हेल्थ टिप्स

जाडोमा यसरी गर्नुस् शिशुहरुको हेरचाह

Dr. Hemraj Koirala
डा. हेमराज कोइराला

त्यसो त जाडो, गर्मीको तुलनामा कम संक्रामक मौषम हो तर जाडोको प्रकोप तिव्र भएको खण्डमा शिशुहरुलाई चिसोबाट जोगाउन कठिन हुनसक्छ । तसर्थ जाडोको मौषममा बच्चाहरुको स्वास्थ्यको विशेष ख्याल राख्न जरुरी हुन्छ । चिसोको मौसममा बच्चाहरुको ख्याल नराख्दा निमोनिया, रुघा–खोकी, ज्वरो, चिसोको एलर्जी, इन्फ्लुएंजा, श्वासको समस्या, सिंगान बग्ने रोग, छाला फुट्ने, ब्रोङ्काईटिस, नाक, कान घाँटीको संक्रमण जस्ता समस्याहरु देखिन सक्छ । जाडोमा प्रकोपित हुन सक्ने यी समस्याहरूबाट नानीबाबुहरुलाई बचाउन जाडोमा निम्न कुराहरुमा विशेष ध्यान दिन अत्यन्त आवश्यक छ ।

कपडामा विशेष ध्यान

१. जाडोमा नानीबाबुहरुलाई चिसोबाट बचाउन जाडोमा प्रयोग गरिने विशेष किसिमका लुगाहरुको प्रबन्ध गर्नुपर्ने हुन्छ । नानीबाबुहरुका लागि जाडोको कपडाहरुको इन्तजाम हुन नसकेको खण्डमा उनीहरु जाडोका चपेटामा आउन सक्दछन् ।

२. बच्चाहरुलाई जाडोमा कपडा लगाई दिँदा हमेशा हामीले लगाएको भन्दा एउटा लेयर ज्यादा लगाई दिनपर्छ । अर्थात हामीलाई दुई लेयर कपडाले जाडो छेकी रहेको छ भने बच्चाहरुलाई लागि तीन लेयरको कपडा लगाई दिनुपर्दछ । यदि हामीलाई तीन लेयरले जाडो छेकी रहेको छ भने बच्चाहरुलाई चार लेयरको कपडा लगाई दिनुपर्छ ।

३. जाडोको मौसममा बच्चाहरुको टाउको, खुट्टा, हातको पञ्जा, छाती, चाक र कानलाई न्यानो कपडाले ढाकेर राख्नु पर्दछ ।

४. बच्चाहरुलाई जाडोमा कपडा लगाई दिँदा १–२ पत्र बाक्लो कपडा लगाई दिनु भन्दा ३–४ पत्र पातलो कपडा लगाई दिनु राम्रो हो । धेरै पत्र लुगा लगाई दिँदा शरीरलाई गरम राखी राख्नुपर्दछ ।

५. बच्चाहरुलाई लुगा लगाई दिँदा सबै भन्दा भित्री पत्र सुतिको होस् । त्यसपछि थर्माकोट लगाई दिनु त्यसमाथि सर्ट टि–सर्ट जामा आदि लगाई दिएर सबै भन्दा बाहिरी पत्र हावा नछिर्ने Wind proof ज्याकेट लगाई दिनुपर्छ ।

६. जाडो भरी सकभर बच्चाको टाउको खाली नराखी दिनु टोपि लगाई राख्नु । मङकी क्याप जाडोको लागि अन्य टोपिहरु भन्दा उत्तम छन् ।

७. जाडो भरी भित्र रुवा हालेर सिलाएको भोटो लगाइ दिनुपर्छ ।

८. मोजा र पञ्जा सकभर हटाउनु हुँदैन ।

९. जाडोमा बच्चालाई धेरै पिसाब लागि रहने हुँदा डायपर बदलि रहनु पर्दछ । कपडामा पिासब फेरे तुरुन्त कपडा फेरी दिनु पर्दछ ।

१०. जाडोमा धेरै कपडा लगाईदिदा पनि भित्र पसिना आएर पसिनाले बच्चाहरूलाई असर गर्न सक्छ यसो हुन नदिन बेलाबेलामा पसिना आए नआएको जाँच गर्दै गरौ ।

११. बिहान बेलुका धेरै कपडाको लेयर लगाई दिएपनि दिउसो यसको लेयर घटाऔ ।

हिटरको प्रयोग

कोठालाई न्यानो राख्न अधिकाँश अभिभावकहरु कोठामा हिटर बाल्ने गर्दछन् । कोठामा हिटर चलाएको त्यति राम्रो होइन । हिटर चलाउँनुनै हिटरको साथ साथै केही क्षणको लागि ह्यामीडीफाएर पनि चलाउँनु राम्रो हुन्छ ।

हिटरले कोठाको आद्रतालाई कम गर्दछ । हिटर चलाउनै परे लगातार नचलाउनुहोला । एकाध घण्टाको विश्राममा १०–१५ मिनेटको लागि बन्द गर्नुहोला । बाहिर जानुपर्ने छ भने जानु भन्दा २० मिनेट अगाडि नै हिटर बन्द गरिदिनुहोला । भित्र र बाहिरको तापक्रममा आएको परिवर्तनले बच्चाहरुलाई असर पार्न सक्दछ ।

मालिस

मालिस एककिसिमको निस्क्रिय व्यायाम हो । स्नान वा स्पञ्ज पूर्व मालिस गरिदिँदा रक्तसञ्चार शसक्त हुन पुग्दछ । मांशपेशी, हड्डी, नशा, नाडी, छाला आदि सबै स्वस्थ रहन मालिसले विशेष भूमिका खेल्दछ । यसर्थ नानीबाबुहरुलाई स्नान पूर्व १०–१५ मिनेटको मालिस दिनै पिच्छे गर्नुपर्दछ ।

१. जाडोमा बच्चाको मालिस गर्दा तातो स्थानमा अगेनु, हिटर, फाएर बिग्रेड आदिको नजिक राखेर सेक्दै मालिस गर्दैै गर्नुपर्दछ । मालिस १०–१५ मिनेटको मात्र हुनुपर्दछ ।

२. मालिस गर्दा गाईको घ्यूमा कपुर मिसाएर गर्दा सबैभन्दा राम्रे हो । यसो हुन नसकेमा तातो तोरीको तेलमा मेथी पुराएर मालिस गरिदिनुस् । तोरिको तेल नभएमा बदामको तेलले पनि मालिस गरिदिनुस् ।

३. मालिस र स्नान खाना खानु पहिलेनै गराउनु पर्दछ । मालिस गरेको १०–१५ मिनेटमा बच्चालाई नुहाई दिनु पर्छ, केही खाएको १ घण्टा सम्म बच्चालाई मालिस गर्नुहुँदैन ।

कसरी नुहादिने

१. जाडोको मौसममा बच्चाहरुलाई दिनैपिच्छे नुहाउनु हुँदैन । हप्ताको २÷३ चोटि सम्म भने नुहाउनु अवश्य पर्दछ । जाडोमा बच्चाहरुको नियमित नुवाई धुवाई नहुने हुँदा दिनको १ पल्ट मनतातो पानीले स्फन्ज बाथ भने अवश्य गर्नु पर्ने हुन्छ ।

२. नानीबाबुहरुलाई जाडोमा नुहाउँदा खुल्ला ठाउँमा नभएर बन्द कोठामा नुहाई दिनु पर्छ । खुल्ला ठाउँमा हावा खेल्ने हुँदा चिसो हावाको कारण नानीबाबुहरु बिरामी पर्न सक्दछन् ।

३. घाममा नुहाउन चाहेको खण्डमा शिशाबाट घाम छिर्ने ठाउँलाई रोजेर वा हावा नचलेको बेला हेरि नुहाई दिनुपर्ने हुन्छ ।

४. नुहाउनु पूर्व नै बच्चालाई नुहाउने सामग्रीहरु (जस्तो बच्चाको स्याम्पो, साबन, तौली, लोसन, बाथ टव, डाइपर, कपडा, खेलौना आदि) सबै एकै ठाउँमा जम्मा गर्नुहोस् ।

५. सानो बच्चाहरुलाई नुहाउँदा हातमै राखेर नुहाउनु होला । १ वर्ष माथिका बच्चालाई टवमा राखेर नुहाइ दिनुहोला ।

६. नुहाउनु पूर्व पानीको तापक्रम जाँच गरी पहिले आफ्नै हात डुबाएर अञ्जलीले पानी उठाएर हाली दिनुहोस् । पानी ठिक मनतातो हुनुपर्दछ । ज्यादा तातो वा चिसो पानीले बच्चालाई नुहाइ दिनुहुँदैन ।

७. बच्चालाई नुहाउँदा सकभर दुई जना भएर नुहाउनु राम्रो हो । नुहाई सकेपछि तुरुन्त कोमल तौलीयामा बेरेर बाथरुमबाट बाहिर ल्याउनुहोस् र लुगा लगाई दिनुहोस् ।

घाममा पनि निकाल्ने गर्नुहोस्

जाडो लाग्छ भनेर बच्चालाई कोठैमा गुम्स्याएर राख्नु हुँदैन । घाम लागेको बेलामा हावाले असर नगर्ने ठाउँ हेरेर घाम तपाउने गर्नु पर्दछ । घाम ताप्दा भिटामिन डी मिल्दछ ।

सरसफाइमा विशेष ध्यान पुर्याऔँ

चिसोको मौसममा बच्चाले धेरै पिसाब गर्ने हुँदा बार बार कपडा बदलिरहन सम्भव हुँदैन । यस्तो अवस्थामा डाइपर प्रयोग गर्नु पर्ने हुन्छ । तर डाइपरको ख्याल नराख्दा यहिबाट घाउ पनि हुन सक्छ । डाइपरको प्रयोग गर्दा निम्न कुराहरुको ध्यान दिनुपर्दछ ।

१. डाइपरको साइज ठिक्क हुनु पर्दछ । टाइट डाईपरले घाउ बनाउन सक्दछ भने खुल्ला डाीपर पनि काम गर्दैन ।

२. डाइपर लगाएको बच्चालाई बेला बेलामा डाइपर भिजे नभिजेको चेक गर्दै गर्नुपर्दछ । डाइपर भिजीसकेको भए तुरुन्त फेरिहाल्नु पर्दछ ।

३. दिसा गरेको भए मजाले धोइदिऔ । पिसाब गरेको भए डाइपर बदलिदिऔँ ।

४. हरेक चोटी डाइप बदल्दा डाइपरले घाउ बनायो कि भनेर सजग रहौँ ।

५. डाइपर बदल्दा आफ्नो हात त सफा छ भनेर विशेष ध्यान दिऔँ ।

६. डाइपर नलगाएका बच्चाहरुको कपडा भिज्ने बित्तिकै बदलिदिऔँ ।

७. जाडोमा सिङ्गानबग्ने खोकीलाग्ने आदि पनि हुन सक्ने हुँदा नाक र मुखको सरसफाईमा विशेष ध्यान पुर्याऔँ ।

८. खाना खुवाइसके पछि बच्चालाई राम्रोसँग चुठाऔँ ।

९. धुलो, माटो, बालुवा खानेकुरा आदि लागेको खण्डमा पनि तुरुन्त सफा गरि दिऔँ ।

१०. शिशुलाई धुवा, धुलो, धुम्रपान , डियोड्रिन्ट आदिबाट पनि बचाउनुहोस् ।

यसरी सुताउनुहोस्

१. बच्चालाई चिसो यठेको बेलामा भन्दा सुतेको बेलामा लाग्न सक्छ । तसर्थ सुतेको बेलामा बच्चालाई न्यानो बनाउने इन्तजाम गर्नुहोस् ।

२. बच्चा सुताउने बिछ्याउना न्यानो हुन अत्यन्त आवश्यक छ । बच्चा सुताउनु भन्दा पहिले ओछ्यान लगाएर त्यसमाथि हट वाटर ब्याग राखेर ओछ्यान तताउनुहोस र सुताउन लागे पछि त्यहाँबाट ब्याग हटाउनुहोस् ।

३. बिच्याउना सिरक कपासको हुनुपर्दछ ।

४. ६ महिना सम्मको बच्चाहरुलाई तोरीको सिह्रानी लगाइदिनु राम्रो हो ।

५. सिरक धेरै बाक्लो हुनुहुँदैन ।

६. सुताउँदा विशेषतः उनीको जुराफ, पञ्जा, टोपि आदि लगाएरै सुताई दिऔँ ।

के के खुवाउने जाडोमा

१. नवजात बालकहरुका लागि आमाको दुध सबैभन्दा उत्तम आहार हो । आमाको दुध पर्याप्त नभएको खण्डमा गाईको बाख्राको वा त्यो पनि नभ भैंसीको दुध खुवाउन सकिन्छ ।

२. खाना वा लिटो खान सक्नेका लागि मल्टीग्रेन पिठोको लिटो खुवाउनु ।

३. हरियो साग–सब्जी, उसिनेको च्याउ अन्य फलफुल आदि पनि खुवाउँदै रहनु पर्दछ । दालको झोल, तरकारीको सूप पनि खुवाउँदै रहनुहोला ।

४. दुधमा शुद्ध बेसार हालेर पनि खुवाउँदै रहनुहोला ।

५. काजु बदाम किसमिस आदि पिसेर पनि खुवाउन सकिन्छ ।

६. अंकुरित गेडागुडी हालेको खिचडी दलिया आदि खुवाउँदा चिसोमा राम्रो हुन्छ ।

७. तारे भुटेको चिसो प्रकृतिक फलफुल खानेकुरा खुवाउनु हुँदैन ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढ्नुहोस् 

जाडोमा मह खानुको फाइदाहरु

जाडोमा बदाम खानुका फाइदै फाइदाहरु

जाडोमा घाममा बस्नुका फाइदाहरु के के हुन् ?

जाडोमा अदुवा हालेको चिया पिउनुका फाइदाहरु

योगी नरहरिनाथ अस्पताल

थप जानकारीमूलक लेखहरुको लागि तलको पेज लाइक गर्नुहोस् : 

Yogi Naraharinath Yoga & Nature Cure Hospital

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!