विचार-विश्‍लेषणविज्ञान

नेपालका खनिज रत्न – पुस्तक समीक्षा

पुस्तक समीक्षा

समीक्षक – जयराज घिमिरे

श्री हरि प्रसाद तिम्सीनाद्वारा लेखिएको “नेपालका खनिज रत्न” नामक पुस्तकले नेपालको विभिन्न भेगमा पाइने रत्न खनिज सम्बन्धमा आफ्नो अनुभव, भोगाई र खोजलाई समष्टि र सरल भाषामा समेटन खोजिएको पाइन्छ । नेपाल हिमाल, पहाड र तराईको भूभागमा बाडिएको सबैलाई थाहा नै छ । तर यँहाका पहाड र हिमालमा विभिन्न खनिजहरु रहेका र तीमध्ये रत्न खनिजहरु पनि छन भन्ने कुरा धेरैलाई थाहा नहुन पनि सक्छ ।

ज्ञान बाँडनु आफैमा ठूलो कुरा हो । व्यक्तिगत रुपमा लेखक तिम्सीनामा वि.स. २०४१ साल नै देखि नुवाकोट, संखुवासभा र विभिन्न जिल्लामा क्वार्ज, एक्वेमेरिन, टुर्मालिन र गार्नेट रत्न खनिजको खोजतलास तथा उत्खनन्कार्यको अनुभव रहेको र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा हुने जेम्स सम्बन्धी प्रर्दशनहरुमा निजको सहभागिताको समेत लामो अनुभव रहेको पाईन्छ । नेपालको सन्र्दभमा यस विधामा धेरै पुस्तकहरु नरहेको हालको अवस्थामा खनिज रत्नको बारेमा आफूमा भएको ज्ञान बाँडेर श्री तिम्सीनाबाट प्रकाशित यस पुस्तक आफैमा एउटा खोज हो । यसको अध्ययनले म आफै पनि यस विधामा थप ज्ञान प्राप्त भएको अनुभव भएको छ ।

Gems of Nepal

पुस्तकमा खनिजको इतिहास, खनिज रत्नको खानीको निर्माण विधिको भौर्गभिक अवस्था, पेग्माटाइट चट्टानको निर्माण विधि, खनिज रत्नको संभावनाको लागि नेपालका पेग्माटाइटको विषयको जानकारी, केही जिल्लागत तथ्यहरु साथ प्रस्तुति गरिएको छ । खनिज रत्नहरु टुर्मालिन, एक्वेमेसरन, ह्याम्बरगाइट, डान्वुराइट र विशेषतः क्वार्ज खनिजको वृस्तितीकरण गरिएको पाइन्छ । निज स्वयमबाट संकलित रत्न खनिजका नमूना र तीनका रङ्गिन फोटोग्राफहरु समेटिएका छन् । ती स्तरीय फोटोगाफहरु हेर्दा लेखकबाट ठूलै मेहनत र फोटोहरु संग्रह गरेको देखिन्छ । पढेर होइन परेर जानिन्छ भने जस्तै पुस्तक पढ्दा नेपालको खनिज रत्न सम्बन्धी तथ्यहरु, लेखकको लामो समयको अथक प्रयास र स्थलगत अनुभव र विश्लेष्णात्मक ज्ञानलाई समष्टी रुपमा दर्शाउन खोजेको देखिन्छ ।

नेपाल सरकारबाट रत्न खनिजको कोरा रुपमा विदेश निकासी रोक लगाईएको वर्तमान परिपेक्ष्यमा नेपाल लगायत विदेशी बजारहरुमा नेपालका खनिज रत्न सम्बन्धी यस पुस्तक अंग्रेजी भाषामा समेत उल्था गरि प्रकाशन गर्न सकिए रत्न खनिजको प्रर्वधानात्मक कार्यमा सहयोग पुग्नेछ । महाभारत तथा हिमाली श्रृंखलाका जिल्लाहरुमा पूर्वमा ताप्लेजुङ्गदेखि पश्चिममा दाचुर्ला सम्म पाइने रत्न खनिजलाई पुस्तकले समेटिएका तथा नसमेटिएका क्षेत्रहरुमा खनिज तथा खानीको अध्ययन गरि जनस्तरसम्म पुरयाउन सम्बन्धित निकायलाई धचधचाउने नै छ । यस्ता प्राकृतिक रत्न खनिजको उत्खनन् तथा कटिङ्ग सम्बन्धी तालिमका साथै भावी पुस्तालाई समेत संरक्षण गर्न, सो सम्बन्धी नीति निर्माण तथा कानून तर्जूमा गर्न लेखकको लामो अनुभवका साथ समेटिएको यस पुस्तकलाई एक खुडकिलोको रुपमा ग्रहण गर्न सकिने आधारहरु देखिन्छन् ।

हिन्दु शास्त्रिय अवधारणाको ज्योतिष विधामा राशिहरुको आधारमा रत्न पत्थर तोकिएको र सो बारेमा थप विषयवस्तुहरु समेटिएको भए राम्रो नै हुने थियो । खनिज रत्नको अपेक्षितरुपमा अन्वेषण, उत्खनन् तथा विकास हुन नसकिरहेको वर्तमान परिपेक्ष्यमा नीति निर्माणकर्ता, शिक्षक तथा बिद्यार्थी वर्ग र रत्न खनिजबारे जानकार राख्न चाहने सबैको लागि एक पटक पढ्नुपर्ने र खोजी गर्नुपर्ने यस पुस्तकको अध्ययन र प्रतिक्रियाबाट लेखकलाई थप हौसला पुग्ने देखिन्छ ।

*जयराज घिमिरे खानी तथा भूर्गभ विभागमा कार्यरत सुपरिन्टेन्डेन्ट इन्जिनियर हुन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!