धर्म-सस्कृति

पीपलको धार्मिक महत्व

हिन्दू धर्मले पशुपक्षी, वृक्षवनस्पतिमाथि समेत श्रद्धाभाव राख्दछ । हिन्दू धर्ममा पीपललाई देव वृक्ष अर्थात् देवताहरूको रुख मानिएको छ । स्कन्द पुराणमा भनिए अनुसार पीपलको बोटमा देवीदेवताहरूको वास हुन्छ । पीपल भगवान् विष्णुको जीवन्त एवं पूर्णतः मूर्तिमान स्वरूप हो । गीतामा कृष्णले भनेका पनि छन्- वृक्षहरूमा म पीपल हुँ । हिन्दु शास्त्रमा भनिएको छ ‘अस्वत्थः पूजितोयत्र पूजिताः सर्व देवता’ अर्थात् पिपलको पूजा गर्यो भने एकसाथ सबै देवताको पूजा गरेको फल प्राप्त हुन्छ । मानिसहरू निरोगी हुन्छन् भने पीपलको रुख रोप्नेहरूको कहिल्यै वंशनाश हुँदैन । योगी तथा ऋषिमुनिहरू पनि पीपलकै बोटमुनि तपस्यारत हुन रुचाउँछन् ।

शास्त्रीय दृष्टिले पीपललाई काट्नु निषिद्ध मानिएको छ । भनिन्छ, जसले पीपल काट्छ, त्यस व्यक्तिसँग लक्ष्मी रिसाउँछिन् र उसका घरमा सुख, शान्ति र समृद्धि समाप्त हुन्छ । पीपलको बुटोमा स्वयं माता लक्ष्मी र भगवान् विष्णुको निवास हुन्छ भन्ने धार्मिक विश्वास छ । प्राच्य संस्कृतिमा पीपललाई ‘देववृक्ष’ भनिएको छ । स्कन्द पुराणमा पीपलको फेंदमा विष्णु, शरीरमा केशव, हाँगाहरूमा नारायण र पातहरूमा श्रीहरिको निवास रहने कुरा उल्लेख छ । भगवान् अच्युत सबै देवताहरूसहित यसमा नित्य निवास गर्छन् । तसर्थ पीपल भगवान् विष्णुको जीवन्त र मूर्तिमान् स्वरूप हो । भगवान् कृष्णले गीतामा ‘म सबै वृक्षहरूमध्ये पीपल हुँ’ भनेका छन् । यसबाट पीपलको श्रेष्ठता सिद्ध हुन्छ ।

हिन्दू कर्मकाण्डको ग्रन्थ ‘व्रतराज’ मा ‘अश्वत्थोपासना’ अन्तर्गत पीपल उपासनाको महिमा र विधि उल्लेख छ । पीपल वृक्षको प्रार्थनाका लागि ‘अश्वत्थस्तोत्र’ पनि विशेष उल्लेखनीय मानिन्छ । श्रीमद्भागवतमा नारदले यसै बुटाको तल बसेर ध्यान गर्दा भगवान् नारायणको दर्शन पाएको र भगवान् श्रीकृष्ण द्वापर युगको अन्त्यमा पृथ्वीतल छोडेर गोलोक धाम जाँदा यही बुटाको तल बसेर ध्यानमग्न बनेको कुरा उल्लेख गरिएको छ ।  पीपलका हाँगाहरूमा दक्षिण दिशातिर शूलपाणि महादेव, पश्चिमतिर निर्गुण विष्णु, उत्तरतिर ब्रह्माजी र पूर्व दिशातिर इन्द्रादि देवता रहन्छन् । पीपलको फेद ‘अ’ काररूप, हाँगाहरू ‘उ’ काररूप र फल–पुष्प ‘म’ काररूप मानिन्छन् । यसरी अश्वत्थ वृक्ष ‘ॐ’ काररूप छ ।

पीपल वृक्ष स्वर्गबाट पृथ्वीमा पठाइएको कथा हिन्दु शास्त्रहरूमा पाइन्छ । रामचन्द्रको आग्रहअनुसार स्वर्गका राजा देवेन्द्र लगायत समस्त देव देवताले पठाएको पिपल र पारिजातको बोट रामचन्द्रजीले आफ्नो पुष्प विमानमा नै राख्ने व्यवस्था गरिदिए । उक्त पवित्र बोटहरूलाई विमानमा राख्दा विमान जहाँ जहाँ गयो विमानबाट पिपल र पारिजातको बीजसहितको फल तल झरेर ठाउँ ठाउँमा पिपलको बोट र पारिजातको नयाँ बोट उम्रँदै गएछ भन्ने कथा छ ।

पौराणिक कथाअनुसार देवता र दानवहरू मिलेर समुद्र मन्थन गर्ने क्रममा लक्ष्मीभन्दा पहिले दरिद्रता उत्पत्ति भएकी थिइन् । लक्ष्मीले पआफू प्रकट भएपछि विष्णुलाई पतिका रूपमा वरण गरिन् । यसबाट दरिद्रता रिसाइन् । यो देखेर विष्णुले दरिद्रतालाई आफ्नो प्रिय वृक्ष पीपलको बोटमा बस्न अनुरोध गर्दै आफू समयसमयमा भेट्न आउने वाचा गरे । प्रत्येक शनिबार विष्णुसँगै लक्ष्मी पनि आफ्नी दिदीलाई भेट्न आउँछिन् । यसकारण शनिबारका दिन पीपलको पूजा एवं परिक्रमा गर्नु निकै शुभ मानिन्छ ।

आम सनातनवादीहरू पिपल बोटमा जल चढाई पूजा अर्चना गरी परिक्रमा गर्छन् । यस ‘देव वृक्ष’लाई विशेषत शनिवारको दिन पूजा गर्ने गरिए पनि बिहीवार र आइतवारका दिन पनि विशेष पूजा गर्ने गरेको पाइन्छ तर पनि देव देवालयको परिसरमा रहेको पिपलको बोटमा श्रद्धालु भक्तजनहरूले दैनिक रूपमा नै पूजा परिक्रमा गरी श्रद्धा गर्छन् । पिपल बोटको पूजा गर्दा हजार वटा पात रहेको बोटको पूजा गरिएमा उत्तम फल पाउने अर्थात् जति पुरानो बोटको श्रद्धाकासाथ पूजा गरियो त्यति नै उत्तम भन्ने धार्मिक मान्यता रहेको पाइन्छ । ग्रह दशा पन्छाउन भक्तजनहरू. शनिवार पिपललाई काँचो धागो सात फन्को लगाई बाँधी पूजा परिक्रमा गर्छन् । यसो गर्दा आफूमा लागेको शनिको दशा अन्त्य हुन्छ भन्ने विश्वास गर्छन् ।

विभिन्न धार्मिक कार्यमा यसको पात नभई हुन्न भने यसको डाँठ हवन कार्यमा पवित्र दाउराका रूपमा प्रयोग गरिन्छ । चिनामा ग्रह बिग्रिएको देखिए आइतवार बाहेक अन्य दिन नियमित रूपले पीपललाई जल चढाउँदा ग्रहदोष शान्त हुन्छ । शनिले दुःख दिइरहेको छ भने हरेक शनिवार पीपलको बोटमा सखर हालेको दूध चढाएर सातपटक परिक्रमा गर्नुपर्छ । यसो गर्दा शनिश्चर प्रसन्न हुन्छन् र उनको आशीर्वाद प्राप्त हुन्छ । हरेक शनिवार पीपलको बोटछेउमा तोरीको तेलमा भिजाइएको बत्ती बाल्दा शनिदोष शान्त हुन्छ । यसका साथै हरेक शनिवार दुवै हातले पीपलको रुख छोएर १०८ पटक ॐ नमः शिवाय मन्त्र जप्दा लाभ प्राप्त हुन्छ । पीपलको सेवा गर्नाले पितृदोष समेत शान्त हुन्छ । पीपललाई पूजा एवं परिक्रमा गर्नाले कालसर्प दोष पनि शान्त हुन्छ ।

यो पनि पढ्नुहोस्

वैज्ञानिक दृष्टिकोणमा पीपलको महत्व

आयुर्वेदिक दृष्टिकोणमा पीपलको महत्व

औषधिको रुपमा पीपलको पातको प्रयोग

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!