नेपालले वैशाखमा आफ्नै भू-उपग्रह प्रक्षेपण गर्ने
१८ पुस, काठमाडौँ । नेपालले अगामी वैशाख महिनामा आफ्नै स्याटालाइट ‘भू–उपग्रह’ पहिलोपटक उडाउने भएको छ । ‘बर्डस’कार्यक्रम अन्तर्गत जापानस्थित क्यूसु इन्स्टि्च्यूट अफ टेक्नोलोजी (क्यूटेक) सँगको सहकार्यमा आगामी अप्रिलमा भू–उपग्रह उडाउन लागिएको हो। ‘नेपस्याट–१’ नाम दिइएको यो स्याटालाइट निर्माणका लागि सरकारले नेपाल विज्ञान प्रविधि प्रतिष्ठान नाष्टलाई १ करोड ८२ लाख रुपैया दिएको थियो ।
स्याटालाइटको नेतृत्व नेपालको तर्फबाट क्यूसेटमा स्पेस टेक्नोलोजी इन्जिनियिरिङमा विद्यावारिधि गरिरहेका आभाष मास्के र इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठले गरेका छन् । बर्डस् कार्यक्रम अन्तर्गत उनीहरु क्यूटेकमा छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । भू–उपग्रह निर्माणको सम्पूर्ण कार्य लगभग सम्पन्न भएको छ । गत अगस्टमा इन्जिनियरिङ मोड्यूल तयार भएर डिसेम्बरमा वातवरणीय परीक्षण सम्पन्न भएको छ। अब पूर्ण रुपमा प्रक्षेपण गर्न सकिन्छ ।
स्याटालाइटको सकिङ, तापक्रमको अवस्थाको परीक्षणहरु सबै सकिएको छ । यतिबेला स्याटालाइटको तथ्यांकहरु संकलनका लागि चाहिने ग्राउण्ड स्टेशन सम्बन्धि काम भइरहेको नाष्टले जनाएको छ । ग्राउण्डमा स्टेशनले भू–उपग्रहले पठाएको तथ्यांकहरुको विश्लेषण र संकलन गर्छ । यो स्टेशन नाष्टको कार्यालय परिसरमा निर्माण गरिनेछ ।
१० क्युबिक सेन्टिमिटर घनाकार (क्यूबोइड) आकारको उक्त स्टालाइट ‘नानो स्याटालाइट’ हो। छोटो समय र कम लागतमा तयार गर्न सकिने भएकाले पहिलो भू–उपग्रहमा ‘नानो स्याटालाइट’ प्राथमिकतामा पर्ने गर्छ। ‘मेगा स्याटालाइट’ बनाउन १० देखि १५ वर्ष लाग्नुका साथै धेरै अर्ब खर्च हुने हुँदा प्रक्षोपणका बेला जोखिम धेरै हुन्छ। व्यावसायिक रुपमा न्यानो स्याटालाइट निर्माण गर्दा ५ करोड लाग्ने हुँदा प्रक्षोपणका बेला हुने सक्ने सम्भावित क्षति कम हुनेछ ।
स्याटालाइटले तापक्रम, आद्रता, वायुमण्डलीय चापका साथै भौगोलिक अवस्थाको तथ्यांक दिनेछ। यसले बादलको बहाव हेरेर मौसमको जानकारी समेत दिनेछ । यो स्याटालाइटको मुख्य काम भनेको ‘इमेजरी डाटा’ रहेको नाष्टले जनाएको छ । यसलाई ‘टाउन प्लानिङ’ मा पनि प्रयोग गर्न सकिने नाष्टको भनाइ छ । यो स्याटालाइटले हिमनदीको अवस्था, हिमतालको विष्फोटन, हिमपहिरो, हिमाली तथा पहाडी क्षेत्रको जानकारी, भौगोलिक अवस्थाको जानकारीका साथै आगलागी भएको स्थानाहरु समेत पत्ता लगाउन सक्नेछ । भू–उपग्रह प्रक्षेपणको अनुभवबाट मुलुकमा भू–उपग्रह सम्बन्धि कानून निर्माणमा सघाउ पुग्ने समेत बताइएको छ।