राष्ट्रिय समाचार

अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन कात्तिकमा हुने

भदौ ९, काठमाडौं । आउँदो कात्तिक महिनाको पहिलो साता काठमाडौँमा अन्तर्राष्ट्रिय स्तरको युवा वैज्ञानिक सम्मेलन हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय युवा परिषद्सँगको सहकार्यमा कात्तिक ४ देखि ६ गतेसम्म काठमाडौंमा उक्त सम्मेलन गर्न लागेको हो ।

मुलुकमै पहिलोपटक यस किसिमको विज्ञान-प्रविधि र नवप्रवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुन लागेको नाष्टले जनाएको छ। प्रविधिमा रुचि राख्ने, अध्ययन र अध्यापन गर्ने, अनुसन्धानकर्ता, वैज्ञानिक, उद्योगीका लागि अन्तर्राष्ट्रिय ‘एक्सपोजर’ होस् भन्ने उद्देश्यले आयोजना गर्न लागिएको यस सम्मेलनमा यस क्षेत्रका प्रख्यात वैज्ञानिक, आविष्कारकर्ताहरूले सम्बोधन तथा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सम्मेलनमा केही विदेशी विज्ञले पनि प्लेनरी सेसनमा भाग लिने जनाइएको छ। उक्त सेसनमा सहभागीले छलफल गर्न पाउने छन् । विज्ञान, प्रविधि र आविष्कारका विषयमा नेपाली युवाको रुचि बढाउन जगाउन तथा प्रोत्साहन गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो। नेपालको आर्थिक विकासका लागि यहाँको विज्ञान, प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय लगानीको वातावरण बनाउन सम्मेलनले सहयोग गर्ने आयोजककाे विश्वास छ।

सम्मेलनमा स्वास्थ्य र औषधी, जल र ऊर्जा, खाद्य र कृषि, यातायात र पर्यटन, सञ्चार तथा सूचना प्रविधि, वन र वातावरण, जोखिम न्यूनीकरण, परम्परागत ज्ञान र प्रविधि, आधारभूत विज्ञान, नयाँ प्रविधि, अर्थ र व्यवस्थापन, नीति र दर्शनजस्ता विषय समेटिनेछ। सम्मेलनमा प्रस्तुत हुने कार्यपत्रहरू यिनै विषयमा केन्द्रित हुनेछन् । सम्मेलनमा ६० देखि ७० वटा ‘ओरल’ प्रस्तुति रहनेछन् । ‘ओरल’ प्रस्तुति गर्न चाहने व्यक्तिले यही असोज ८ गतेसम्म आफ्नो प्रस्तुतिको खाका पेस गर्न नाष्टले अनुरोध समेत गरेको छ।

सम्मेलनमा ३ सय जनाको सहभागिता रहने आयोजककाे अनुमान छ। सम्मेलनमा भाग लिन नेपालीका लागि २ हजार रुपै‍याँ र विदेशीका लागि ५ सय अमेरिकी डलर रजिस्ट्रेसन शुल्क लाग्ने आयोजकले जनाएको छ। यस शुल्कमा किताब, सम्मेलनका सामग्री, बिहानको खाजा, खाना समेत रहनेछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!