हामी संचेत बनि सकिम है नझुक्याऊ तिमी
तिमी रातमा लुकेर देशको कुनामा गै सुटुक्क दिप बाल्न नखोज !
मुलुक नै पो त अव उज्यालोको खोजीमा यसरी तड्पि रहेको छ !!
तिमी त्यो पारी डाँडामा मात्र यसो चिहाएर हेर्ने प्रयास गर्दै पो नगर !
देश अन्याय र अत्याचारको भूमरी चिरेर; फालेर अघि सर्न तयार छ !!
नपत्याए तिमी त्यो पर क्षितिजसम्म फर्किएर विस्तारै यसो हेर त !
सुमधुर हाँसो सहित नव संदेश लिएर त्यो सूर्य पो उदाएको छ त !!
यसरी झलमल्ल उदाएको त्यो जगमगाउँदो सूर्यलाई पढेर हेर त !
देशका कुना कन्दरामा पो ज्योतिको मुस्लो बनाई छोड्दै छन त !!
यो देशमा अव पनि तिमी भ्रमको खेती गर्ने प्रयास कदापि गर्दै नगर !
युवाको चेतनाले देशमा हरपल ज्ञान, विज्ञानको खेति अव त छर्दैछ !!
मुलुकलाई अन्धकारमा राखेर तिमी अव राजनीति मात्र गर्ने नगर !
मुलुक पनि पो त अव हेर पारी डाडाँ भरी जगमगाएर गगन छुँदैछ !!
तिमी देशका युवालाई पनि तिम्रा छल कपटले ढाँट्न अव नखोज !
हर युवाको मनले ज्ञानको ज्योति बाली यो प्यारो देश पो खोज्दैछ !!
मातृभूमिबाट टाढा बसे पनि या देशमै आफ्नो भविश्य रोज़ेर नै पनि !
युवा यो देशलाई संसारको विकसित राष्ट्र बनाउने बाटो पो रोज्दैछ !!
अँध्यारोको भ्रम तिमी हरेक नेपालीका मनमा छर्ने प्रयास पनि नगर्नु !
मनहरु त चेतनाको दियो बालेर जोस; जाँगर बोकेर देश खोज्दै छन !!
देश अव मेरो मात्रै हो भनेर तिमीले कदापि भन्दै पनि नभन्नु कहिल्यै !
अव त स्वयं देश नै चेतना पलाएर हरेक युवा ज्ञानको श्रम माग्दैछ !!
अव देश र सत्ता मेरो मात्र भनि तिमीले भन्ने भूल गर्दै नगर्नु कदापि !
अव त भूमि पो ज्ञानले सिड्गारिएको युवाको मन खोजेर माग्दैछ !!
थाहा दिन थालेका छन संचारका हरेक माध्यमहरुले तिम्रा हर कुरा !
बरु सचेतनाको दियो सके तिमीले तिम्रो आत्मामा पो त बाल्नुछ !!
मन खोलेर हेर त तिमी तिम्रो छातीको त्यो अन्धकारमय कुनामा !
जहाँ पाखण्डता सायद तिमीलाई नै अट्टहास गरेर पो गिज्याउँदैछ !!
यो देश त हाम्रा पुर्खाहरुको रगत र पसिना पोखिएर धरा बनेको हो !
हामीलाई हृदय खोलेर हाँस्न भनि सहिदले रुँदै रगत पोखेको हो !!
देशका कुना कन्दरामा संस्कारको वीज अव हरेक नेपालीले छरुन !
देशको हरेक कुनामा अव हरपल नेपाली आवाज मात्र नै गन्जियुन !!
अव त हामी जातीय एकतामा आवद्द हुन चाहन्छौ यो देशका पाटामा !
दुस्साहस कदापि नगर्नु तिमीले हामीलाई हाम्राबाट छुटाउने देशमा !!
सचेत तिमी आफैँ बन है यथासिघ्र यो घरणीको काखमा यसरी बसेर !
यो बुद्धको भूमि हो; शान्तिको दिप आफैँ बुद्दहरु मन मनमा बाल्न थाले !!
यो मानवीय भूमिमा हराएका र डराएका मनहरु डराउँन नै छाडेका छन् !
खै किन हो सहिदले रगतको संदेश पठाएको अनभूत गर्न थालेका छन् !!
शोभा खतिवडा काफ्ले लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन । उहाँले साहित्यको माध्यमवाट देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमान, नेपाली राजनीतिमा भएको कुसंस्कार, बिकृतिको विषयमा नेताहरुलाई संचेत गराउने अभियानमा निरन्तर कलम चलाउदै आउनु भएको छ ।