मुख्य समाचार

‘राष्ट्रिय विज्ञान दिवस’ २०७६ को मूल समारोह समितिको मुख्य कार्यक्रम भव्यताका साथ सम्पन्न

असोज १, काठमाडौँ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज असोज १ गते ‘राष्ट्रिय विज्ञान दिवस’ २०७६ को मूल समारोह समितिको मुख्य कार्यक्रम राष्ट्रियसभा गृह, भृकृटीमण्डपमा भव्यताका साथ् सम्पन्न भएको छ । यस वर्षको राष्ट्रिय बिज्ञान दिवसको नारा “विज्ञान, प्रविधि र नवप्रवर्तन : सामाजिक आर्थिक रुपान्तरण” भन्ने रहेको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अथिति, पूर्व प्रधानमन्त्री झलनाथ खनाल विशेष अथिति, पूर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह अथिति, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ अथिति, राष्ट्रिय योजना आयोगकी सदस्य डा. उषा झा अथिति तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचीवद्वय डा. संजय शर्मा र महेश कुमार दाहाललाई पनि मन्चमा आशन ग्रहण गराईएको थियो। उक्त समारोहमा समृद्ध नेपालको लक्ष्य अनुकूल ‘राष्ट्रिय विज्ञान तथा नव-प्रवर्तन नीति, २०७६’ पनि सार्वजनिक गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिलाई उत्पादनसँग जोडेर ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूर्तिमा सघाउन वैज्ञानिकहरुलाई आग्रह गर्नुभएको थियो । उहाँले वीर र विद्वान् पूर्खाका सन्तान रहेको, प्राकृतिक रुपमा सम्पन्न मुलुकलाई पछाडि पर्नुपर्ने आवश्यकता छैन । उहाँले विज्ञान प्रविधिलाई आत्मसात गरी पुराना पाराले नभई आजको आधुनिक समाज अनुकूल उत्पादनसँग प्रविधिलाई जोडेर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउँदै अब अल्मलिने समय नभएको उल्लेख गर्नुभयो । उहाँले विज्ञानका क्षेत्रलाई बजेट थपेर काम गर्ने वातावरण दिनुपर्ने भएकाले सरकारले त्यो उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै थप्नुभयो । हाम्रो परम्परा अन्धविश्वासी होइन वैज्ञानिक र प्रयोगात्मक हो । यस परम्परालाई आधुनिक प्रविधिसँग जोडेर उन्नत समाज विकासमा लाग्नुपर्छ भन्नुभयो ।

समारोहमा पूर्व प्रधानमन्त्री झलनाथ खनालले विज्ञान र प्रविधिको क्षेत्रलाई वर्तमान सरकारले प्राथमिकता दिएकाले आफ्नो विवेक र क्षमताको उच्चतम् प्रयोग गरी राष्ट्र निर्माणमा लाग्न आग्रह गर्नुभयो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले नेपाल-भारत सीमा क्षेत्र सुस्ता र कालापानीमा बैज्ञानिक ढङ्गले सीमाकंन गर्नुपर्ने प्रस्ताव गरेका छन् । वरिष्ठ नेता खनालले राणा र पञ्चायतले विज्ञान र प्रविधिको विकासलाई रोकेका कारण नेपाल पछाडि परेको टिप्पणी गरेका छन् । राणाहरुले विज्ञानलाई महत्व दिँदैनथे । पञ्चायतले जनतालाई सूचनाको पहुँचमै जान दिएन । पछि राजतन्त्रले पनि नेपाललाई विज्ञान र प्रविधिको विकासमा अगाडि बढाउन बाधा पुर्यायो’ नेता खनालले भन्नुभयो । हामी विज्ञानको क्षेत्रमा प्रगति गर्न सक्छौं । अरुले गरेका विकासबाट पनि लाभ लिन सक्छौं । उहाँले कृषि उत्पादन बढाउन, विभिन्न रोगको निदान गर्न, मौसमको सही अनुमानका लागि समेत नयाँ प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले क्यालेण्डर बनाएरै विज्ञान र प्रविधिको विकासमा लाग्ने प्रतिवद्धता जनानुभयो । ‘विज्ञान र प्रविधिको विकास सरकारको उच्च प्राथमिकतामा छ । यसलाई क्यालेण्डर बनाएरै अगाडि बढाउन मन्त्रालय तयार छ’ उहाँले भन्नुभयो । नेपाली जीवन पद्धतीलाई नै वैज्ञानिक बनाउन आवश्यक रहेको उल्लेख गर्दै मन्त्री पोखरेल भन्नुभयो, ‘रुढीवादी सोचलाई रोक्न पनि वैज्ञानिक जीवनपद्धती आवश्यक हुन्छ । त्यसका लागि अभियानै पनि चलाउनुपर्ने हुन सक्छ ।’ एसईईको नजितामा गणित र विज्ञान विषयमा विद्यार्थीहरु कमजोर देखिएको उल्लेख गर्दै भन्दै पोखरेलले विद्यालय तहमै गणित र विज्ञानप्रति बिद्यार्थीमा रुची बढाउनुपर्नेमा त्यसो गर्न नसकिएको स्वीकार गरे । ‘घर जगदेखि नै बलियो बनाउने हो । यसमा सचेत छौं र विद्यालय तहदेखि नै यसमा केही गर्ने योजना बनाएका छौं’ उनले भने ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा सुनीलबाबु श्रेष्ठले विश्व नवप्रवर्तन सूचक (जिआइई) मा नेपाल १०९ औँ स्थानमा रहेकामा नवप्रवर्तनात्मक नीति र कार्यक्रममार्फत् यो स्थान तल ल्याउनुपर्ने बताउनु भयो । सो सूचीमा छिमेकी चीन १४ औँ र भारत ५२ औँ स्थानमा छ । सन् २०२१ मा विज्ञान प्रविधि र नवप्रवर्तन वर्ष मनाएर यस क्षेत्रलाई पुनः जागृत गराई नेपालको स्तरमाथि उठाउने प्रतिष्ठानको तयारी बताउनु भयो ।

उक्त कार्यक्रममा विज्ञान विषयमा सूचना सम्प्रेषण गरी उत्कृष्ठ उत्कृष्ठ विज्ञान पत्रकारको रुपमा छनौट भएकोमा २ जना पत्रकारहरुलाई पनि पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेहरुमा साइन्स इन्फोटेक डट कम डट एनपीका प्रधान-सम्पादक गोपाल भण्डारी र एबिसी टेलिभिजनकी समाचारवाचिका एवं प्रस्तोता सन्तोषी अधिकारीलाई सम्मान स्वरुप रु. १५ हजार राशिको पुरस्कार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गर्नुभयो । सो अवसरमा कक्षा १२ मा विज्ञान विषयमा उत्कृत अङ्क ल्याउने ७ प्रदेशका सामुदायिक र निजी विद्यालयका एक एक गरी १४ विद्यार्थीलाई पुरस्कृत गरियो ।

दिवसका अवसरमा बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जभेटरी, विज्ञान शिक्षक समाज, रोबोटिक्स एशोसिएशन लगायतले पनि विभिन्न प्रदर्शनी गरेको थियो । आज भएको कार्यक्रममा १२ वटा स्टलमा विभिन्न नयाँ प्रविधिहरु प्रदर्शनमा राखिएको थियो । रोबोटिक्स, एआई, आइओटी, थ्रिडि प्रिन्टिङ, अनलाइन भोटिङ मेसिनजस्ता नेपालमा नै विकास भएका प्रविधिहरु प्रदर्शन गरिएको थियो । साताव्यापी कार्यक्रम असोज ५ गतेसम्म चल्नेछ ।

प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा गठित संयुक्त सरकारले तत्कालिन वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को २०६९ मंसिर ८ गतेको बैठकले उक्त दिवस मनाउने निर्णय गरेको थियो । नेपालमा विज्ञान विषय मात्र पढाइने ‘अमृत साइन्स क्याम्पस’ स्थापनाको दिवसका अवसर पारेर सरकारले असोज १ गते उक्त दिवस मनाउने निर्णय गरेको थियो ।

देशका सबै वर्ग, समुदाय तथा पेसागत क्षेत्रका व्यक्ति तथा संस्थाहरूलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान पुर्याउने गरी परिचालन गर्ने तथा विज्ञान तथा प्रविधि विषयमा जनचेतना बढाउने, नीति निर्मातादेखि तल्लो तहका जनतासम्म यो प्रक्रियामा सक्रिय भूमिका निभाउने अवस्था सिर्जना गर्नका लागि सचेतनामूलक र अभियानमुखी काम गर्ने उद्देश्यले प्रत्येक वर्षको असोज १ गतेलाई राष्ट्रिय विज्ञान दिवसको रूपमा मनाइन्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

आज असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइदै

भोली असोज १ गते मनाइने राष्ट्रिय विज्ञान दिवसको कार्यक्रम तालिका

सातौँ ‘राष्ट्रिय विज्ञान दिवस’ २०७६ को सप्ताहव्यापी कार्यक्रमको तालिका

सातौँ राष्ट्रिय विज्ञान दिवस २०७६ को बारेमा पत्रकार सम्मेलनको आयोजना

यस्तो छ राष्ट्रिय विज्ञान दिवस-२०७६ को नारा

सरकारले असोज १ गते ‘राष्ट्रिय बिज्ञान दिवस’ भव्यताका साथ मनाउने

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!