राजनीतिराष्ट्रिय समाचार

मत खरिद बिक्रीमा नलाग्नोस् : प्रमुख आयुक्त यादव

कात्तिक २१, धुलिखेल । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतदाता र राजनीतिक दलका प्रतिनिधिलाई मत खरिद–बिक्रीमा नलाग्न आह्वान गरेका छन् । निर्वाचन आयोगले मंगलबार धुलिखेलमा आयोजना गरेको ‘मतदान तथा मतगणना क्षेत्रीय प्रशिक्षण’ कार्यक्रममा डा. यादवले राजनीतिक दल र मतदातालाई आफ्नो मत सुरक्षित गर्न आग्रह गर्दै भने–‘मतदाता शिक्षा र मतदान गर्ने काम मतको सुरक्षा र सुनिश्चितताका लागि हो, जनताको मतबिना प्रजातन्त्र सुदृढ हुन सक्दैन । त्यसको सुरक्षा कसरी गर्ने भन्ने जिम्मेवारी हामी र हाम्रो हो ।’

डा. यादवले जनशक्ति खटनपटनमा ट्रेड युनियनको प्रभावमा नपरी काम गर्न प्रजिअ र जिल्ला निर्वाचन अधिकृतलाई आग्रह गरे । ‘प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी र निर्वाचन अधिकृतलगायतलाई दबाब आउनसक्छ कि त्यहाँ फलानालाई मिलाइदिनोस् भनेर, त्यो चुनौतीको विषय हो’–उनले भने–‘त्यसलाई उचित ढंगले समाधान गर्दै मतदानस्थलमा खटिने जनशक्तिको उचित व्यवस्थापन गर्न लाग्नोस् ।’

डा. यादवले राजनीतिक दल र जिल्लास्थित निर्वाचन आचारसंहिता अनुगमन समितिलाई नगरमा सरसफाइको काममा ध्यान दिन पनि आग्रह गरे । निर्वाचनमा नगर बोर्ड, ब्यानर, झन्डा र पोस्टरले रंगाउनसक्ने भएकाले त्यस्ता वस्तुलाई मनगर र नगरभित्र राख्न नलगाउन सम्बन्धित पक्षलाई आग्रह गर्दै भने–‘नगरलाई आजैदेखि सफा राख्नका लागि म प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र नगरपालिकालाई आग्रह गर्न चाहन्छु । नगरको सभ्यता जनताको सम्पत्ति भएकाले फोहर गर्न नदिनोस् ।’

आयोगका सहसचिव नवराज ढकालले मतदानको प्रक्रियामा केही परिमार्जन भएकाले त्यसमा ध्यान दिन सबै कर्मचारीलाई आग्रह गरे । ‘मतपत्रमा भएको डिजाइन र मतदान प्रक्रियामा भएको लेआउटको परिवर्तनकोबारेमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई थप प्रशिक्षण गराउनुपर्ने भएको छ’–ढकालले भने–‘त्यससँगै ४०० भन्दा बढीको संख्यामा विदेशी पर्यवेक्षक पनि आउने भएकाले उहाँहरुले हेर्ने विषयमा ध्यान दिन आग्रह गर्दछु ।’ मंगलबार र बुधबार गरी दुई दिनसम्म चल्ने प्रशिक्षणमा काभ्रेपलाञ्चोकलगायत, काठमाडौं, भक्तपुर, ललितपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, रौतहट, पर्सा, चितवन, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप र सिन्धुली गरी १७ जिल्लाका ८१ अधिृकतको सहभागिता छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!