मुख्य समाचारसमाचार

सरकारले असोज १ गते ‘राष्ट्रिय बिज्ञान दिवस’ भव्यताका साथ मनाउने

२४ भदौ, काठमाडौँ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो असोज १ गते ‘राष्ट्रिय विज्ञान दिवस’ राष्ट्र ब्यापी अभियानको रुपमा भव्यताका साथ मनाउने भएको छ । यस वर्षको राष्ट्रिय बिज्ञान दिवसको नारा “विज्ञान, प्रविधि र नवप्रवर्तन : सामाजिक आर्थिक रुपान्तरण” भन्ने रहेको छ ।

माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा ४३ सदस्य समिति गठन गरी असोज १ गते राष्ट्रिय बिज्ञान दिवस नेपालभरी मनाउने घोषणा सहित बैठक भाद्र १० र १७ गते सम्पन्न गरियो । नेपाल अधिराज्यभरिको सम्पूर्ण विज्ञान तथा प्रविधिमा सम्बन्धित संघ-संस्था, विद्यालय र सम्पूर्ण निकायलाई बिभिन्न कार्यक्रम गरी राष्ट्रिय बिज्ञान दिवसको दिन कार्यक्रम आयोजना गर्न आह्वान गरिएको थियो ।

कार्यक्रममा १२ वटा स्टलमा विभिन्न नयाँ प्रविधिहरु प्रदर्शनमा राखिनेछ । रोबोटिक्स, एआई, आइओटी, थ्रिडि प्रिन्टिङ, अनलाइन भोटिङ मेसिनजस्ता नेपालमा नै विकास भएका प्रविधिहरु प्रदर्शन गरिने बताइएको छ । कार्यक्रममा नेपालमा विज्ञानको विकासक्रम र नयाँ इमर्जिङ प्रविधिहरुको बारेमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन । यसैगरी विभिन्न प्रतियोगिताका उत्कृष्टहरुलाई सम्मानपत्र प्रदान गरिने जनाइएको छ । सोहि दिन नास्टले बिज्ञान तथा प्रविधिको अनुसन्धानमा काम गर्नेहरुको लागि एक महत्वपुर्ण पुरस्कारको समेत घोषणा गर्ने भएको छ ।

प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा गठित संयुक्त सरकारले तत्कालिन वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को २०६९ मंसिर ८ गतेको बैठकले उक्त दिवस मनाउने निर्णय गरेको थियो । नेपालमा विज्ञान विषय मात्र पढाइने ‘अमृत साइन्स क्याम्पस’ स्थापनाको दिवसका अवसर पारेर सरकारले असोज १ गते उक्त दिवस मनाउने निर्णय गरेको थियो ।

देशका सबै वर्ग, समुदाय तथा पेसागत क्षेत्रका व्यक्ति तथा संस्थाहरूलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान पुर्याउने गरी परिचालन गर्ने तथा विज्ञान तथा प्रविधि विषयमा जनचेतना बढाउने, नीति निर्मातादेखि तल्लो तहका जनतासम्म यो प्रक्रियामा सक्रिय भूमिका निभाउने अवस्था सिर्जना गर्नका लागि सचेतनामूलक र अभियानमुखी काम गर्ने उद्देश्यले प्रत्येक वर्षको असोज १ गतेलाई राष्ट्रिय विज्ञान दिवसको रूपमा मनाइन्छ ।

राष्ट्रिय विज्ञान दिवस–२०७६

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!