धर्म-सस्कृति

बालाचतुर्दशी र यसको महत्व

१ मंसीर, काठमाडौं । नेपाली समाजको धार्मिक, सांस्कृतिक एंव सामाजिक परम्परामा वैदिक मुल्य मान्यताको गौरव रहेको पाइन्छ। देशको संस्कृतिले समाजमा अङ्गालो मारी एउटा दिशा निर्देशनको सूचना दिइरहेको हुन्छ। सृष्टिको सम्मान पितृको उद्धार गर्ने पर्व बालाचतुर्दशीलाई पनि पितृलाई सम्झने विशेष संस्कृतिको रुपमा मानिन्छ। दिवंगत पितृहरुको चिरशान्तिका लागि सप्तधानायुक्त शत्बिज र विभिन्न प्रकारका फूलहरु पितृका नाममा अर्पण गरिन्छ।

पृथ्वी लोकमा छरिएको शत्बिजले कहिल्यै पनि पितृहरुले भोकै बस्न नपर्ने मान्यता रहेको पाइन्छ। हेमन्त ऋतुमा पर्ने मङ्सिर कृष्ण चतुर्दशीलाई बालाचतुर्दसी वा शत्बिज छर्ने पर्व पनि भनिन्छ। प्रकृतिले दिएको अनुपम उपहार अन्नलाई हाम्रो जीवनदान मानिन्छ। मङ्सिर महिनामा सुनौलो लहलहाउँदा धानका बाला भित्र्याइन्छ। यो मनोरम दृश्यले सबैको मनमा आनन्दको आभास दिलाउँछ। धार्मिक सांस्कृतिक मान्यता अनुसार पनि यो महिनालाई अति नै महत्त्वपूर्ण मानिन्छ।

नयाँ बालीका साथै थरिथरीका बीउबिजन एंव किसिम किसिमका फलफुलले पितृहरुको श्रद्धापूर्वक सम्मान गरिन्छ। मार्ग कृष्ण त्रयोदशीका राति पितृहरुको सद्गतिको संकल्पसहित दीप प्रज्वलन गरेर भजनकिर्तन नाचगान गर्दै जाग्राम बस्ने गरिन्छ। भोलिपल्ट चतुर्दशीको दिन श्रद्धालुहरु नुहाएर शुद्ध पवित्र बनी बिहानै काठमाडौंको पशुपतिनाथ एंव किराँतेश्वर, गौरीघाट, श्लेषमान्तक वन, पूर्वी नेपालको पशुपतिनाथ भनेर चिनिने झापाको अर्जुनधारा जलेश्वरधाम, चतरा, वराहक्षेत्र, हलेंसी महादेव मन्दिर परिसर लगायत देशभरका शिवालय धाममा दिवगंत आत्माको चिर शान्तिको कामना गर्दै धान, गँहु, जौ, मास, मुगी कागुन र सामा मिलाएको सप्तधान्ययुक्त सत्बिज छरिन्छ।

आ-आफ्नो ठाउँ अनुसार गँहु, जौ,धान,मास,काला तिल, तोरी, लावा,मुला, ज्यामिर, निबुवा, बिमिरो, सुन्तला, केरा, स्याउ, उखु, सखरखण्ड, पिँडालु र हलेदोको टुक्रा छर्दै धाम क्षेत्रका देवी देवताको मन्दिरमा परिक्रमा गरिन्छ। यो धार्मिक अनुष्ठानले पितृ मोक्ष हुनुका साथै सन्तानको सुख समृद्धिको आशिर्वाद पाइन्छ भन्ने धार्मिक विश्वास रहेको छ। पितृ हाम्रो जीवनका आधार हुन्, पितृ पुजाले सारा जगतको भलाई होस् । रुख विरुवाहरुको संरक्षण होस् । चराचुरुङ्गी लगायत अन्य जीवजन्तूको कल्याण होस् । परम्परा र संस्कृति मर्यादित बनोस् । पितृहरुप्रतिको श्रद्धापूर्ण सम्मान सदा अनुकरणिय बनोस् । दिवंगत पितृको आत्माले शान्ति पावोस् । ॐ न:म शिवाय ॐ न:म शिवाय ॐ न:म शिवाय !

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!