सूचना प्रविधि

नेपालमा पब्जी खेललाई प्रतिबन्ध किन लगाइयो ?

पब्जी मोबाइल तथा कम्युटरमा अनलाइनमा खेलिने गेम हो । नेपाल सरकारले बिहीबार पब्जी खेलमाथि प्रतिबन्धको घोषणा गरेपछि सामाजिक सञ्जाल तरंगित बनेको छ भने पब्जी खेलमा भुल्नेहरु सरकारको निर्णयबाट स्तब्ध बनेका पनि छन् । नेपालमा पब्जी खेललाई प्रतिबन्ध लगाउनुपर्ने कारणहरु तल चर्चा गरिन्छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जी खेलमा प्रतिबन्ध लगाएको हो । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको आग्रहमा प्राधिकरणले बिहीबार इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने काम रोक्नका लागि निर्देशन दिएको छ । सरकारको निर्णय सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सुखद प्रतिक्रिया देखिएको छ । धेरैले सही कदम चालिएको प्रतिक्रिया दिएका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा गरियो पब्जी खेललाई प्रतिबन्ध

पब्जी खेल के हो ?

पब्जीका कारण विभिन्न खालका समस्या बढेको गुनासो आएपछि प्रतिबन्ध लगाइएको हो । पब्जी खेलका कारण विभिन्न घटना भएको भन्दै प्रहरीमा उजुरी परेका थिए । मोबाइल, पीसी र ल्यापटपमा समेत खेल्न मिल्ने भिडियो गेम पब्जीमा पछिल्लो समय धेरै किशोर र युवाहरुको लत नै लागिसकेको थियो । विश्वमा पब्जीका कारण हत्या, आत्महत्या, झगडा, मानसिक समस्या जस्ता असर देखिन थालेपछि नीति निर्माण तहमा समेत एउटा भिडियो गेमका बारेमा चर्चा हुन थाल्यो ।

हिंसालाई प्रोत्साहन गर्ने खेल पब्जीले एउटा पुस्ता नै बिगार्ने संकेत देखिएको छ । पब्जी भनेको दुईविपरीत समूहका लडाकुहरू कुनै अज्ञातस्थलमा हातहतियारबाट सुसज्जित भई एकले अर्कालाई सक्दो घातक हतियार प्रहार गरी मार्ने काममा अघि बढ्ने खेल हो । यसमा खेलाडीले एकअर्कालाई सफाया गर्छन् । पब्जी खासमा एक मल्टीप्लेयर वा सामूहिक गेम हो, अर्थात एकसाथ केही खेलाडीले यसमा भाग लिन्छन् ।

मनोविद्हरूका अनुसार अर्को पक्षलाई जति मार्‍यो उति खेलाडीको प्रगति हुने यो खेलमा घण्टौं घण्टा बिताएका बच्चाहरू वास्तविक जीवनमा पनि मार्ने र जित्ने भावनाले उत्प्रेरित हुने गर्छन् । यो खेलले हिंसाप्रति उनीहरूको लगाब बढेको मनोचिकित्सकहरू बताउँछन् । खेलाडीहरूको अज्ञात युद्धस्थल अर्थात् ‘प्लेयर्स अननोन बेटल ग्राउन्ड (पब्जी) अति खेल्ने बालबालिकामा मानसिक असन्तुलन समेत देखिएकाले यसलाई उनीहरूको पहुँचबाट टाढा राख्नुपर्ने निष्कर्षमा मनोविद्हरू पुगेका हुन् ।

बालबालिका र किशोरकिशोरी माझ लोकप्रिय खेल पब्जीले मानसिक समस्या निम्त्याएको छ । पब्जी खेलमा हिंसा हुने भएकाले खेल्नेहरूमा बिस्तारै हिंस्रक व्यवहार देखिन थाल्छ जसको प्रभाव बढ्दै गएर धेरै बालबालिका र किशोरको मानसिक सन्तुलन नै खलबलिएको छ । संसारभरिकै बालबालिकाका माझ छिट्नै नै लोकप्रिय भएको पब्जीले यस्तै विकारहरू धेरै ठाउँमा देखाउन थालेपछि यसलाई प्रतिबन्ध लगाउने क्रम पनि सुरु भएको छ ।

पब्जी खेलका कारण कतिपयको मानसिक सन्तुलन बिग्रिएकोदेखि आत्महत्या गरेका घटनाहरु समेत संसारका विभिन्न भागबाट आउने गरेका थिए । त्यसैले पब्जीलाई प्रतिवन्ध लगाउने कुरा अन्य देशहरुमा पनि उठ्ने गरेको छ । भारतको गुजरातमा पब्जी खेलेको भेटिएमा पनि कारबाही गर्ने भन्दै प्रहरीले सूचना नै जारी गरेको थियो । जस्तो कि, पछिल्लो समय भारतको गुजरात राज्यले यसलाई खेल्न प्रतिबन्ध मात्र लगाएन, खेल्नेहरूलाई पनि पक्राउ गर्‍यो । हालै मद्रासको अदालतले यो खेलमाथि रोक लगाएको थियो ।

अघिल्लो हप्ता हैदराबादमा एक १६ बर्षिय युवकले उनका पिताले पब्जी खेल्नमा रोक लगाएपछि झुण्डिएर आत्महत्या गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका थिए । केहि हप्ता आगाडिमात्र भारत तिलंगणाका २० वर्षीया युवकको लगातार ४५ दिन पब्जी खेलेपछि मृत्यु भएको थियो। उनको समेत मानसिक अवस्था विग्रिएको जनाइएको छ । प्रेस ट्रस्टका अनुसार महाराष्ट्र राज्यमा गत मार्च माहिनामा दुई युवा जो रेलको लिगमा पब्जी खेलिरहेका थिए। उनीहरुको रेलले किचेर मृत्यु भएको थियो। उनीहरु खेलमा यति लठ्ठ थिए। रेलको आवज समेत सुनेनन्।

Like & Follow us on Facebook

भारतमै पब्जी खेलेकै कारण एक विद्यार्थी विश्वविद्यालयको परीक्षामा फेल भएका छन्। रातभर पब्जी खेलेर परीक्षा दिन गएका ती विद्यार्थीले परीक्षाको उत्तर पुस्तीकामा पब्जी खेलबारे लेखेर बुझाएको जनाइएको छ। ती विद्यार्थीले एसएसएलसी परीक्षामा गतवर्ष डिस्टिंसन ल्याएका थिए। तर एकाएक पब्जी खेलमा लागेपछि उनले पढाइ बिर्सिएको जनाइएको छ। गत अगस्टमा एक चिनियाँ किशोर चौथो तलामा रहेको काकाको अपार्टमेन्टबाट हाम्फाले । हाइमेन शहरका बासिन्दा उनको ज्यान गयो । रातको पौने १ बजे आत्महत्या गर्नुअघिसम्म उनी आइप्याडमा पब्जी खेलिरहेका थिए । किशोरकी आमाले त्यो घटना पब्जीका कारण भएको दाबी गरिन् ।

मनोविदहरुका अनुसार पब्जीले खेलाडीलाई एकोहोरो बनाउँछ । उनीहरु दिनरात यसमा कसरी जित हासिल गर्ने भन्ने ध्याउन्नमा हुन्छन् । यसले उनीहरुको दैनिक व्यवहार नै प्रभावित गर्न सक्ने देखिएको छ । भिडियो गेम भनेको एउटा मनोरञ्जनको साधन हो । तर, पब्जी मनोरञ्जनमा मात्रै सिमित भएन । यो लागूऔषध जस्तै बन्यो । यसलाई मन्द विषको संज्ञा समेत दिने गरिएको छ । त्यसैले गर्दा पब्जीलाई प्रतिबन्ध लगाउने नागरिक हितमै देखिन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!