भूकम्प कसरी जान्छ ?
नेपालको इतिहासमा वि.सं. १८९० साल, २०४५ साल र २०७२ वैशाख १२ गतेको भूकम्पहरु ठूला र विनाशकारी मानिन्छन् । विसं २०७२ वैशाख १२ गते शनिबारको महाभूकम्पमा धेरै मानिसको ज्यान जानुका साथै काठमाडौंको मुटुमा अवस्थित ऐतिहासिक धरहरा फेदैसम्म ढलेर ध्वस्त भएको थियो । भूगर्वविद्हरूको भनाई अनुसार भूकम्प जानुको मुख्य कारणहरूमा टेक्टोनिक हलचल, पृथ्वीको सतहमुनी भएको ज्वालामुखी विष्फोटन, पृथ्वीको विभिन्न भागमा रहेका ठूलठूला गुफा र खानीभित्र छत खस्नु आदि रहेको छ । तर वैज्ञानिकहरुवाट हालसम्म गरिएको अध्ययनबाट चाहिँ भूकम्प जानुको सवैभन्दा प्रमुख कारण टेक्टोनिक हलचल नै रहेको स्पष्ट हुन आएको छ । हामीले बसोबास गर्दै आएको यो पृथ्वी विभिन्न तहहरू मिलेर बनेको छ र त्यसमध्ये सबैभन्दा माथिल्लो तहमा हामी बस्दछौं ।
हामीले बसोबास गरिरहेको पृथ्वीको यो माथिल्लो तह सबै एकनासको नभएर कहीं पातलो र कहीं बाक्लो किसिमको हुनाका साथै विभिन्न टुक्राहरूमा पनि विभाजित छ । जसलाई “प्लेट्स” भनी नामाकरण गरिएको छ । यी प्लेट्सहरू विभिन्न कारणहरूले गर्दा स्थीर अवस्थामा नरहेर विभिन्न दिशातिर सर्दै गइरहेका हुन्छन् जसलाई प्लेट्स टेक्टोनिक मूभमेन्ट भनिन्छ । भूगर्वविद्हरूका अनुसार संसारमा जम्मा ६ वटा प्लेट विद्यमान रहेका छन् । ती हुन् अमेरिकन प्लेट, प्रशान्त महासागरीय प्लेट, अफ्रिकन प्लेट, यूरेसियत प्लेट, इण्डियन प्लेट र अन्र्टाक्टिक प्लेट । भूगर्वविद्हरूबाट भएको संसारका प्रमुख भूकम्पीय क्षेत्रहरूको अध्ययनबाट के तथ्य थाहा हुन आएको छ भने प्रायः प्रशान्त महासागरको पूरै नदीय क्षेत्रहरू भूकम्पीय प्रकोपको दृष्टिले जोखिमयुक्त रहेका छन् । यसमा उत्तर र दक्षिण अमेरिकाको पश्चिमी भाग, पूर्वी चीन, फिलिपिन्स, इण्डोनेशिया आदि पर्दछन् । त्यसै गरी पामीर गांठोबाट विभिन्न दिशामा फैलिएको पहाडी श्रृंखलाहरूमा पश्चिमका भूमध्ये सागरीय क्षेत्रदेखि क्रमशः उत्तरी भारत, वर्मा अथवा म्यानमा, थाइल्याण्ड, मलेशिया आदि पर्दछन् ।