साइन्स इन्फोटेक

ज्ञान तथा विज्ञानमा समर्पित अनलाइन पत्रिका

Featuredविज्ञान

विश्व विज्ञान दिवस : युवा वैज्ञानिकको क्षमता बढाउन आग्रह

ललितपुर, २५ कात्तिक । दक्षिण एसियाली मुलुकमा विज्ञान क्षेत्रको अवस्था नाजुक रहेकाले युवा वैज्ञानिकको क्षमता बढाउन आग्रह गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले आज विश्व विज्ञान दिवस–२०२० का अवसरमा डिजिटल प्रविधिमार्फत आयोजना गरेको ‘समाजका लागि विज्ञान र विज्ञानसँग समाज’ कार्यक्रममा विज्ञानलाई मुलुकमा थप बढवा दिन विज्ञान कूटनीति, स्याटेलाइटमा आधारित सूचना र प्रविधि, विज्ञान पत्रकारिता, विज्ञान क्षेत्रमा महिलाको सहभागिता, विज्ञान शिक्षा र राष्ट्रिय नवप्रवर्तन डिजिटल नेटवर्कको भूमिकामा जोड दिनुपर्ने बताइयो ।

नेपाल र नेपाल बाहिरका विषयमा पनि अध्ययन र अनुसन्धान गर्ने संस्था ग्लोबल इन्स्च्यिुट फर इन्टरडिस्प्लिनरी स्टडिज (जिआइआइएस) का निर्देशक डा उत्तमबाबु श्रेष्ठले विज्ञानको सिमा निर्धारण नहुने भएकाले यस क्षेत्रमा युवा वैज्ञानिकको क्षमता बढाएर लानु उपयुक्त हुने मत राख्नुभयो । मुलुकको पहिलो भूउपग्रह नेपालीस्याट–१ का निर्माता तथा जापानमा ‘बर्ड–३’ परियोजना प्रबन्धक इञ्जिनीयर आभाष मास्केले देश विकासमा रिमोट र कमन्युकेसन दुई थरिका स्याटालइट अझै भित्र्याउन जरुरी रहेको औल्याउनुभयो ।

शिक्षाविद् तथा महिला वैज्ञानिक फोरम नेपाल (डब्ल्युएसएफएन) का संयोजक प्रा.डा अन्जना सिंहले २१ आँै शताब्दीमा मुलुकका महिलाको समग्र अवस्था माथि उठ्न नसकेको गुनासो गर्नुभयो । विज्ञान पत्रकार छत्र कार्कीले विज्ञानको विकासका लागि वैज्ञानिक र सञ्चारकर्मीबीच सञ्चारको प्रक्रिया बढ्नुपर्ने भनाइ राख्नुभयो ।

नाष्टका प्रविधि सङ्काय प्रमुख डा.रवीन्द्र ढकालले विज्ञान र प्रविधिलाई समाजसँग जोड्न नवीन कार्यले महत्वपूर्ण भूमिका खेल्ने भएको हुँदा मूलूकमा निर्माण भएका नयाँ–नयाँ प्रविधिलाई बढवा दिन नाष्टले नेशनल इनोभेसन डिजिटल नेटवर्क औजारको शुरुआत गरेको जानकारी गराउनुभयो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!