स्वास्थ्य

मानिसलाई रिंगटा के कारणले लाग्छ ?

प्राय: गरेर मानिसलाई घुमाएको जस्तो, हल्लाएको जस्तो, कतै ढल्किन लागेको जस्तो, लड्न लागेको जस्तो वा सन्तुलन गुमाउन लागेको जस्तो महसुस हुने अवस्थालाई रिंगटा लाग्नु भनिन्छ । रिंगटा लाग्दा कहिलेकाहीं टाउको हलुंगो भएको जस्तो हुने र सीधा हिंड्न पनि गाह्रो हुने हुन्छ । अत्याधिक मानसिक वा शारीरिक परिश्रमबाट उत्पन्न थकान, मानसिक तनाव, भय, टाउकोमा चोट, मुटुमा अवरोध, असामन्य हृदयको धड्कन, कानमा भाइरल संक्रमण, आँखाको कमजोरी जस्ता कारणले पनि रिंगटा लाग्न सक्छ । रिंगटा लाग्नुको प्रमुख कारणमा रगतमा सुगरको स्तरमा गिरावट, शरीरमा रगतको कमी, रक्तचाप आदि हुन् । डाक्टरहरुका अनुसार रिंगटा लाग्नुमा हाम्रो कानमा हुने रौ जस्ता स्नायु नलीहरुले मस्तिष्कमा गलत सुचना प्रवाह गर्नु हो ।

वास्तवमा भेस्टिबुलर प्रणाली बाहिरी र भित्री कान बीचको समन्वयकारी खाली भाग मार्फत् सूचना प्रवाह गर्ने प्रणाली हो । यस प्रणाली अन्तर्गत एक आपसमा लम्ब परी बसेका तीन अर्धवृत्ताकार नलीहरु मार्फत शारीरिक चालको सुचना हाम्रो मस्तिष्कमा पुग्दछ । यी नलीहरुमा रौँजस्ता स्नायुकोषहरु मात्र नभई यिनीहरुमा इन्डोलिम्फ नामक तरल पदार्थ पनि रहेको हुन्छ । न्युटनको चालसम्बन्धी नियम अनुसार चालमा रहेका वस्तु चालमै र स्थिर रहेका वस्तु स्थिर नै रहन खोज्नुलाई इनर्सियाको नियम भनिन्छ । प्रकृतिको यही नियम कानभित्रको इन्डोफिम्फ तरलले अनुसरण गर्दछ । टाउको घुमाउँदा वा घुम्दा चालमा आएको फेरबदललाई इन्डोलिम्फले प्रतिरोध गर्न खोज्छ । यसको परिणामस्वरुप इन्डोलिम्फ पछाडितिर खस्दछ र यसले मस्तिष्कसम्म स्नायु सङ्केतहरु पठाउन रौँ जस्ता स्नायुकोषहरुलाई उत्तेजित पार्छ । हाम्रो मस्तिष्कले स्नायुकोषहरुबाट प्राप्त स्नायु सूचनाहरु पढ्छ र टाउको कुन दिशामा चलेको हो थाहा पाउँदछ ।

हामी जुन दिशामा घुम्छौँ, त्यही दिशामा इन्डोलिम्फ विस्तारै चल्न थाल्दछ । केही समयपछि हामी घुमेको गतिमै इन्डोलिम्फ पनि चल्न थाल्दछ । यस स्थितिमा इन्डोलिम्फले लामो समयसम्म रौँजस्तो स्नायुकोषहरुलाई उत्तेजित पारिराख्न सक्दैन । यसले गर्दा मस्तिष्कले स्नायु सङ्केतहरुलाई छिटोछिटो आफ्नो अनुकूलमा पार्छ । जब हामी घुम्न बन्द गर्दछौँ, तब त्यतिखेर पनि इन्डोलिम्फ निरन्तर पहिलेकै दिशामा चलिरहन्छ र यसले रौँजस्ता स्नायु कोषहरुलाई विपरीत दिशामा उत्तेजित पार्दछ । परिणामस्वरुप रौँजस्ता स्नायुकोषहरुले मस्तिष्कलाई अझैँ टाउको घुमिरहेको गलत सूचना दिन्छन् । यसले गर्दा हामीलाई रिंगटा लाग्ने र टाउको हलुको महसुस भई मुर्छा पर्ला जस्तो अनुभूति हुन्छ ।

यो पनि पढ्नुहोस्  

रक्सी सेवनका नकारात्मक असरहरु

चक्कर किन लाग्छ ?

मुटुको समस्याबाट कसरी बच्ने ?

रिंगटा किन लाग्छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!