खानपान

स्वास्थ्यको लागि फापर खानुका फाइदाहरू

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

फापर स्वास्थ्यको दृष्टिकोणले निकै महत्वपूर्ण छ । आजको लेखमा हामीले फापरलाई लिएका छौ । यसमा प्रशस्त मात्रामा रेशादार तत्व, भिटामिन बि१, बि२ र बि६, प्रोटिन, खनिजका साथै एन्टिअक्सिडेन्ट पोलिफेनोल पाइन्छ । मासु नखाने शाकाहारीका लागि फापर प्रोटिनको धनी स्रोत हो, जसमा करिब १०-१२.५ प्रतिशत प्रोटिन पाइन्छ ।

फापरको प्रोटिनबाट शरीरलाई चाहिने आवश्यक धेरै एमिनो एसिडहरु प्राप्त हुन्छ । जनावरको मासु खाँदा कोलेस्टेरोल अनि अन्य अस्वस्थ्यकर चिल्लो पदार्थहरु पनि खान सकिने भएकाले हृदय सम्बन्धी रोगहरुको जोखिम बढ्न सक्छ । तर फापरमा कोलेस्टेरोल नपाइने हुँदा यो स्वास्थ्यका दृष्टिकोणबाट पनि एक उत्कृष्ट वनस्पतिय भोजन हो ।

फापरमा प्रशस्त मात्रामा पाइने खनिजहरु जस्तै जिंक, कपर, म्यागनेसियम शरीरलाई स्वास्थ्य राख्ने आवश्यक तत्वहरु हुन् । यसका अलावा “रुटिन” भनिने लाभदायक एन्टिअक्सिडेन्ट पोलिफेनोल फापरमा प्रसस्त पाइन्छ । तर रुटिनको मात्रा फापरको नुडलमा पिठोमा भन्दा कम हुने विज्ञहरुको भनाइ छ ।

फापरमा पाइने तत्वहरुको उपयोगिताको बारेमा धेरै अनुसन्धानरहरु प्रकाशित भएका छन् । फापरको पिठोको अर्को विशेषता भनेको गहुँ वा जौको पिठोमा पाइने ग्लुटेन भनिने प्रोटिन यसमा पाइँदैन । त्यसैले फापरको सेवन ग्लुटेन इनटोलेरेन्स अर्थात ‘सेलियाक डिजिज’ हुनेहरुका लागि लाभदायक मानिन्छ । अर्थात यो ग्लुटेनमुक्त खानेकुरा हो ।

स्वास्थ्यको लागि फापर खानुका फाइदाहरू

१. फाइबरयुक्त फापर कम ग्लाईसेमिक इन्डेक्स भएको खाद्य पदार्थमध्ये एक हो, जुन मधुमेहका लागि लाभदायक हुन्छ ।

२. एक रिपोर्टका अनुसार फापरको ग्लैसेमिक इन्डेक्स ३५ हो भने गहुँको ब्रेडको ६८ मानिन्छ ।

३. एक्सपेरिमेन्टल डायबटिक रीसर्चमा प्रकाशित एक लेख अनुसार टाइप २ मधुमेहका उपचारका लागि ताइवानमा फापर प्रयोग गरिन्छ ।

४. शरीरमा ग्लुकोज तह लगाउने मात्र होइन, फापरको सेवन रगतको कोलेस्टेरोल घटाउन पनि सहयोगी हुने एक वैज्ञानिक रिपोर्टले बताउँछ ।

५. जापानी अनुसन्धानकर्ताहरुले मुसामा गरेको अध्ययन अनुसार प्रोटिनयुक्त फापरको पिठोमा रगतमा कोलेस्टेरोल घटाउने र पित्तको पत्थरी हुनबाट बचाउने गुण हुन्छ, साथै यसको सेवनबाट मोटोपन पनि कम हुनसक्ने उनीहरुको राय छ ।

६. स्वस्थ्यकर जीवन जिउन वयस्क मानिसले २५-३८ ग्राम फाइबरको सेवन दिनहुँ गर्नुपर्छ । एक रिपोर्टका अनुसार एक कप फापरमा ४.५ ग्राम फाइबर पाइन्छ । यसरी फापरको सेवनबाट शरीरले प्रशस्त फाइबर प्राप्त गर्न सक्छ ।

७. मधुमेह, उच्च-रक्तचाप, कब्जियत, मोटोपन घटाउन र स्मरणशक्ति बढाउन फापर खानु लाभदायक हुन सक्छ । फापरको यति धेरै गुण भएपनि यसको सेवन सहरिया समाजमा यदाकदा मात्र गरिन्छ ।

८. जापान जस्तो औद्योगिक मुलुकमा सोवाको उत्पादन गरेर विदेशमा समेत निर्यात गरेको देखिन्छ भने हामीले पनि प्रशस्त फापरको उत्पादन गरी नेपाललाई विश्वको प्रमुख फापर उत्पादक मुलुकको रुपमा चिनाउन सकिन्छ ।

९. फापरको पिठोबाट बनेको नुडल, कुकिज वा मफिन खान सकिन्छ । फाइबर र एन्टिअक्सिडेन्टले भरपुर फापर जस्ता खानेकुराहरुको लोकप्रियता फंग्सनल फुडको रुपमा पश्चिमी मुलुकहरुमा बढेकाले नेपालको फापरले अन्तर्राष्ट्रिय बजारमा नाम र दाम कमाउन सक्छ ।

नोट : आज फापर नेपालबाट लोपोन्मुख अवस्थामा छ । फापर खेती गर्न सरकारले पब्लिकलाई प्रोत्साहन दिनुपर्ने देखिएको छ । नेपालमा फापर प्रशस्त उत्पादन हुने देखिन्छ ।

यो पनि पढनुहोस्

पुदिना खानुका फाइदाहरु र प्रयोगहरु

स्वास्थ्यको लागि भेली खानुका फाइदाहरु

स्वास्थ्यको लागि पिप्पली खानुका फाइदाहरु

स्वास्थ्यको लागि अश्वगन्धा खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!