स्वास्थ्य

नेपालमा छालाको रोग किन बढ्दैछ ? यसको रोकथाम कसरी गर्ने ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

५ बर्ष यता नेपालमा विविध किसिमको छालाको रोगले मानिसलाई त्रसित पारेको देखिन्छ । आखिर किन यस्तो समस्या देखिएको छ ? यस्तो हुनुको प्रमुख कारण केहो ? यस विषयमा राम्रो बहस र अनुसन्धान हुन आवश्यक छ । हामीले यस्ता अनेकौं एलोपैथिक औषधि खाएर निको नभएका थुप्रै छालाका रोग हेरेका छौं ।

छालाका रोगमा प्रयोग हुने जति पनि औषधि उत्पादन भएका छन् सन्तोषजनक फाइदा नभएको देखिनु आफैमा शंकाको विषय बनेको देखिन्छ । हाल बजारमा भएका बढी प्रयोग हुने गरेका औषधिले गर्नुपर्ने काम गर्न सकेको छैन यो दुर्भाग्य हो । यस्ता औषधिको नमूना परिक्षण गरेर मात्र बजारमा ल्याउनु पर्ने देखिन्छ ।

नेपालमा छालाको क्यान्सरका बिरामी कम देखिएपनि यो बढ्दो क्रममा छ । देशमा कति मानिसलाई छालाको समस्या छ भन्ने यकिन तथ्याँक उपलब्ध छैन । छालाको क्यान्सर धेरै कारणले हुनसक्छ । गोलो घेरामा देखिने चिलाउने दाद पनि एक प्रकारको सरुवा रोग हो ।

रोगीको कपडा प्रयोग गर्दा, सँगै सुत्दा यो रोग सर्न सक्छ । लामो समयसम्म उपचार गर्दा पनि यो रोग निको भएन भन्ने गुनासो बढी सुनिन्छ । तर राम्ररी उपचार गर्ने हो भने दाद निको हुन्छ । तर पटक-पटक औषधि गर्दा पनि ठिक नभएका थुप्रै केस छन् । यस्ता रोगको उपचार सहि नभएमा भविष्यमा क्यान्सर हुने खतरा बढेको छ ।

नेपालमा छाला रोगको समस्या धेरै छ । कूल जनसंख्याको २५ प्रतिशतमा कुनै न कुनै र पाँच प्रतिशतलाई कडा खालको रोग छ जसको तत्काल उपचार जरुरी छ । यो रोग मौसम अनुसार पनि मानिसमा देखिन सक्छ । हिमाल, पहाड र तराईको फरक फरक भौगोलिक अवस्थामा बसोबास गर्नेहरुलाई हुने छालाको समस्या पनि फरक-फरक हुन्छ ।

त्यस बाहेक शरीर भित्रैबाटै हुने समस्याले पनि जनै खटिरा, छालाका एलर्जी जस्ता छालाका समस्या निम्ताउँछ । मासुको सेवन, धुलो, अत्तर, अण्डा र गन्धको एलर्जीले छालामा समस्या हुन्छ । कसैलाई क्रिमकै एलर्जी हुनसक्छ । कसैलाई घाम र जाडोको एलर्जी हुन्छ । यी समस्याको बेवास्ता गरियो भने त्यसले पछि ठूलो समस्या ल्याउन सक्छ ।

जाडो र गर्मी मौसममा छालाका फरक-फरक समस्या देखा पर्छन् । आफ्नो छालाको ख्याल राख्नु स्वास्थ्यसँग पनि उत्तिकै जोडिएको विषय हो । बजारमा पाइने महँगा मलम लगाएर मात्र राम्रो भइँदैन, त्यसका लागि सन्तुलित खाना, पर्याप्त पानी सेवन तथा निद्रा र नियमित व्यायाम सबै आवश्यक हुन्छ ।

पछिल्लो समय शहरीकरणले उब्जाएको फोहर, धुलो, धुवाँ र प्रदूषणले छालालाई गम्भीर असर पारिरहेको छ । यसले अनेक थरी चर्मरोग बढाउने गरेको चिकित्सकको अनुभव छ । छालामा साधारण समस्या देखिएपनि डाक्टरको परामर्शमा उपचार विधि अपनाउन आवश्यक छ।

छालाका समस्यालाई सामान्य ठानियो र समयमै सही उपचार गरिएन भने त्यसले पछि क्यान्सरको रुप लिन सक्ने खतरा पनि रहन्छ । वातावरणीय प्रदूषण, अस्वस्थकर खानपान र जथाभावी औषधिको प्रयोग लगायतका कारण छालाका समस्या बढेर गएको छ । नेपालमा बढी देखिएका दाद, डण्डीफोर, चायाँ पोतो, कत्ले रोग र दुबी बढी देखिने समस्या हुन् ।

आजभन्दा केहि बर्ष पहिले Penicillin, Tetracycline, Terramycin Injection बजारमा थिए यस्ता औषधिको प्रयोगबाट थुप्रै छालाका रोग निको बनाउन सक्षम थिए तर अहिले विविध कारण देखाई यस्ता इन्जेक्सन लोप भएका छन् । यस्ता औषधिबाट उपचार गर्दा छालाका रोग चाँडो निको हुने गरेको पाइन्छ भने अहिले राम्रो औषधिको अभावमा नागरिकले सास्ती खेप्नु परेको छ ।

यो पनि पढनुहोस्

नुहाएपछि हात खुट्टाको छाला किन चाउरी पर्ने कारणहरु

हटाउनुहोस् छालाको सुन्दरता बिगार्ने ४ बानीहरु

हाम्रो छालालाई सुर्यको किरणले कसरी बिगार्छ ?

मानिसको छालामा आउने कोठी के हो ? किन चाउरिन्छ छाला?

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!