मुख्य समाचार

ग्लोबल टाइम्सले दियो चीनलार्इ परमाणु हतियार बनाउन सुझाव

एजेन्सी, मंसिर २५, शनिवार । ग्लोबल टाइम्सले दियो चीनलार्इ परमाणु हतियार बनाउन सुझाव ! ‘ग्लोबल टाइम्स’ चीनको सत्तारूढ कम्युनिस्ट पार्टी निकट पत्रिका हो । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएकाले उक्त पत्रिकाले चीनले सैन्य खर्च बढाउनुपर्ने र परमाणु हतियार वृद्धि गर्नुपर्ने सुझाव आफ्नो सम्पादकीयमा उल्लेख गरेको छ ।

ट्रम्पले चीनलाई एकल्याउने कोसिस गरिरहेकाले राष्ट्रिय स्वार्थका लागि रणनीतिक परमाणु हतियार बनाउन आवश्यक भएको सुझाव दिएको छ । चीनले डिएफ–४१ अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र तैनाथ गर्नुपर्नेमा जोड दिएको छ । अंग्रेजी र चिनियाँ दुवै भाषामा प्रकाशित लेखमा ‘सन् २०१७ मा चीनले सैन्य खर्च निकै बढाउनु आवश्यक छ’ भनिएको छ ।

सम्पादकीयमा उल्लेख छ, ‘हामी ताइवानका विषयलाई लिएर पनि सैन्य रूपले उच्चस्तरीय हुनु आवश्यक छ । यसबाट स्वतन्त्र ताइवानको माग गर्नेलाई कारबाही गर्न सकिनेछ’ । दक्षिण चीन सागरमा अमेरिकाको भड्काउपूर्ण व्यवहारबाट सावधान हुन सहज हुने उल्लेख छ ।

यसअघि ट्रम्पले सुरक्षाका विषयमा यदि अमेरिकाले कसैको सुरक्षा गर्छ भने त्यसको सट्टा रकम भुक्तानी गर्नुपर्ने उनले बताएका थिए । उक्त पत्रिकामा ‘चीनले ट्रम्पलाई पैसा पनि नदिने र त्यसको साटो उक्त रकम परमाणु हतियार बनाउन खर्च गर्ने’ उनको भनाइ छ । चीनले आफ्नो अन्तरमहाद्वीपीय ब्यलिस्टिक मिसाइल डिएफ—४१ तैनाथ गर्नुपर्ने उनले स्पष्ट पारेका छन् । यो सातामात्रै ट्रम्पले दुईपटक चीनलाई भड्काउने खालका प्रतिक्रिया दिइसकेका छन् ।

चुनाव जितेपछि ट्रम्पले ताइवानी राष्ट्रपतिलाई फोन गरेका थिए । यसको चीनले कडा विरोध गरेको थियो । चिनियाँ विदेशमन्त्री वाङ यीले यस्तो व्यवहार नगर्न अमेरिकालाई चेतावनी दिएका थिए । अमेरिकाले ‘एक चीन’ नीतिमा प्रतिबद्धता जनाइसकेकाले यस्ता गतिविधि गर्न नहुने चीनको दाबी थियो ।

चीनले ताइवानलाई आफ्नो भूभाग ठान्छ । चिनियाँ सञ्चारमाध्यले ट्रम्पलाई कूटनीतिमा अनुभव नभएको भन्दै आलोचना गर्दै आएका छन् । कुनै पन पक्षले एक चीनको नीतिविरुद्ध कार्य गरे त्यसको बदला लिने पनि चीनको स्पष्टोक्ति छ । आँखाको बदला आँखा नीति अँगाल्न चीन बाध्य हुने उनको चेतावनी थियो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!