स्वास्थ्य

गर्भपतनको अधिकार र जिम्मेवारी


डा. अरुणा उप्रेती

गर्भपतनको अधिकार र जिम्मेवारी । धेरै किशोरीले यौन सम्पर्कपछि ‘इमर्जेन्सी औषधि’ खान्छन् । यसरी जथाभावी औषधि प्रयोग गर्दा किशोरीको स्वास्थ्यमा पर्ने असरबारे विचार गर्दैन । स्वास्थ्य मन्त्रालय भने ‘इमरजेन्सी पिल’ जहिले जसरी खाएपनि हुन्छ भन्ने खबरको विज्ञापन दिन्छ । यसले किशोरीहरूको शरीर र पछि प्रजनन स्वास्थ्यमा असर गर्छ भन्ने ज्ञान गाउँघरमा पुगेको छैन । शहरमा पनि धेरै अनभिज्ञ छन् ।

स्कुलको सट्टा घुम्न गएको र आवेशमा आएर शारीरिक सम्पर्क भएपछि पछुताएका किशोरीहरू देखेकी छु । गर्भपतनको सहज उपलब्धता भएकैले किशोर-किशोरीले सहजसंँग यौन सम्पर्क राख्ने र कुनै क्लिनिकमा गई गर्भपतन गराउने गरेको धेरै तर्क गर्छन् । तर गर्भपतनको सहज सुविधा भएकाले होइन, किशोर-किशोरीलाई राम्रो मार्गदर्शन अभावले समस्या भएको हो । नेपालमा धेरै किशोरी तथा महिलाले जथाभावी औषधि खाएर वा अस्पतालमा गएर गर्भपतन गराउँछन् । गर्भपतन गराउँदा उनीहरूलाई पाठेघर बाहिर गर्भ रहेको थाहा भएन र समयमा उपचार गरिएन भने मृत्यु हुनसक्छ ।

पूर्वको एक जिल्लामा १५ वर्षीया किशोरीको एक किशोरसंँग शारीरिक सम्बन्ध भएपछि महिनावारी रोकियो । उनले ७ सातामै गर्भपतन गराउने औषधि खाइछन् । त्यसको एक सातापछि पेट धेरै दुखेर बेहोश भइछन् । अस्पताल लगेर सोनोग्राम गर्दा थाहा भयो, उनको गर्भ गर्भनलीमा बसेको रहेछ । त्यो फुटी आन्तरिक रक्तस्राव भएर ज्यान खतरामा परेको थियो । शल्यक्रियापछि ज्यान बच्यो । किशोर जोसंँग शारीरिक सम्बन्ध भएको थियो, उसले नचिनेझैं गर्‍यो । किशोर काठमाडौंमा उच्च शिक्षा हासिल गर्दैछ । किशोरी मानसिक रोगको औषधि खाएर बसेकी छन् । उनको पढाइ पनि छुटेको छ ।

यसरी उमेर नपुगी यौन सम्पर्क राखेर जथाभावी गर्भपतन गराउँदाकति किशोरीको जीवन सिद्धिएको होला, त्यसको तथ्यांक नेपालमा छैन । समस्या आइपर्दा केटा/पुरुष भाग्छन् । कतिलाई घरका मान्छेले लुकाइदिन्छन् । जीवन र स्वास्थ्य बरबादी भोग्ने महिला र किशोरी मात्र हुन्छन् । झापामा १७ वर्षीय किशोरीको गर्भपतन गराउँदा जटिलता आएपछि किशोर भागेर भारत गएको एक शिक्षकले सुनाएका थिए । ती किशोरले नै घरमा खबर गरिदिएकाले बेलैमा उपचार भएर किशोरीको ज्यान भने जोगिएको थियो ।

यो पनि पढ्नुहोस्

गर्भ कसरी रहन्छ ?

गर्भावस्था र यौनसम्पर्क

महिलाको स्वास्थ्य समस्यामा गाजरको भूमिका

प्राकृतिक गर्भनिरोधक औषधि अरंडि (लेंडी)बारे जानकारी

बाँझोपन हटाउनको लागि कोसेढुंगा सावित बुटी शिवलिंगी

सुरक्षित भए पनि सकेसम्म गर्भपतन गराउने स्थिति आउन दिनु हुँदैन भन्नेमा म जोड दिन्छु । सुरक्षित गर्भपतन सेवा सबै ठाउँमा पुग्नुपर्छ । तर सकेसम्म गर्भपतन गराउनु नपर्ने अवस्था सिर्जना गर्नुपर्छ । सबै किशोरीलाई १५-१६वर्षको उमेरमै यौन सम्पर्क नराख्न शिक्षा दिनुपर्छ । सुरक्षित गर्भपतन गराउँदा पनि कहिलेकाहीं बढी रक्तस्राव भएर पाठेघर निकाल्नु परेको स्त्रीरोग विशेषज्ञहरू सुनाउँछन् । कुनै १६ वर्षीया किशोरीको सुरक्षित गर्भपतन गर्दा धेरै रक्तस्राव भएर पाठेघर निकाल्नु पर्‍यो भने के हालत होला ? यसले उनको स्वास्थ्यमा मात्र होइन, विवाहपछि दाम्पत्य जीवनमैअसर पर्न सक्छ ।

यौन सम्पर्क नैतिकता,अनैतिकताको विषय होइन । तर किशोरीले आफ्नो स्वास्थ्य ख्याल राखेर यौन सम्पर्क नगरेकै ठिक हुन्छ । प्रेम गर्नु नराम्रो होइन । यसले जीवनमा ऊर्जा भर्नुपर्छ, जीवनलाई अघि बढाउन उत्साह दिनुपर्छ । जीवन खतम पार्न प्रेम गरिनुहुन्न । प्रेम एक जिम्मेवारी पनि हो । किशोरीले आफ्नो प्रेमी वा साथीलाई यो कुरा बुझाउन सक्नुपर्छ ।

Like & Follow us on Facebook

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!