स्वास्थ्य

के तपाईलाई ग्याष्ट्रिकले सतायो ? यसरी गर्नुस् उपचार

Dr. Hemraj Koirala
डा. हेमराज कोइराला

ग्याष्ट्रिक नामले चिनिएको पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणले युक्त हाम्रो राष्ट्रिय रोगको चिकित्सकीय नाम ग्याष्ट्राईटीस हो । ग्याष्ट्राईटीस शब्दलाई हाम्रो जिब्रोले पुरै उच्चारण गर्न नसक्दा ग्याष्ट्रिक भन्नपुग्यौँ, जसको आम अर्थ ग्यास्ट्राईटिस र ग्यास्ट्रिक अल्सर दुबै लगाईन्छ ।

चिकित्सकीय भाषामा आमासयका भित्ताहरुको ईन्फ्लामेसन (सुन्निएर रातो तातो भएर दुख्नु)लाई ग्याष्ट्राईटीस भनिन्छ भने रोग बढ्दै गई भित्ताहरुको श्लेष्मा झिल्लि च्यातियर घाऊ भएको अवस्थालाई ग्याष्ट्रिक अल्सर भनिन्छ । अर्को शब्दमा भन्नुपर्दा ग्याष्ट्रिक रोगको प्रारम्भिक अवस्था हो भने अल्सर त्यसैको विकराल रुप ।

ग्याष्ट्रिकका प्रकारहरु

ग्याष्ट्राईटीसलाई तिव्र तथा दीर्घ (जिर्ण) गरेर दुई समुहमा बाडिएको छ । तिव्र ग्यास्ट्राईट्रिस पेटका भित्ताहरुमा भएका कोषहरुका लागि हानि गर्ने पदार्थहरुको सेवनले गर्दा हुन्छ । यी पदार्थहरुमा दुखाई कम गर्ने (एस्प्रिन, बु्रफेन, निम्स, नेप्प्रोक्सिन) जस्ता औषधि, विष सेवन, मसला, खुर्सानि र नुन ज्यादा हालेको खानेकुरा जाँड, रक्सि र कोकिन जस्ता मादक पदार्थहरु पर्दछन् । आमाशयमा एच.पाईलोरि लगायत अन्य ब्याक्ट्रेरिया भाईरस, कृमि वाफङ्गसहरुको संक्रमणले पनि ग्याष्ट्राईटीस हुनेगर्छ ।

यसैगरी जिर्ण ग्याष्ट्राईटीसकोे कारणहरु भने हाम्रो जीवनशैली, खानपान शैली, मानसिकता र शरीर प्रकृतिसँग जोडिएको छ । तारे भुटेका मसालादार खानेकुरा खानेहरु, खुर्सानी र नुनको अत्याधिक सेवन गर्नेहरु जाँड रक्सी, चुरोट, कोकीन, तातो र अति चिसो खाद्यपदार्थ तथा वोतल र वट्टामा संरक्षित खाद्य–पदार्थहरुको सेवन गर्नेहरु, फास्ट तथा जंक फुड खानेहरु यो रोगका शिकार हुन पुग्दछन् । त्यसैगरी अनियमित जीवनशैली जीउनेहरु, जस्तैःभोक लागेको वेलामा नखाने, भोक भन्दा ज्यादा खाने, खाना निश्चित समयमा नखाने, पचाउन कठीन, बट्टावद्ध र संरक्षित खाद्यानहरु खाईरहने, खाएपछि र शारीरिक श्रम गरे लगत्तै सुत्ने तथा शारीरिक श्रम गरे लगत्तै खानेहरुमा यो रोग ज्यादा देखिएको छ । व्यस्तता र भागदौडले भरिएको जीवनज्युनेहरु, मानशिक तनावको चपेटामा परेकाहरु, मनोरञ्जन नगर्नेहरु, भय, चिन्ता, शोक उदाशिनता र अनिन्द्राका रोगीहरु, शारीरिक श्रम ब्यायाम नगर्नेहरु पनि यो रोगका शिकार हुने गरेका छन् भने लामो समयसम्म जाँड रक्सी, चिया कफि, कार्वनिक पेय, (कोक–पेप्सी) आदिको सेवन गर्नेहरुमा पनि यो रोग ज्यादा देखिएको छ । यसका अलाबा आत्मघाती प्रतिरक्षा प्रणाली (अटो–ईम्यून), पेटको अपरेशन, कलेजो, मृगौला, फियो तथा आंन्द्राहरुको संक्रमण, एचआईभी एड्स तथा विशेष मानसिक रोग अवस्थाहरुको कारणले पनि ग्याष्ट्राइटिस हुने गर्दछ ।

ग्याष्ट्रिकका लक्षणहरु

१. छाती र पेटको विचको खाल्टो वरीपरी दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित बड्नु,मुखविग्रिनु, पेट भारीहुनु, आपनवायु बढ्नु, रिङ्गटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु, वाकवाकीलाग्नु वान्ताहुन, ढ्याउढ्याउआउनु, वान्तामा रगत देखिनु कालो दिशा आउनु, खाना नपच्नु, पेट हुडेल्नु, तौल कम हुनु आदि ।

ग्याष्ट्रिकका जटिलताहरु

यो रोगको समयमा नै उपचार नभए ग्याष्ट्रिक अल्सर तथा क्यान्सर हुन सक्छ । अल्सर हुँदा बारम्बार रक्तस्रावले गर्दा सामान्य रक्तअल्पताको समस्या देखा पर्नुका साथै भिटामिन बी–१२ को अबशोषणमा चाहिने तत्वहरुको उत्पादन हुन नसक्दा परनिसियस रक्तअल्पताको लक्षणहरु जस्तै, स्नायु तथा नाडीहरुको क्षय, मांशपेशीहरुको कमजोरी, तातो चिसो थाहा नपाउने समस्या देखा पर्दछन् । यसका अलावा, अन्ननली सुन्निने, दम बढ्ने, मुखमा घाउ-खटिरा आइरहने, आन्द्राहरुमा घाउ हुने, खानाको पाचन र अवशोषण सुचारु नहुने र मल निष्काशनमा जटिलता आई कब्जियतका लक्षणहरु पनि देखा पर्न सक्छन् ।

ग्याष्ट्रिकको उपचार

ग्याष्ट्राईटीस धेरै कारणले हुने रोग हो । उपचार गर्दा विशेषतः रोगको कारण पत्ता लगाएर नै उपचार गर्नुपर्छ । तिव्र ग्याष्ट्राईटीसको उपचार समयमै हुन सके रोग जिर्ण हुनवाट बचाई यसका अन्य जोखिमहरु निवारण गर्न सकिने भएकाले चिकित्सकको निगरानीमा रोगको निदान तथा उपचार गर्नतिर लागौं । दिर्घ/जीर्ण ग्याष्ट्राइटिसको ठूलो हिस्सा जीवनशैलीसँग सम्वन्धित भएकाले जीवनशैली परिवर्तन गर्न नितान्त जरुरी छ । जीवनशैली परिवर्तन भनेको भोजन, व्यायम, विश्राम विचार र व्यवहारहरुलाई स्वस्थ्यमैत्री हुने गरी समायोजन गर्नु हो ।

भोजन व्यवस्थापन

१. बट्टा र बोतलमा संरक्षित खाद्य–पदार्थहरु, फास्ट तथा जंक फुडहरु, ज्यादा मसला, खुर्सानी, नुन हालेको, अजिनो मोटो, सोडियम बाईकार्बोनेट, सोडियम बेन्जोएट जस्ता पदार्थ मिसाईएका खाद्य पदार्थहरुबाट पनि टाढा नै बसौं ।

२. अचार, कुरकुरे, आलु चिप्स, पाउ, चाउचाउ, बिस्कुट, नुडल्स जस्ता खाद्यनले पनि ग्याष्ट्राइटिसलाई बढाउछ । चिया, कफि, कोल्ड ड्रिङ्कस जस्ता पेय, आइसक्रिम र चकलेट्, बेकरी तथा मैदाका उत्पादन जस्ता खाना र माछा–मासु जस्ता पदार्थहरु पनि ग्याष्ट्राइटिसका लागि राम्रा होईनन् ।

३. चिल्लो–चाप्लो र धेरै बोसो भएको खानेकुरा नखाऔं। अमिलो र पिरो जातका फलफुलहरुको सेवन पनि नगरौं ।

४. भोजन गर्दा खुब चपाई चपाई खाउँ । याद राखौ पेटभित्र दाँत हुदैन नचपाई खाएको भोजनले पेटलाई भोजन पचाउन अतिरिक्त दबाव दिने हुँदा ग्याष्ट्राइटिसको सम्भावना ज्यादा हुन्छ ।

५ कुनै खानाखाए पछि अम्लपित्त बढ्न गएमात्यस्ताभोजनलाई त्यागिदिउँ ।

६. भोजन गर्दा पानीको प्रयोग यथासम्भव कम होस ।

७. भोजनको समय निश्चित गरी दैनिक उसै समयमा भोजन गर्ने गरौं । दिनमा होस वा राती भोजनपछि लगत्तै सुत्ने बानी छ भने त्यागि दिऊ । भोजन र निन्द्राको वीचमा कम्तिमा पनि ३ घण्टाको अन्तर होस ।

८. भोक लाग्ने बित्तिकै हल्का फुल्का केही खाने गरौं, बर्जित खानेकुरा बाहेक ।

९. अत्याधिक तातो र चिसो खाद्य बस्तुहरुको पहरेज गरौं । नुन चिनी, मैदाका परिकार पनि पेटमैत्री हैनन् ।

१०. नसालु पदार्थहरु जस्तैः– जाँड–रक्सी, सुर्ती–चुरोट, पान–गुठ्का, गाँजा–भाङ, कोकिन, क्याफिन, टेनिन जस्ता वस्तुहरुको सेवन नगरौं ।

११. रेशा र चोकरले युक्त खस्रा मोटा खानेकुराहरु, साग–सब्जी, सलाद–फलफुल र अङ्कुरित अन्न, फलको रस, ताजामोही, पखाले, लस्सीको सेवन ग्याष्ट्राइटिसमा स्वस्थकर छ ।

१२. फ्लेवेनाइडयुक्त भोज्य पदार्थहरु जस्तैः स्याउ, स्ट्रबेरी, मेवा, लसुन, प्याज, हिङ्ग, जिरा जस्ता खाद्य पदार्थलाई भोजमा समावेश गरौं ।

१३. पानी प्रशस्त पिऊ, यसो गर्दा ग्याष्ट्रिक एसिडले आमाशयलाई हानी पुर्याउन पाउदैन ।

व्यायाम तथा प्राकृतिक उपचार

१. अङ्गव्यायम, रिढव्यायम, शिथिलीकरण व्यायम, प्रातः भ्रमण, दौडिने, कुद्ने, योगअभ्यास, सुर्य–नमस्कार जस्ता व्यायमविधि ग्याष्ट्राइटिसमा स्वास्थ्यकर छन् ।

२. बज्राशन, पवनमुक्ताशन, सर्वाङ्गआसन, मत्स्यन्दासन, भुजङ्गासन, उदारकर्शासन र धनुरासन, ताडाशन र त्रियकताडाशन जस्ता आशनविधि, अनुलोमविलोम, सितली, सित्करी, बामनाकिा जस्ता श्वसनविधिले पनि यस रोगमाफाइदा पु¥याउदछ तर रोगको अवस्थातिव्र छ भने यी विधिहरुको प्रयोग गर्न हुदैन ।

३. जलनेती (नाकको सफाई) कुन्जल (पेटको सफाई), एनिमा (ठुलो आन्द्राको सफाई), संखप्रक्षालन (सम्पुर्ण पाचन प्रणालीको सफाई) जस्ता उपचार पद्दतिले ग्याष्ट्राइटिस समनमा ठुलो सहयोग पुर्याउछ ।

४. पेटको मालिस, माटोको पट्टी, ग्यास्ट्रो–हेपेटिक–प्याक, नौलितथा गणेश क्रियाको अभ्यास र अकुपन्चर तथा अकुप्रेशर जस्ता उपचार विधिले पनि ग्याष्ट्राइटिसमा राम्रो गर्छ ।

बिश्राम व्यवस्थापन

१. ग्याष्ट्राइटिस, तनाव पुर्ण जीवन ज्यूउनेहरु, डर,चिन्ता, खिन्नता, उदाशिनता र अनिन्द्राको रोगीहरुलाई भै रहने रोग हो । तसर्थ तनाव व्यवस्थापन ग्याष्ट्राईटीस निवारणको कडी हो ।

२. शारिरिक तथा मानसिक रुपले विश्राम लिनका लागि योग आसन, योग निद्रा, माइन्ड– साउन्ड–रेसोनेन्स–टेक्निक (MSRT), प्राणिक–इनरजाईजीङ्ग–टेक्निक(एभ्त्), सेल्फ–मेनेजमेन्ट–अफ–एक्सेसिभ–टेन्सन (PRT), जेकब्सन–प्रोग्रेसिभ–मसल्स्–रिल्याक्सेसन टेक्निक (JPMRT) डिप–रिल्याक्सेसन्–टेक्निक(DRT), क्विक–रिल्याक्सेसन–टेक्निक (QRT), ईन्स्टेन्ट–रिल्याक्सेसन्–टेक्निक (IRT) जस्ता बिश्रामका विधिहरु सिकेर अभ्यास गर्ने गरौं ।
३. सम्पूर्ण शरिरको मालिस, तैल अभ्यङ्ग, वाष्पस्नान, सउना स्नान, फोहोरा स्नान, पौडिनु, तैरीनु जस्ता उपचार पद्धतिले पनि बिश्रामलाई बढाउँछ ।

साबधानीहरु

१. दुखाई कम गर्ने तथा अन्य दवाईहरु चिकित्सकको परामर्शमा मात्र लिने गरौं ।

२. माथि बताईएका लक्षणहरु देखा पर्न गए चिकित्सकसँग आवश्यक परामर्श लिऔं ।

३. ग्याष्ट्रिकको उपचार गर्दाचिकित्सकले दिएको औषधी पुर्णरुपले खाने गरौं ।

४. कलेजो, मृगौला, फियो र आन्द्राका रोग भएकाहरुले रोगको हेरचाहमा सावधानी अपनाऔं ।

५. पेटको तथा छातीको अप्रशेन गर्दा ग्याष्ट्रिक हुने सम्भावना ज्यादा रहने हुँदा सावधानी अपनाऔं ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढ्नुहोस्

ग्याष्ट्रिकको उपचार

ग्याष्ट्रिकको घरेलु उपचार

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!