खानपानजीवनशैली

जान्नैपर्ने कुरा, खाना कसरी खाने ?

भनाई छ कि ”बिहानको खाना तिमी खानु, मध्यान्हको साथीसँग बाँढेर खानु र रातको खाना शत्रुलाई दिनु”। अहिलेका पुस्ता फास्ट फुडमा लोभिएका छन् । उनीहरु आफ्नो भान्साको खानामा होइन, बजारको खानामा अभ्यस्त छन् किनभने यो पुस्तालाई छिटो र मिठो खानेकुरा चाहिन्छ । राम्ररी चपाएर, आनन्दपूर्वक खाना खाने धैर्यता कहाँ छ र ?

जतिबेला कुनै खानेकुराको तलतल लाग्छ, हातैमा खानेकुरा आई पुग्नुपर्छ । यस्ता खानेकुरा उनीहरु उभिएरै सिध्याउँछन् । खानेकुरा कस्तो खाने, किन खाने प्रश्नहरुसँग उनीहरु अलमल गर्दैनन् । वस्, स्वादिलो चाहियो । जिब्रो लठ्याउने चाहियो ।

खानेकुरा किन सेवन गरिन्छ ? अघाउनका लागि ? पेट भर्नका लागि ? जिब्रोको तलतल मेट्नका लागि ? यी आशिंक कारण हुन् । मूल कारण भनेको शरीरलाई स्वस्थ्य एवं निरोगी राख्नका लागि हो किनभने शरीरले खानेकुराबाटै पोषकतत्व ग्रहण गर्छ । त्यही पोषकतत्वले हाम्रो शरीरलाई निरोगी, तन्दुरस्त राख्छ ।

तर, अहिलेका फास्टफुड पुस्तालाई पोषणयुक्त, सन्तुलित र सुपाच्य भन्दा पनि मिठोमसिनो चाहिन्छ । यही कारण सानै उमेरमा मोटोपनको समस्या देखापरेको छ । पाचन सम्बन्धी समस्या बढेको छ । अस्वस्थ्यकर खानपान र जीवनशैलीसँग सम्बन्धित समस्या बढेको छ ।

हाम्रो आफ्नै विशिष्ट खानपान शैली छन् । के खाने, कसरी खाने, कति खाने, कतिबेला खाने ? पूर्खाहरुले तय गरिदिएका छन् । अहिले खानपानप्रति सचेतहरुले त डाइट चार्ट बनाएरै सन्तुलित खानेकुरा सेवन गर्छन् । तर, हाम्रा फास्टफुड पुस्तालाई यी सबै कुरामा खास चासो र सरोकार छैन ।

खासमा हाम्रो खानपान शैली कस्तो छ त ?

खानपान शैली

हाम्रा पूर्खाहरुले खानाको शुद्धता र पोषणमा जोड दिएका छन् । खाना शुद्ध हुनका साथै पोषणयुक्त हुनुपर्छ । खाना खाइरहँदा अन्नदाता वा प्रकृतिप्रति कृतज्ञ हुनुपर्छ । प्रकृतिलाई धन्यवाद दिएर कृतज्ञ भावले खानेकुरा सेवन गर्नु राम्रो मानिन्छ ।

बिहानको खाना तिमी खानु, मध्यान्हको साथीसँग बाढेर खानु र रातको खाना शत्रुलाई दिनु

अहिलेका पुस्ता जहाँपनि बसेर खाना खाइरहेका हुन्छन् । टेलिभिजन हेर्दै खान्छन्, मोवाइल चलाउँदै खान्छन् । ओछ्यानमै ढल्किएर खान्छन् । खासमा खाना खाने ठाउँ पनि निश्चित हुन्छ । भान्सामा नै खानेकुरा सेवन गर्नुपर्छ । खानेकुरा सेवन गर्दा संभव भएसम्म घरका सबै परिवार संलग्न हुनुपर्छ ।

खाना खाने समय

अहिलेका फास्टफुड पुस्ता अबेरसम्म सुत्छन् । मध्य रातसम्म जागा रहन्छन् । उनीहरु मध्यान्ह खानेकुरा खान्छन् । रातभर पनि खाइरहन्छन् । जबकी हाम्रो पाचन यन्त्र सूर्योदयको दुई घण्टापछि बढी सक्रिय र प्रबल हुन्छ भने साँझ सूर्योअस्त अघिसम्म यो अवस्था रहन्छ । त्यसैले यही समय अवधिमा खानेकुरा सेवन गर्नु शरीरका लागि बढी लाभदायक हुन्छ ।

एउटा लोक उक्ति के पनि छ भने, ‘बिहानको खाना तिमी खानु, मध्यान्हको साथीसँग बाढेर खानु र रातको खाना शत्रुलाई दिनु ।’ यसको अर्थ बिहानदेखि रातीसम्म खानाको मात्रा क्रमश: घटाउँदै लानुपर्छ ।

कुन अवस्थामा खानेकुरा सेवन नगर्ने ?

१. हातमा राखेर, उभिएर खानेकुरा सेवन गर्नु राम्रो होइन ।

२. टुटेफुटेको भाँडावर्तनमा खानेकुरा सेवन गर्नु पनि ठिक होइन ।

३. दिसापिसाब लागेको बेला, कलहको माहौलमा खाना सेवन गर्नु हुँदैन ।

४. पस्किसकेको खानाप्रति कहिल्यै गुनासो गर्नु हुँदैन ।

५. ईष्या, भय, क्रोध, रोग, दीनभाव, द्वेषभावका साथ गरिएको भोजन पच्दैन ।

६. उभिएर, जुत्ता लगाएर खानेकुरा सेवन गर्नु पनि ठिक होइन ।

यस्तो खानेकुरा सेवन नगरौं

धेरै गरिष्ठ भोजन, अर्थात माछामासु, गेडागुडी, चिल्लो-चाप्लो लगायत धेरैथरीका परिकार एकसाथ सेवन नगरौं । धेरै तितो र धेरै गुलियो खानेकुरा सेवन नगरौं । अरुले छाडेको खानेकुरा सेवन नगरौं । अनादरयुक्त, अपहेलनायुक्त ढंगले पस्किएको खानेकुरा सेवन नगरौं ।

खाना खाइरहँदा के गर्ने ?

खाना खाएको समयमा मौन रहनुपर्छ । शान्त रहनुपर्छ । यतिबेला कुनैपनि समस्या, पीडाको चर्चा गर्नु हुँदैन । खानेकुरा एकदमै चपाएर सेवन गर्नुपर्छ । सबैभन्दा पहिला गुलियो, त्यसपछि नुनिलो र अन्त्यमा टर्रो खानेकुरा खानुपर्छ । सबैभन्दा पहिला रसिलो, त्यसपछि गरिष्ठ र अन्त्यमा द्रव्य पदार्थ ग्रहण गर्नुपर्छ । रातको समयमा थोरै खानुपर्छ । थोरै खानेकुरा सेवन गर्दा आरोग्य, आयु, बल, सुख, सुन्दरता बढ्छ ।

खानेकुरा खाइसकेपछि के नगर्ने ?

खाना खाएलगत्तै पानी वा चिया पिउनु हुँदैन । खाना खानसाथ दौड्नु, बस्नु, शौच क्रिया गर्नु हुँदैन । भोजन गरेपछि वज्रासनमा बस्नुपर्छ । त्यसके एक घण्टापछि मिठो दुध वा फल खानु राम्रो हो ।

के-के नखाने ?

राती दही, सातु, तील एवं गरिष्ठ भोजन नगरौं ।

दुधसँग नुनिलो, दही, टर्रो खानेकुरा सेवन गर्नु हुँदैन ।

साभार : Om Hospital & Research Center Pvt. Ltd. को फेसबुक पेजवाट

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

बेलुकी धेरै ढिलो खाना खाएमा स्वास्थ्यमा पर्ने प्रतिकुल असरहरु

खाना खाँदा अवलम्बन गर्नुपर्ने नियमहरू

पलेटी कसेर खाना खानुका फाइदाहरु

हातले खाना खानुका फाइदाहरु

खानापछि निद्रा किन लाग्छ ? 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!