स्वास्थ्य

निद्रा लाग्दैन ? सजिलै निदाउनको लागि के गर्ने के नगर्ने !

मिठो निद्रा स्वस्थ्य रहनको लागि उति नै जरूरी छ । धेरै थकाई लागेर ओछ्यानमा पल्टिँदा पनि सुत्न नसकेर तनाव हुन्छ धेरैलाई । कोही मनतातो दूध पिएर सुते निद्रा लाग्छ भन्छन् भने कोही चाहिँ भेडा गनेर बसे निदाइन्छ भन्छन् । दिनभरको भागदौड, तनाव तथा धेरै काम गर्नुपर्नाका कारणले धेरै मानिसलाई रातमा राम्रो निद्रा नपर्ने समस्या हुन्छ । तर पर्याप्त निद्रा नपर्नु विभिन्न खाले रोगको कारक बन्ने अनुसन्धानहरुले पुष्टि गरिसकेका छन् । जो मानिसहरु रातमा केवल ५/६ घण्टा मात्र सुत्दछन् उनीहरुमा मुटुरोग, हृदयाघात, मधुमेह तथा बाथ जस्ता खतरनाक रोगको खतरा बढ्दछ । त्यसैले कम्तीमा रातमा ७/८ घण्टा सुत्नुपदछ ।तर कतिपय मानिसहरु सुत्न चाहँदा चाहँदै पनि रातमा निद्रा नलाग्ने समस्या हुन्छ । यसरी रातमा निद्रा नलाग्ने समस्या हटाउन यसो गर्न सकिन्छः

१. मधुरो प्रकाश बालेर सुत्न ओछ्यानमा जानुभयो भने सजिलोसँग निद्रा पर्छ ।

२. ओछ्यानमा पल्टिएपछि मोबाइल चलाउँदा निद्रा लाग्दैन । त्यसैले मोबाइल स्विच अफ गरेर अथवा मोबाइल साइलेन्समा राखेर सुत्नुपर्छ ।

३. सधैँ एकै समयमा सुत्ने र उठ्ने बानी बसाले अनिद्राको समस्या हट्दै जान्छ ।

४. सुत्नुअघि कडा व्यायाम गरे शरीरमा रक्तसञ्चार तीव्र हुन्छ । जसले गर्दा निद्रा लाग्दैन । त्यही भएर सुत्नुभन्दा कम्तीमा चार घण्टाअघि मात्रै व्यायाम गर्नुपर्छ ।

५. राति अघाउँजी खाने बानी छ भने त्यो सुधार्नुहोस् । तरकारी, दाल, फलफूल, सलाद, दूधजस्ता हलुका खानाले राति मीठो निद्रा लगाउँछ ।

६. निद्रा लगाउन मदिराको चुस्की लिने बानी छ भने छोडिहाल्नुस् । किनकि, मदिराले केहीबेर मात्र निद्रा लगाउँछ । एक पटक बिउँझिएपछि छिनछिनमा बिउँझिने समस्या हुन्छ । मदिरा खानै परेमा सुत्नुभन्दा दुई घण्टाअघि मात्र खाने गर्नुपर्छ ।

७. निद्रा नलागेको झोकमा बढी मदिरा पिउने गर्नु हुँदैन । बढीमा दुई पेग मदिरा पिउनुपर्छ । बढी मदिरापान गरेमा शरीर डिहाइड्रेट हुन्छ, जस कारण मीठो निद्रा लाग्दैन । बढी मदिरा पिउँदा छिनछिनमा पिसाब फेर्न गइरहनुपर्छ, जसले निद्रालाई भंग गरिदिन्छ ।

८. चुरोट खानेभन्दा नखानेहरू चार गुणा राम्रोसँग निदाउन सक्छन् भन्ने अनुसन्धानले पुष्टि गरिसकेको छ । चुरोटमा पाइने निकोटिनले राम्रोसँग निदाउन दिँदैन । त्यही भएर चुरोटको अम्मलीले पनि सुत्नुअघि भरसक चुरोट नखानु राम्रो ।

९. प्रेसर, डिप्रेसनलगायत औषधि नियमित सेवन गर्ने गरिन्छ । यस्ता औषधि सुत्नुभन्दा ढेड अथवा दुई घण्टाअघि खाने गरेमा ननिदाउने समस्या कम हुन्छ ।

१०. मनमा अनेक कुरा खेलिहेका छन् भने ती कुरा डायरीमा लेखेर सुत्न जानुभयो भने निद्रा पर्छ ।

११. दिउँसो दुई बजेपछि चिया, कफीजस्ता केफिनयुक्त पेय नलिनुस् । सुत्नुअघि चिया, कफी खाने बानी छ भने बानी सुधार्नुहोस् । केफिनयुक्त पेयले राम्रो निद्रा पर्न दिँदैन ।

१२. कामबाट फर्किएपछि न्यानो पानीले नुहाउन बन्द गर्नुस् । नुहाउनै परे सुत्नुभन्दा केही घण्टाअघि नुहाउनुस् । किनकि, राति न्यानो पानीले नुहाउनाले निद्रा पर्न अप्ठ्यारो हुन्छ ।

१३. कसै गरी पनि निद्रा लागेन भने रेडियोबाट प्रसारित हुने कथाकहानी सुन्दै सुत्नुपर्छ ।

१४. फुर्सदमा गहिरो र लामो सास लिने गर्नाले शरीरमा अक्सिजनको इन्टेक बढ्छ । जसले गर्दा राति राम्रोसँग निदाउन सकिन्छ । गहिरो सास लिँदा दिमागमा इन्डोर्फिन नामक केमिकल उत्सर्जन हुन्छ । जसले निद्रा लगाउन मद्दत गर्छ ।

१५. निद्रा लाग्दैन भने हरेक दिन खानामा माछा, दही, केरा, चना, प्याजजस्ता खाद्य पदार्थमध्ये कुनै एक वा बढी समावेश गर्ने कोसिस गर्नुपर्छ ।

१६. ननिदाउने समस्या भएकाहरूले सुत्नुअघि पानी पिउने बानी छोड्नुपर्छ । पानी पिएर सुत्दा पिसाब फेर्न उठिरहनुपर्ने भएकाले निद्रा बिथोलिन्छ ।

१७. निद्रा लागेन भने हस्तमैथुन गर्नाले पनि राहत दिन्छ । हस्तमैथुन गर्दा दिमागमा डोपामाइन र इन्डोर्फिनजस्ता केमिकल उत्सर्जन हुन्छन्, जसले मानिसलाई आनन्दित र तनावरहित बनाई निदाउन मद्दत गर्छ ।

१८. सुत्नुअघि सेक्स गर्नाले पनि मीठो निद्रा लाग्छ ।

यो पनि पढ्नुहोस् 

निद्रा लागेन भने यसो गर्नुस्

के तपाईलाई निद्रा लाग्दैन ?

लामो आयु बाँच्नका लागि अपनाउनैपर्ने तरिकाहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!