नाष्टद्वारा ४ नयाँ पुरस्कारको स्थापना
१८ मंसीर, ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले विज्ञान र प्रविधिका क्षेत्रमा प्रतिभाको सम्मानका लागि ४ नयाँ पुरस्कार स्थापना गरेको छ । जस अनुसार रु दुई लाख राशिको ‘कुलपति राष्ट्रिय नव-प्रवर्तन पुरस्कार’, रु २५ हजार राशिको ‘महिला विज्ञान तथा प्रविधि पुरस्कार’ रु २५ हजार राशिको ‘विज्ञान शिक्षक पुरस्कार’(प्लस टु सम्म), रु २५ हजार राशिको उत्कृष्ट विद्यार्थी पुरस्कार (प्लस टु सम्म छात्र-१, छात्रा-१) पनि स्थापना गरेको सो नाष्टका सचिव डा. महेश कुमार अधिकारीले जानकारी दिनुभयो । ती पुरस्कार यही मङ्सिर २० गते प्रदान गरिनेछ ।
यसअघि स्थापना गरिएका सहित विभिन्न १६ पुरस्कारबाट २७ जना वैज्ञानिक तथा प्रतिभालाई पुरस्कार गर्न लागिएको हो । सरकारले केही महिना अघि ल्याएको राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, २०७६ मा प्रतिभाहरुको पहिचान, संरक्षण र प्रवद्र्धन गर्ने उल्लेख छ । प्रतिष्ठानको यही मङ्सिर १६ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलको अध्यक्षतामा सम्पन्न ४३ औं प्राज्ञसभा बैठकले ती पुरस्कार स्थापनाको प्रस्ताव पारित गरेको थियो । प्रतिष्ठानले आर्थिक वर्ष २०७६/०७७ को कार्यक्रम सञ्चालन गर्न रु ४३ करोड १८ लाखको वार्षिक कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ ।