत्रपत्रिकाहरुमा प्रकाशित छन्।

नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) लगभग ५ महिनादेखि उपकुलपतिविहीन भएको थियो । तत्कालीन उपकुलपति प्रा.डा. जीवराज पोखरेलको ४ वर्षे कार्यकाल भदौ १४ मा सकिएको थियो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!