उपवास चिकित्सा पद्धति
उपवास शब्द दुईवटा संस्कृत शब्दहरू उप र बास मिलेर बनेको शब्द हो । उपको शाब्दिक अर्थ नजिक र बासको शाब्दिक अर्थ बस्नु हो । यसर्थ उपवासको शाब्दिक अर्थ नजिक बस्नु हो । नजिक बस्ने शब्दलाई अर्थ लगाउँदा पनि कसको नजिक बस्ने भन्ने प्रश्न यहाँ उत्पन्न हुन सक्छ । यसको उत्तरमा अधिकतर उपवास अभ्यास गर्नेहरू आफ्नु नजिक बस्ने वा आत्माको नजिक बस्ने भन्ने उत्तर दिन्छन्
आत्माको साथ साथै परमात्माको सामिप्यतालाई समेत उपबासको अर्थसँग जोडेर हेरिएको छ । शाब्दिक अर्थ जे भए नि उपवास विश्वका धेरै आध्यात्मिक साधनाहरुमा समेटिएको महत्वपूर्ण साधना हो । स्वास्थ्य विज्ञानमा पनि उपबासको ठूलो महत्व छ । प्राच्य स्वास्थ्य विज्ञानले उपबासलाई परम औषधिको रुपमा व्याख्या गरेको छ भने आधुनिक चिकित्सा विज्ञानमा पनि शाल्यक्रिया गर्नु पूर्व वा केहि चिकित्साकर्म गर्नु पूर्व एक दिनको उपवास बस्ने सल्लाह दिइन्छ ।
उपबासको अर्थ
उपबासको अर्थ निश्चित समयावधिका लागि कुनै पनि प्रकारको आहार ग्रहण नगर्नु हो । यसरी निश्चित अवधिका लागि शरीरलाई आहार प्रदान नगर्दा मुख्यतः पाचन प्रणालीका अङ्गहरुले आराम पाउनुका साथै शरीरका अन्य अङ्गहरूमा संकलित विजातिय द्रव्यहरूको पनि निष्कासन हुनेहुदाँ उपवास सूक्ष्म स्तरमा शरीर शोधनको मुख्य अस्त्र हो ।
उपवासलाई “सर्वे रोग मल वशः लंघनस परम औषधम्” अर्थात् सम्पूर्ण रोगको कारण भनेको शरीरमा संकलित मल हो र संकलित मलको सर्वोच्च निष्कासन गर्ने उपवास परम औषधि हो भनिएको छ । यसर्थ उपवास भन्नाले भोजन/आहारको ग्रहण नगर्नु मात्र नभएर गहिरो अर्थमा सामाजिक, सांस्कृतिक,राजनीतिक, धार्मिक एवम् आध्यात्मिक अर्थ बोकेको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको कला संस्कृति र विज्ञान हो ।
परिभाषा
१. “सर्वे रोग मल बसः लंघनम् परमौषधम्” अर्थात सम्पूर्ण रोगहरु शरीरमा संकलित मल वा विजातिय द्रव्यमा बस्छन् र लंघनम् वा उपवास मल संचयका कारणले हुने रोगहरुको लागि सर्वोच्च औषधि-परम औषधि हो ।
२. हर्वट एम शेल्टनका अनुसारः उपवासभन्नाले शरीरका विभिन्न अंगहरुलाई आराम दिने उद्देश्यले पूर्ण रुपमा कुनै पनि प्रकारका आहार नलिएर ती अड्डहरुको शोधन हुन दिनु हो ।
३. हेरवार्ड क्यारिड्ढटनका अनुसारः उपवास भन्नाले लामो वा छोटो समयका लागि कुनै पनि प्रकारको आहार ग्रहण नगर्नु हो । प्रसिद्ध अमेरिकी प्राकृतिक चिकित्सक डा. हेनरी लिण्डार उपबासलाई शरीरमा संकलित विषाक्त पदार्थ अथवा विजातिय पदार्थ निष्कासनको अचुक अस्त्र मान्नुहुन्छ भने अर्का अमेरिकी प्राकृतिक चिकित्सा डा. एलेन उपबासलाई रोगको रोकथाम उपचार स्वास्थ्यको रक्षा र दीर्घजीवनको सूत्रको रुपमा मान्नुहुन्छ ।
उपबासको वर्गीकरण
उपबासको वर्गीकरण विभिन्न आधारहरुमा गरिएको छ ।
१. उद्देश्यको आधारमा उपबासलाई
क) उपचारात्मक उपबास
ख) धार्मिक उपबास
ग) राजनीतिक उपवासगरेर ३ समूहमा वर्गीकृत गरिएको छ ।
क) उपचारात्मक उपवास
उपचारात्मक उपवास भन्नाले रोगीको रोगोपचार गर्ने उद्देश्यले वा स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा गर्ने हेतुले चिकित्सकको निर्देशनमा गरिएको उपबासलाई उपचारात्मक उपवास भनिन्छ ।
ख) धार्मिक उपवास
धार्मिक उपवासगर्ने चलन संसारका लगभग सबै धर्महरुमा विद्यमान छन् । धार्मिक लक्ष्य प्राप्ति प्रभू भक्ति एवम् आध्यात्मिक सधनाको उद्देश्यले गरिएको उपबासलाई धार्मिक उपवास भनिन्छ ।
धार्मिक उपवासगर्दा प्रायजसो दिउँसो नसुत्ने, दैनिक स्नान गर्ने, मन एकाग्र पार्ने, प्रार्थना पूजा गर्ने, अहिंसा सत्य अस्तेय ब्रह्मचर्य, दया, माया, क्षमा, घृति जस्ता विश्वव्यापी धर्म अवलम्बन गर्ने आदि नियम हुन्छन् । धार्मिक उपवासगर्दा व्यक्तिगत रुपमा मन एकाग्र हुने, ध्यान, शान्ति प्राप्त हुन्छ भने सामाजिक रुपमा सामाजिक समस्तता बढ्ने अपराध घट्ने भाइचारा एवम् विश्वबन्धुत्वको भावना बढ्ने जस्ता लाभ मिल्दछ ।
ग) राजनैतिक उपवास
राजनैतिक उदेश्य पूर्तिका लागि गरिएको उपवास लाइ राजनैतिक उपवास भनिन्छ । माहात्मा गान्धी, बी. पी. कोइराला, डा. गोविन्द के. सी.ले गरेको उपवास राजनैतिक उपवास हुन् ।
२) उपवासगर्ने तरिकाको आधारमा उपबासलाई
क) निराहार
ख) जलाहार
ग) रसाहार
घ) फलाहार
ङ) कल्प गरेर ५ समूहमा वर्गीकृत गरिएको छ ।
क) निराहार
पानी पनि नपिईकन गरिएको उपबासलाई निराहार उपवासभनिन्छ । तर, स्वास्थ्यका दृष्टिले निराहारलाई अत्यन्त हानिकारक मानिन्छ ।
ख) जलाहार
जलाहारमा केवल जल मात्र पिएर बस्ने गरिन्छ । जलाहार गर्दा पर्याप्त मात्रामा जल लिनु पर्ने हुन्छ । जलाहार पनि धेरै लामो समय बस्नु हुन्न ।
ग) रसाहार
फलफूल वा सागसब्जीहरुको रस वा सूपमा उपवास बस्नुलाई रसाहार भनिन्छ । रसाहार स्वास्थ्यका दृष्टिले सबैभन्दा उत्तम उपवासहो ।
घ) फलाहार
फलफूल वा सागसब्जीहरुको मात्र सेवन गरेर उपवास उपवास बस्नुलाई फलाहार भनिन्छ ।
ङ) कल्प उपवास
एकै प्रकारको वा एउटै वस्तुको सेवन गरेर गरिएको उपबासलाई कल्प भनिन्छ । कल्प पनि न्यायपूर्ण तरिकाले चिकित्सकको निर्देशनमा गर्नु पर्दछ । स्वास्थ्य लाभका दृष्टिले कल्प पनि उत्तम साधन हो ।
३) समयावधिको आधारमा उपबासलाई
क) छोटो अवधिको उपबास
ख) मध्यम अवधिको उपबास
ग) लामो अवधिको उपवासगरेर ३ समूहमा वर्गीकृत गरिएको छ ।
क) छोटो अवधिको उपवास
१–२ देखि ३ दिन सम्मको लागि गरिएको उपबासलाई छोटो अवधिको उपवास भनिन्छ । छोटो अवधिको उपवासजस्तै रुघा खोकी, ज्वरो, पखला, घाउखटिरा आदि आउँदा दिने गरिन्छ । छोटो अवधिको उपवासहप्ताको १ पल्टसम्म गर्न सकिन्छ ।
ख) मध्यमावधिको उपवास
३ देखि ७ दिन सम्मको उपबासलाई मध्यमावधिको उपवास भनिन्छ । मध्यम अवधिको उपवास वर्षको २ पल्ट भन्दा धेरै गर्नु हुँदैन ।
ग) लामो अवधिको उपवास
७ दिन भन्दा लामो उपबासलाई लामो अवधिको उपवास भनिन्छ । उपबासको समयावधि बिरामीको अवस्था हेरेर निर्धारण गरिन्छ ।
उपवासमा उप-पाचन (Metabolism During Fasting )
उपवासको समयमा शरीरको उपपाचन (Metabolism) क्रियामा ठूलो असर पुग्दछ । यसको सुरुवात सर्वप्रथम रगतको ग्लुकोजको उपपाचनबाट सुरु हुन्छ । उपवास गरेको ८ घण्टा भित्र रगतको ग्लुकोजको उपयोग शरीरले गरिसक्छ र रगतको ग्लुकोजको मात्रा कम भइसके पश्चात शरीरले उर्जा प्राप्तिको लागि ग्लाइकोजनेको उपयोग गर्न थाल्दछ । ग्लाईकोजन पनि ३० घण्टामा सकिन जाने भएकाले तत पश्चात् चिल्लो पदार्थको वा लिपिडको उपयोगद्वारा शरीरले उर्जा प्राप्त गर्न थाल्दछ । शरीरभर संचित लिपिडको आधारमा धेरै दिन सम्म चिल्लो पदार्थले शरीरलाई उर्जा प्रदान गर्दछ । चिल्लो पदार्थको भण्डार खाली भए पछि भने शरीरमा थुप्रै उपापचयी परिवर्तनहरु देखा पर्दछन् र त्यस पछि प्रोटिनको उपपाचनद्वारा शरीरले उर्जा लिन थाल्दछ । उपचारात्मक उपवासलाई हामीले सदैव चिल्लो पदार्थको उपपाचन सम्म मात्र सिमित राख्नु पर्दछ । त्यो भन्दा माथि गएको खण्डमा उपवासले लाभ भन्दा हानीनै ज्यादा पु~याउदछ ।
उपवास गर्ने विधि
एक दिने उपवास घरमै पनि गर्न सकिन्छ तर एक दिन भन्दा माथिको उपवास गर्नको लागि प्राकृतिक चिकित्सालयमा जानु पर्नेहुन्छ । चिकित्सालयमा चिकित्सकले सर्वप्रथम उपवास कर्ताको स्वास्थ्य परिक्षण गर्छन । पूर्ण स्वास्थ्य परिक्षण पश्चात कति दिनको कस्तो किसिमको उपवास गर्ने हो आदिको निक्र्योल गरेर उपवास कर्तालाई यसै अनुरुपको परामर्श दिइने गरिन्छ । उपवास गर्नु पूर्व नै उपवासकर्तालाई उपबासको फाइदा, बेफाइदा उपवासले स्वास्थ्यमा पार्ने प्रभाव उपवासको आवश्यकता उपवासको क्रममा उत्पन्न हुने समस्या आदिको बारेमाा बताइन्छ । यी सबै सुनेर उपवासकर्ता आफ्नो उपबास गर्न इच्छुक भएमात्र उपबास गराउने गरिन्छ । उपवास बस्ने अघिल्लो दिन उपवास कर्तालाई सामान्य खाना खान दिइन्छ ।
उपवास सुरु भएपछि उपवासको प्रकृति अनुरुपको जल, फलको रस वा सुप आदि मात्र खान दिएर राखिन्छ । यसरी भोकै बस्न सुरु गरिसके पछि टाउको दुख्ने, ज्वरो आउने, रुघा मर्की लाग्ने, पखाला चल्ने जस्ता आपदाहरु पनि आई पर्दछन् । यी आपदाहरुलाई पनि प्राकृतिक रुपमै व्यवस्थित गर्नु पर्ने हुन्छ । उपवासको दौरान दिनै पिच्छे एनिमा लिने, माटोको पेडु र अक्षि पट्टि लिने, चिसो कटिस्नान मालिस जस्ता प्राकृतिक उपचार लिइरहनु पर्ने हुन्छ । उपवासको पहिलो दुई दिन सम्म छटपटि पनि हुन सक्छ तर यो छटपटि र असहजतालाई दृढ आत्म शक्तिले चिर्नु पर्ने हुन्छ । दुई दिन पछि भोक हराउछ, छटपटि र बेचैनी पनि बिस्तारै कम हुन्छ र पुनः भोक नलागुन्जेल सम्मका लागि उपवासलाई जारी राख्नु पर्ने हुन्छ । पुनः भोकलागे पछि र उपवास पूर्ण भएका अन्य लक्षण र चिन्हहरु प्रकट भए पछि उपवास तोडिन्छ ।
कसरी तोड्ने उपवास
उपवास तोड्नका लागि सर्वप्रथम उपवास पूर्ण भएको चिन्ह र लक्षणहरुको अवलोकन गर्नु पर्ने हुन्छ । उपवास पूर्ण भएको मुख्य लक्षण भनेको उपवास गर्दाको दोस्रो दिनदेखि लुप्त भएको भोक पुनः फर्किएर आउनु हो । यसका अलावा जिब्रोमा रातोपन, आँखामा चमक, मुहारमा कान्ती, शरीरमा फुर्ती आदिको आगमनलाई उपवास पूर्ण भएको लक्षण मान्न सकिन्छ । यी लक्षणहरुको प्रकटिकरण सँगसँगै हामीले उपवास तोड्नु पर्ने हुन्छ । उपवास तोड्दा कहिले पनि ठोस भोजन, उच्च क्यालोरीको तरल वा गरिष्ठ खाद्यबाट तोड्नु हुँदैन । सदैव उपवास फलको ताजा रसबाट तोड्नु पर्ने हुन्छ । लामो समय सम्म भोकै बस्नुपर्ने भएकोले आत सुकेको हुन्छ । यस्ता अवस्थामा जुसै पनि उच्च क्यालोरीको हुनु हुँदैन । कम क्यालोरीको पातलो आधा ग्लास जुस थोरै मात्रामा लिएर उपवास तोड्नुपर्ने हुन्छ ।
उपवास तोडेको दिनै भरि १-१ घण्टाको फरकमा थोरै मात्रामा ताजा फलको जुस लिनु पर्ने हुन्छ । उपवास तोडेको दोस्रो दिन कोमल फलफूलको सेवन गर्नु पर्छ । फलफूल पनि अत्यन्तै न्यून मात्राबाट सुरु गरेर मात्रा बढाउँदै लाग्नु पर्ने हुन्छ । कोमल फलफूल दिन भरीमा ५०० ग्राम भन्दा धेरै खानु हुँदैन । उपवास तोडेको तेश्रो दिन अल्ली साह्रा प्रकृतिका फलफूल खान सकिन्छ । उपवास तोडेको चौथो दिन खिचडी वा जाउलो खान सकिन्छ र पाचौँ दिन मात्र सामान्य खाना खान सकिन्छ । उपवास तोड्दा पनि प्रयाप्त पानीको सेवनलाई जारी राख्नुपर्ने हुन्छ ।
उपवासका फाइदाहरु
१. उपवास गर्दा सबैभन्दा धेरै फाइदा पाचन अंगहरुले पाउदछ । शरीरले पाचनश्रमबाट फुर्सत पाउदछ । उपवासका दौरान पाचन अंगहरुको शोधन र निर्विषीकरण पनि हुन पुग्दछ । पाचन अंगहरुले आराम पाउने भएकाले यसै अवस्थामा पाचन अंगका घाउहरुले पनि निको हुने अवसर पाउदछ । उपवासले आन्द्राहरुको मांशपेशीहरुको तानलाई पनि सुचारु राख्दछ ।
२. उपवासले मुटुको कार्यभारलाई पनि निकै कम गर्दछ । मुटु एवं रक्तनलीको स्वास्थ्यलाई सुदृढ बनाउदछ ।
३. उपवासले फोक्सोको कार्यक्षमतालाई पनि बढाउदछ । उपवासको समयमा फोक्सोको सम्पूर्ण कफ एवं म्यूकसहरुको विशोषण हुन्छ ।
४. उपवास गर्दा स्नायू प्रणालीले पनि पूर्ण आराम पाउदछ । उपवासले कर्मेन्द्रिय एवं ज्ञानेन्द्रियहरुलाई पनि सुदृढ गर्दछ । यसले स्वचालित स्नायू तन्त्रलाई अझ व्यवस्थित गर्ने र उच्च मानसिक कार्यहरुलाई पूर्ण व्यस्थित बनाउन मद्दत पु~याउदछ ।
५. उपवासले अन्तश्रावी तन्त्रमा पनि ठूलो असर पार्दछ । उपवास गर्दा विशेषतः T3 र T4 को स्तर घट्दछ भने Epinephrine र Glucocorticoid को रक्त स्तर हल्का बढ्दछ ।
६. उपवास प्राकृतिक प्रभावकारी एवं कम खर्चीलो उपाचार र विधि हो ।
७. शारीरिक तन्दुरुस्तिलाई बरकरार राख्न मद्धत गर्दछ ।
८. खानामा सन्तिुष्टि प्रदान गर्दछ ।
९. उपपचय क्रियालाई प्रोत्साहन पु~याउदछ ।
१०. छोटो समयमा मनग्ने बोसो घटाउने महत्वपूण विधि हो ।
११. ईन्सुलिन ग्रहणशिलतालाई बढाउदछ ।
१२. आत्म अनुशासनको सर्वोत्तम उपाय हो । उपवास गर्दा आध्यात्मिक शक्तिको जागरण हुन्छ ।
१३. रक्तचाप घटाउदछ ।
१४. ब्लड ग्लूकोज (सुगर) लाई ब्यावश्थित तुल्याउदछ ।
१५. रगतको चिल्लो पदर्थलाई कम गर्दछ ।
१६. असल कोलेस्टेरोल लाई बढाउदछ । खराब कोलेस्टेरोल लाई घटाउदछ ।
१७. बुढ्यौलीलाई चाडै आउन दिदैन । दीर्घायु प्रदान गर्दछ ।
१८. ईन्फ्लामेसनलाई कम गर्दछ ।
१९ अक्सिडेटीभ स्ट्रेसलाई कम गर्छ ।
२०. कोषहरुको विभाजनलाई अनियन्त्रित हुन दिदैन ।
२१. तनाव कम गर्छ ।
२२. खराव प्रोटीनको उत्पादन कम गर्दछ ।
२३. चोट पटक ठिक हुन मद्धत गर्दछ ।
२४. शरीर शोधन गर्ने महत्वपूर्ण अस्त्र हो । उपवास पछि शरीर शुद्ध, सफा र स्वच्छ बन्छ। स्वस्थ बन्छ । शरीर स्वस्थ बनेपछि मन पनि स्वस्थ बन्छ ।
२५. विजातिय पदार्थहरुको निष्काशनमा महत्वपूर्ण भूमिका अदा गर्ने हुदाँ मल निष्काशनलाई बढाउदछ ।
२६. अनेकौ असाध्य रोगहरुमाथि विजय प्रप्त गर्ने महत्वपूर्ण अश्त्र हो ।
२७. उपवासले मनलाई शान्त बनाउछ, भावनालाई बसमा राख्न मद्धत गर्दछ, एकग्रता ध्यान लय आदिको उदय गराउदछ ।
उपवासका बेफाइदाहरु
१. खाना त्याग गर्दाका लक्षणहरु (Food withdrawal symptom) देखा पर्न सक्छ ।
२. असहजता हुन सक्छ
३. एलर्जी हुन सक्छ
४. कुपोषण हुन सक्छ ।
५. उपवास अनियन्त्रित हुनसक्छ ।
उपवासको निर्देशन
मोटोपन, ज्वरो, कोलेस्टेरोल बढ्नु, मनोशारीरिक रोग, डर, चिन्ता, तनाव, उदासिनता जास्ता न्यूरोसीस, मादक पदार्थको लत, ध्रूम्रपानको लत, आलस्यपन, आर्थराइटिस, अस्थमा, उच्च रक्तचाप, अश्वभाविक थकान, कोलाइटिस, स्पास्टिक कोलन, इरिटेबल बवेल सिन्ड्रोम, कब्जियत, टाउको दुखाइ, जोर्नीको दुखाइ, अवसाद, अनिन्द्रा, दम, रुघामर्की, खोकी, ब्रोङ्गकाईटिस, पिनास, घाटिको खसखस, घुर्ने समस्या, मृर्गौलाको समस्या, अम्लपित्त, अपच, अजीर्ण, कब्जीयत, आउ, मासी, कामला, टाउको दुख्ने, माइग्रेन, मुखमा घाउ खटिरा आउने, श्वास गन्हाउने, फ्यारेन्जाइटिस, ल्यारेन्जाइटिस, टन्सीलाईटिस, दाद, लुतो, एलर्जी, डण्डीफोर, सोरियासिस, महिनाबारीको गडबडी, यूटेराइन फाईब्रोइड, पोलिसिष्टिक ओभरी, हारमोन हरुको गडबडी, आत्मघाति प्रतिरक्षा प्रणाली आदि ।
उपवासका निषेध
कुपोषण, दुर्वलता, उपवासको डर, उपवासको बारेमा पूण जानकारी नपाएकाहरू, यूरिक एसिडका रोगी हरू, जटिल मधुमेह, जटिल मृगौलाको रोग, केहि क्यान्सर, खानपानका समस्या भएकाहरू, बच्चालाई दुध चुसाइरहेकी आमा, बढ्दैगरेका बच्चा, गर्भवति स्त्री, मुटुको चाल गडबड भएकाहरू, ठूलो चोटपटकमा परेकाहरू, साल्यक्रिया गर्न गइरहेकाहरू र गरिसकेकाहरू, दुर्बल ह्दय भएकाहरू, मानसिक रोगीहरू, निम्न रक्तचाप आदि ।
*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।
यो पनि पढ्नुहोस