राष्ट्रिय समाचार

वन तथा भूसंरक्षण मन्त्री शङ्कर भण्डारी स्वदेश फिर्ता

काठमाडौं, मङ्सिर २३, २०७३ । वन तथा भूसंरक्षण मन्त्री शङ्कर भण्डारी संयुक्त राष्ट्र सङ्घीय जैविक विविधता महासन्धिको १३ औँ पक्ष राष्ट्रको सम्मेलनमा भाग लिई स्वदेश फर्कनु भएको छ ।  डिसेम्बर ४ देखि १७ तारिखसम्म मेक्सिकोको क्यानकुनमा जारी सम्मेलनमा मन्त्री भण्डारीले सम्बोधनका क्रममा सन् २०२० सम्ममा वन क्षेत्रको १० प्रतिशत भागमा दिगो वन व्यवस्थापन गर्ने, सन् २०२० सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउनेजस्ता विषयमा प्रतिबद्धता व्यक्त गरिएको जानकारी गराउनु भयो ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै क्यानकुन गएका उनले सम्मेलनको पहिलो दिन आयोजित पर्यटन र कृषि विषयक गोलमेच बैठकमा नेपालको तर्फबाट मन्तव्य व्यक्त गर्नु भएको थियो ।  सो अवसरमा जर्मनीका वातावरण, प्रकृति संरक्षण, भवन एवम् आणविक सुरक्षा मन्त्री डा. बार्बरा ह्यान्ड्रिक्ससँग द्विपक्षीय भेटघाटका साथै चुरे संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण, वन्यजन्तु संरक्षण, प्रजाति बसाइँसराइ महासन्धि अनुबन्ध लगायतका विषयमा छलफल भएको मन्त्री भण्डारीले जानकारी दिनु भयो ।

१९० भन्दा बढी देशका मन्त्री स्तरीय प्रतिनिधि सहभागी सो बैठकले वातावरणीय सेवा भुक्तानी नीति तयार गरी कार्यान्वयनमा ल्याउने, रेड प्लस रणनीति लागू गरी सन् २०२० सम्ममा हैसियत बिग्रेका १५ प्रतिशत वन क्षेत्र सुधार गर्ने, नागोया अभिसन्धिलाई अनुमोदन गरी कार्यान्वयन गर्ने लगायका विषयमा प्रतिबद्धता जनाएको थियो । उक्त प्रतिनिधिमण्डलमा सांसद, राष्ट्रिय योजना आयोगका सदस्य, वन मन्त्रालयका सचिव, राष्ट्रिय प्रकृति संरक्षण कोषका पदाधिकारीहरुको सहभागिता थियो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!