फापर र यसका फाइदाहरु

फापर नेपालका विभिन्न ठाउँमा उमार्ने गरिन्छ र यसको खेती गर्न धेरै मेहनत पनि पर्दैन । तर, फापर उब्जिने ठाउँमा पनि यसको कम प्रयोग हुन थालेको छ । फापरले शरीरमा रहेको बोसो र उच्च रक्तचाप घटाउन मद्दत गर्छ । चीनमा आठ हजार ५५ जनालाई एक दिनमा एक सय ग्राम फापर दिएर केही समयपछि उनीहरुको रगत जाँच गर्दा यो तथ्य पत्ता लागेको थियो ।
भोजनप्रतिको अज्ञानता, भएका खानेकुराको सदुपयोग गर्न नसक्नु र प्याकेटका खानेकुरा मात्र उत्तम हुन्छन् भन्ने मानसिकताले नै हामीलाई अस्वस्थ बनाउँदै लगेको छ । फापरमा पाइने ‘रुटिन’ नामक तत्वले शरीरमा भिटामिन ‘सी’को कामलाई बढाउन मद्दत गर्छ अर्थात् रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । साथै, फापरमा रहेको तत्वले बुढ्यौलीको प्रक्रियालाई कम गराउने अनुसन्धानले देखाएको छ । जौमा जस्तै फापरमा पनि पर्याप्त मात्रा म्याग्नेसियम हुन्छ, जसले शरीरका रक्तनलीलाई प्रभाव पारेर उच्च रक्तचाप कम गराउँछ ।
यो पनि पढ्नुहोस्
स्वास्थ्यको लागि आँप खानुका फाइदाहरु
तरकारीको रुपमा परवल खानुका फाइदाहरु
पिस्ता खाँदा स्वास्थ्यमा पुग्ने फाइदाहरु
काठमाडौंका केही धनी मानिसलाई चिनीको रोग लागेपछि चिकित्सकहरु उनीहरुलाई फापरको रोटी खाने सल्लाह दिने गर्छन् । त्यही कारणले आजकल काठमाडौंमा फापर महँगो छ । गाउँघरतिर फापर सहजै उपलब्ध हुने भएकाले मानिसहरु महँगो चामल किनेर सस्तो फापर गाईवस्तुलाई खुवाउने गर्छन् । अमेरिकन इन्स्टच्युट अफ क्यान्सर रिसर्च नामक संस्थाले गरेको अनुसन्धानअनुसार तरकारीमा पाइने विभिन्न किसिमका पौष्टिक तत्वभन्दा बढी फापरमा पाइन्छ ।
फापर उत्तरी युरोपबाट चीन हुँदै एसिया भित्रिएको हो र युरोपेली मुलुकका बासिन्दाको भान्छामा फापर पर्याप्त मात्रामा प्रयोग हुन्छ । गहुँ र फापरको आँटा मिसाएर बनाएको रोटीमा शरीरलाई चाहिने धेरै पौष्टिक तत्व प्रदान गर्छ । फापरमा रहेको प्रोटिन उच्च स्तरको प्रोटिन मानिन्छ । यसरी विभिन्न किसिमका पौष्टिक तत्वहरु पाइने फापरलाई हेपेर हामीले पोषण सम्बन्धी समस्याहरु आफैं निम्त्याइरहेका छौं ।