स्वास्थ्य

यसरी गर्नुहोस् मुख बाङ्गिने रोगको प्राकृतिक उपचार

Dr. Hemraj Koirala
डा. हेमराज कोइराला

यसरी गर्नुहोस् मुख बाङ्गिने रोगको प्राकृतिक उपचार । अनुहारको एकापट्टिको भाग बाङ्गिने रोगलाई अनुहारको पक्षघात भनिन्छ । यो रोग अनुहारलाई स्नायूँ आपुर्ति गर्ने नशा फेसियल नर्भले स्नायु आपूर्ति सुचारु गर्न नसक्दा देखापर्ने गर्दछ । यो समस्याले प्रायः अनुहारको एकापट्टिको भागलाई मात्र प्रभावित गर्ने गरेता पनि प्रभावित भएकाहरुमध्ये एक प्रतिशतमा अनुहारको दुवैतिर पनि समस्या देखिने गरेको छ। एक लाख जनामध्ये २५ जनामा लाग्ने तथ्य रहेको यो रोग प्रायः गर्मी याममा भन्दा जाडोयाममा ज्यादा देखिने गरेको छ । पूर्व सूचना र संकेत बिनै अचानक लाग्ने र तत्काल उपचार नगरे व्यक्तित्व र सौन्दर्यतामा समेत दिर्घकालिन असर पार्ने यो रोगले ज्यानै लिई हाल्ने वा थला नै पारि हल्ने भने होइन । फेसियल नर्भले विशेषतः अनुहारको माँसपेशी, आँखाको ढकनी, र्याल ग्रन्थी, अश्रु ग्रन्थी र जिब्रोको दुई तिहाइ र अग्र भागलाई स्नायु आपूर्ति गर्दछ ।

मुख बाङ्गिने रोगको प्राकृतिक उपचार

प्राकृतिक उपचारले यस रोगका रोगीको पुनस्र्थापनामा महत्वपूर्ण भूमिका खेल्छ । विशेषतः अकुपञ्चर, फिजियोथेरापी, टाउको तथा अनुहारको मालिस, जडीबुटीहरुको लेप, तातोले सेक्ने, मुखका मांसपेशीको कसरतले रोग निको पार्न विशेष भमिका खेल्छ।

(क) फिजियोथेरापी

विशेषतः पक्षघात भएका मांसपेशीलाई फेरडिक वा गेल्भनिक करेन्ट दिएर उत्तेजित गर्ने, अल्ट्रासाउण्ड गर्ने, अनुहारका मांशपेशीलाई कसरतले गराउने गरिन्छ। फिजियोथेरापीले पक्षघात भएको मांशपेशिलाई सुक्न दिदैन ।

(ख) व्यायाम

१. आँखा खोल्ने र बन्द गर्ने अभ्यास ।

२. आँखीभौँलाई तलमाथि गर्ने अभ्यास ।

३. मुस्कुराउे तथा हाँस्ने अभ्यास ।

४. मुखमा हावा भरेर मुख फुलाउने अभ्यास ।

५. सिट्टी बजाउने र बेलुन फुलाउे अभ्यास ।

६. ओठ लेप्रेयाउने र टोक्ने अभ्यास ।

७. आँखा तलमाथि र दाँयाबाँया गर्ने तथा घुमाउने अभ्यास ।

८. स्ट्रोले पानी पिउने र पिएको पानी ननिलिकन फोहोरा बनाएर फुक्ने अभ्यास ।

९. मुख बनाउने र दाह किट्ने अभ्यास ।

१०. दाँत देखाउने र ओठ गोलो बनाउने अभ्यास ।

११. नाक खुम्च्याउने र पोरा फुलाउने अभ्यास ।

१२. कुल्ला गर्ने अभ्यास ।

१३. च्यापुलाई दाँयाबाँया हल्लाउने अभ्यास ।

१४. चुइगम चपाउे अभ्यास ।

१५. निधारका मांसपेशीलाई खुम्च्याउने र छोड्ने अभ्यास ।

१६. बलेको मैनबत्तिलाई निभाउने अभ्यास ।

नोटः अनुहारको कसरत गर्दा ऐनाको साहयता लिएमा कसरत प्रभावकारी हुन्छ ।

मुख बाङ्गिने रोगको सावधानी र निगरानीहरू

१. रोगको लक्षण देखिने बित्तिकै जति सक्दो चाँडो चिकित्सकको सल्लाह अनुरूप उपचार सुरू गर्नुपर्छ । लक्षण देखिएको तीन–चार घण्टाभित्रै उपचार थाल्न पाइयो भने संभावित जटिलतालाई न्यूनिकरण गरी पुनस्र्थापनालाई प्रभावकारी बनाउन सकिन्छ।

२. जोखिममा परेकाहरुले उच्च रक्तचाप, उच्चरक्त कोलेस्टेरोल, ब्याक्टेरिया तथा भाइरसको सङ्क्रमण, कान पाक्ने रोग, रगतको क्यान्सर, नसा खुम्चिने रोग, पेरोटिड ग्रन्थीको टयुमर, नाक, कान र घाँटीको सङ्क्रमणले ग्रस्त भएकाहरुले विशेष सावधानी अपनाउनु पर्छ ।

३. यो रोग जाडो मौसममा ज्यादा घट्ने भएकाले जाडोबाट बचौँ । विशेषतः कनपट्टिको र टाउकोलाई चिसोबाट जोगाउँ । चिसो मौशममा बादरे टोपी लगाउने गरौ ।

४. रोग लागेर आँखा बन्द गर्न कठिनाई हुने भएकाले आँखाको नानीलाई बचाउन चश्मा लगाउनुपर्छ ।

५. आँखालाई सुख्खा हुन नदिन कृत्रिम आँसु हाल्ने गरौ।

६. रोग लागेकाहरुले पर्याप्त आराम गर्ने, राम्रोसँग निदाउने र पोषिलो खानेकुरा खाने गरौ ।

७. सुतेको बेला आँखालाई ढाकेर सुत्ने गरौँ ।

८. भावनालाई वसिभूत गरौँ, मनोबललाई उच्च राखौँ र सकारात्मक सोचाई राखेर अघि बढौ ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढ्नुहोस्

मुटु रोग र यसको उपचार

नसा च्यापिने समस्या र यसको उपचार

टाउको दुख्ने समस्या र यसको उपचार

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!