विज्ञान जिज्ञासा

साउन महिनामा मेहेन्दी लगाउनुको वैज्ञानिक कारण के ?

Gopal Bhandari
गोपाल भण्डारी

हिन्दु समाजमा महिलाले हात र खुट्टामा मेहेन्दी लगाउने चलन पहिलादेखी चली आएको छ । साउनमा विवाहित महिलाले सौभाग्यको प्रतीकाका रूपमा यो लगाएर भगवान् शिवको पूजा आराधना गर्छन् । प्राचीन किंवदन्ती अनुसार मेहेन्दी, हरियो चुरा र व्रत्र बस्दा विवाहित महिलाका श्रीमानको आयु बढ्छ । हिन्दू धर्मग्रन्थका अनुसार साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरिया चुरा, पोते र हातमा मेहेन्दी लगाएकी थिइन् । साउनमा जताततै हरियाली हुने हुनाले त्यही हरियालीमा रमाएर महादेवबाट सौभाग्य प्राप्तिको खुसी प्राप्त गर्न पाइन् ।  साउनमा हरियो पहिरनको महत्व प्रकृतिसँग जोडिएको हुन्छ । प्रकृति प्रेमी भगवान शिवलाई खुसी पार्न र आयु आरोग्यको लागि साउनमा हरियो पहिरनका साथ मेहन्दी पनि लगाउने गर्छन ।

धार्मिक दृष्टिले पनि श्रावण महिना आफैमा पवित्र महिना मानिन्छ । साउन महिना प्राकृतिक रूपमा पनि हरियो महिना नै हो । प्रकृति मात्र नभई साउनसँग हरियालीको विशेष सम्बन्ध र सामिप्यता रहन्छ । यही रङ्ग भित्र उपस्थिति जनाउने एउटा महत्त्वपूर्ण पक्ष मेहन्दी पनि हो । विशेष हिन्दु नारीहरूले सुन्दरता र सौभाग्यका लागि साउन महिनाभर मेहन्दी लगाउने गर्छन । साउने संक्रान्ति पर्व शुरु भएसँगै महिलाहरुमा मेहेन्दी लगाउने प्रचलन छ । झरी बर्सिरहने साउनलाई धेरैले प्रेमको महिना मान्ने गरेका छन् । महिलाको श्रृंगारको चर्चा धर्मशास्त्रहरुमा पनि गरिएको छ । नारीका सोह्र श्रृंगारबारे उल्लेख गरिएको पाइन्छ जसमा मेहन्दीको पनि उल्लेख गरिएको छ । मेहन्दीलाई शुभ कामको प्रतिकको रुपमा पनि लिने गरिएको छ । मेहन्दीलाई जीवनका साथ परिवारमा प्रेम र स्नेहको प्रतिकको रुपमा लिने संस्कृति रहेको छ ।

साउन महिनामा मेहन्दी लगाउनुलाई कतिपयले फेशनभन्दा बढी केही सोच्दैनन् । तर, यससँग जोडिएको वैज्ञानिक सत्य निकै कम मानिसहरुलाई मात्र थाहा छ । यसको वैज्ञानिक तथ्य पनि रहेको छ । विवाहित महिलाले यसरी मेहेन्दी लगाउँदा उनीहरुको सुन्दरता सामान्य भन्दा बढ्ने गर्छ जसले श्रीमानमा श्रीमतीको आकर्षण कायम राख्छ । श्रीमतीले व्रत्र बस्दा स्वास्थ राम्रो हुनुका साथै श्रीमतीप्रति श्रीमानको सम्बन्ध प्रगाढ हुने गर्दछ । त्यसरी नै अविवाहित महिलाले यसरी मेहेन्दी लगाउँदा उनीहरुको सुन्दरता सामान्य भन्दा बढ्ने गर्छ जसले प्रेमीमा प्रेमिकाको आकर्षण कायम राख्छ । प्रेमिकाले व्रत्र बस्दा स्वास्थ राम्रो हुनुका साथै प्रेमिकाप्रति प्रेमीको सम्बन्ध प्रगाढ हुने गर्दछ । त्यस्तै असार महिनामा खेतबारीको काम सकिएसँगै फुर्सदको समय हुने र त्यस समयमा शरीरलाई राम्रो र आकर्षक राख्नका लागि मेहन्दीको प्रयोग गर्न थालिएको हो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!