नवरात्रका नौ दिनहरु र यिनीहरुको वैज्ञानिक र धार्मिक महत्व
नवरात्रका नौ दिनहरु र यिनीहरुको वैज्ञानिक र धार्मिक महत्व ! बडादशैं नेपालीहरुको महान चाड हो । दशै नेपालको वार्षिक क्यालेन्डरमा सबभन्दा लामो र सबैभन्दा धेरै शुभ पर्व हो, जुन देशभरिका सबै जाति र हिन्दु धर्मका नेपालीहरूले मनाउँछन् । राष्ट्रिय चाड दशैं हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौं दिन विहान दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरुको हातबाट टीका-प्रसाद ग्रहण गरेर विशेष रुपमा पुर्णिमासम्म मनाउने गर्छन् । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ ।
हिन्दुहरुको महान् चाड दशैंको नवरात्रमा प्रतिपदादेखि नवमीसम्म नौवटी देवीहरु शैलपुत्री, व्रह्मचारणी, चन्द्रघन्टा, कुशमन्दा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा-आराधना गरिन्छ । यी देवीहरूलाई नवदुर्गाको नामले पुकारिन्छ । नौ दिनसम्म नवदुर्गा भवानी नौवटा विभिन्न स्वरूपमा उपासकहरूलाई दर्शन दिनुहुन्छ भन्ने कथन छ । यसैले भक्तजनहरू आफ्नो मनको इच्छा पूरा हुने उत्कट अभिलाषाले यस नवरात्रमा नवदुर्गा अर्थात् माता भगवतीको नौ रूपको पूजाआरधना गर्बे गर्छन । विजयादशमीको दिन भगवतीले दानवी शक्तिमाथी र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्यमा र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ ।
१. पहिलो दिन – शैलपुत्री
नवरात्रको पहिलो दिन शैलपुत्री नामक दुर्गाको पूजा गर्ने परम्परा छ । शैलपुत्री भनेको पहाडकी छोरी हो । पहाडकी छोरी भन्नाले यस शक्तिलाई पृथ्वीतत्वको प्रतीकको रूपमा लिन सकिन्छ । हाम्रो स्थूल शरीरको निर्माणमा पृथ्वी तत्वको विशेष स्थान रहेको छ । शैलपुत्रीको उपासना गर्नु भनेको प्रतीकात्मक रूपले सोही स्थूल शरीरको संरक्षणको प्रयास हो भनेर बुझ्नुपर्ने हुन्छ ।
२. दोस्रो दिन – ब्रह्मचारिणी
नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी शक्तिको उपासना हुन्छ । ब्रह्मचारिणी भनेको ब्रह्मचर्य अर्थात् मेधा शक्तिको प्रतिनिधि स्वरूप हो । शरीरलाई मौसम अनुसार स्वस्थ रहन सदैव ब्रह्मचर्यको कति आवश्यकता पर्दछ भनिरहन पर्दैन । ब्रह्मचारिणी शक्तिको उपासनालाई सोही मेधाशक्ति संरक्षणको प्रयासको रूपमा लिइन्छ ।
३. तेस्रो दिन – चन्द्रघण्टा
नवरात्रको तेस्रो दिन चन्द्रघण्टा शक्तिको उपासना हुने कुरो माथि प्रस्ट भइसकेको छ । चन्द्रघण्टालाई शब्दशक्ति अर्थात् आकाश तत्वको प्रतीकको रूपमा लिन सकिने प्रशस्त आधार भेटिन्छ । शरीरलाई व्यावहारिक बनाउन शब्दशक्तिको पनि त्यति नै आवश्यकता पर्दछ । चन्द्रघण्टाको उपासनाले पनि यथार्थमा यही नै वकालत गरिरहेको प्रस्टै अनुभूत गर्न सकिन्छ ।
४. चौथो दिन – कुष्माण्डा
नवरात्रको चौथो दिन कुष्माण्डा शक्तिको उपासना हुन्छ । कुष्माण्डा भनेको कुभिण्डो अर्थात् वनस्पति जगतको प्रतिनिधि स्वरूप हो । यसको उपासनाबाट मानिसको खाद्य आहार समग्र वनस्पति जगतलाई नै रसिलो, स्वादिलो र पोसिलो बनाउन खोजेको देखिन्छ ।
५. पाँचौ दिन – स्कन्दमाता
नवरात्रको पाँचौ दिन स्कन्दमाता शक्तिको उपासना गरिने प्रावधान छ । स्कन्दमाता भन्नाले वनस्पति जगतको पनि अधिष्ठात्री शक्ति भन्ने बुझिन्छ । यस्तो परिप्रेक्ष्यमा स्कन्दमाता शक्तिको उपासना भनेको सोही वनस्पति जगतको अधिष्ठात्री शक्तिलाई नै मजबुत बनाउने प्रयास नभएर के नै होला र ।
६. छैटौ दिन – कात्यायनी
छैटौ दिन पूजा हुने कात्यायनी शक्तिलाई विद्या तत्व मानिन्छ ।
७. सातौं दिन – कालरात्री
सातौं दिन पूजा गरिने कालरात्री शक्तिलाई अज्ञान, अन्धकार र मोहनाशक शक्तिको रूपमा लिन सकिन्छ । जीवनलाई स्वस्थ र फुर्तिलो पारी सदैव अग्रगति प्रदान गर्न यी तत्वको आवश्यकता कति पर्दछ त्यो आफैंमा नै प्रस्ट छ ।
८. आठौ दिन – महागौरी
आठौ दिन पूजा गरिने महागौरीलाई बुद्घि तत्व मानिन्छ ।
९. नवौं दिन – सिद्घिदात्री
नवौं दिन पूजा गरिने सिद्घिदात्री शक्तिलाई गरिएको कामलाई सफल बनाउने शक्ति वा कार्य सफल भएको अवस्थाको प्रतीकको रूपमा लिन सकिन्छ । आखिर विद्या र बुद्घिले समन्वित भई अज्ञानको अँध्यारोबाट माथि उठ्न सकिएको अवस्थामा नै काममा सफलता अर्थात् सिद्घि पाउन सकिने व्यावहारिक यथार्थकै कुरो पनि हो ।
*कुमारवर्ति हेल्थ क्लिनिकमा कार्यरत मेडिकल अफिसरको रुपमा कार्यरत डा. राजन पौडेलले फिलिपिन्सको भर्जिन मिलाग्रोसा युनिभर्सिटी फाउन्डेशनवाट सर्जरीमा स्नातक तथा एमडी गर्नुभएको हो ।
Like & Follow us on Facebook
यो पनि पढ्नुहोस्
मुटु रोगको कारण र यस सम्वन्धी चेतना
चक्कर लाग्नुको कारणहरु र निदानको लागि सुत्रहरु