राष्ट्रिय समाचारसमाचार

नाष्टद्वारा नेपाल नेशनल वाटर विक्-२०१९ सेमिनार आयोजना

चैत ११, ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले नेपाल नेशनल वाटर विक्-२०१९ नामक १ दिने सेमिनार आयोजना गरेको छ । केहि बर्ष अघिदेखि प्रत्येक बर्ष जसो विश्व पानी दिवसको उपलक्ष्यमा नाष्टले नेपाल नेशनल वाटर विक् सेमिनार आयोजना गर्दै आईरहेको छ । सो सेमिनारको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कँडेलले गर्नु भएको थियो । उद्घाटन समारोहमा नाष्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कृष्णराज विसी, सचीव डा. बुद्धि रत्न खड्गी, पूर्व विज्ञान, प्रविधि तथा वातावरण मन्त्री गणेश शाह, पूर्व जलस्रोत मन्त्री तथा नाष्टका प्राज्ञ दिपक ज्ञवालीले आफ्नो धारणा राख्नु भएको थियो ।

‘पानीको पहुँचबाट कोही टाढा नरहुन्’ भन्ने नाराका साथ सन् २०१९ को विश्व पानी दिवस मार्च २२ तारिखका दिन गत शुक्रवार मनाइएको थियो । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले मार्च २२ तारिखलाई विश्व पानी दिवसको रुपमा घोषणा गरेयता हरेक वर्ष यो दिवस मनाउने गरिएको हो। यस वर्षको विश्व पानी दिवसले दिगो विकासको मूल आधार पानी हो भन्ने मान्यता स्थापित गरेको छ । दीर्घकालीन विकास लक्ष्यको बुँदा नं ६ मा सन् २०३० भित्र सवैलाई पानी उपलब्ध गराउने र पानीको दीर्घकालीन व्यवस्थापन गर्ने भनिएको छ। यस परिभाषा अनुसार कसैलाई पनि पछाडि पर्न नदिने रहेको छ।

नेपालको संविधानले धारा ३५ (४) मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने गरी स्वास्थ्य सम्बन्धी हकको सुनिश्चित गरेको छ । सन् २०१७ सम्म आमनागरिकलाई खानेपानी तथा सरसफाइको प्रत्याभूत गर्ने घोषणा गरे पनि अहिलेसम्म खानेपानीमा ८७ प्रतिशत र सरसफाइमा ९५ प्रतिशत सफलता प्राप्त भएको सरकारी तथ्यांकमा उल्लेख छ । नेपालले सन् २०३० सम्मका लागि निर्धारण गरिएको विश्वव्यापी दिगो विकासका लक्ष्यअनुसार केही सूचकहरू निर्धारण गरेको छ । यस अवधिमा ९९ प्रतिशत घरपरिवारले आधारभूत पानीको सुविधा प्राप्त गर्नेछन् भने ९५ प्रतिशत घरधुरीसँग पाइपबाट पानीको आपूर्ति हुनेछ र सुधारिएको सरसफाइको अवस्थाको सुनिश्चितता हुने जनाएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!