मुख्य समाचार

सातौँ राष्ट्रिय विज्ञान दिवस २०७६ को बारेमा पत्रकार सम्मेलनको आयोजना

२६ भदौ, काठमाडौँ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो असोज १ गते ‘राष्ट्रिय विज्ञान दिवस’ राष्ट्र ब्यापी अभियानको रुपमा भव्यताका साथ मनाउने भएको छ । यस वर्षको राष्ट्रिय बिज्ञान दिवसको नारा “विज्ञान, प्रविधि र नवप्रवर्तन : सामाजिक आर्थिक रुपान्तरण” भन्ने रहेको छ । आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पत्रकार सम्मेलन गरेर उक्त कुराको जानकारी दिइएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहमा विज्ञानलाई प्रश्रय दिँदै साताव्यापी रुपमा सातौँ राष्ट्रिय विज्ञान दिवस मनाउन शुरु गरेको छ ।

प्रदेश र स्थानीय तहमा समेत आजदेखि शुरु भएको सो सप्ताह अन्तर्गत हाजिरीजवाफ, निबन्ध र कविता प्रतियोगिता, नवप्रवर्तनात्मक कार्यक्रम, संवाद, कला र आविष्कार प्रदर्शनी आदि गतिविधि गरिने छन् । दिवसका लागि शिक्षामन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । दिवसका अवसरमा बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी, विज्ञान शिक्षक समाज, रोबोटिक्स एशोसिएशन लगायतले पनि विभिन्न प्रदर्शनी गर्नेछन् । साताव्यापी कार्यक्रम असोज ५ गतेसम्म चल्नेछ ।

दिवसको मूल समारोह समितिको कार्यक्रम आउँदो असोज १ गते राष्ट्रियसभा गृह, भृकृटीमण्डपमा हुने र सो दिन कक्षा १२ मा विज्ञान विषयमा उत्कृष्ट अङ्क ल्याउने सात प्रदेशका सामुदायिक र निजी विद्यालयका एक एक गरी १४ विद्यार्थीलाई पुरस्कृत गरिनेछ । यसैगरी, विज्ञान विषयमा कलम चलाउने दुई पत्रकार र नयाँ अनुसन्धान गर्ने संस्थालाई पुरस्कृत गरिने कार्यक्रम रहेको आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सोही दिन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले कुलपति नवप्रवर्तन पुरस्कारको घोषणा गर्ने मन्त्रालयका सचिव डा. सञ्जय शर्माले जानकारी दिनुभयो । सचिव शर्माले विज्ञान विषयलाई सञ्चार माध्यमले प्राथमिकता दिई वैज्ञानिकहरुलाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । नेपाल सरकारले राष्ट्रिय विज्ञान नीति पनि जारी गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा गठित संयुक्त सरकारले विज्ञान र प्रविधिको उपयोग र जनचेतना फैलाउने लक्ष्यका साथ तत्कालिन वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को २०६९ मंसिर ८ गतेको बैठकले उक्त दिवस मनाउने निर्णय गरेको थियो । नेपालमा विज्ञान विषय मात्र पढाइने ‘अमृत साइन्स क्याम्पस’ स्थापनाको दिवसका अवसर पारेर सरकारले असोज १ गते उक्त दिवस मनाउने निर्णय गरेको थियो ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

यस्तो छ राष्ट्रिय विज्ञान दिवस-२०७६ को नारा

सरकारले असोज १ गते ‘राष्ट्रिय बिज्ञान दिवस’ भव्यताका साथ मनाउने

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!