विज्ञान तथा प्रविधि मन्त्रालयको उतार चढावको हिजोदेखि आजसम्मको ईतिहास
२० वर्षे इतिहासमा कहिले जोडिने अनि कहिले फुट्ने अवस्थाबाट गुज्रिएकाले विज्ञान तथा प्रविधि मन्त्रालय गतिहीन भएको छ । विज्ञान तथा प्रविधि मन्त्रालय २०५३ साल जेठ २ गते स्थापना भएपछि पटक-पटक जोडिने र फुट्ने क्रम चलेको छ । २०६१ सालमा यो मन्त्रालयमा जनसंख्या तथा वातावरण पनि जोडियो । यसको ४ वर्षपछि २०६५ सालमा वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय गठन गरिएको थियो । २०६६।०२।२९ देखि २०६९।०२।०५ सम्म वातावरण मन्त्रालय र विज्ञान तथा प्रविधि मन्त्रालय छुट्टाछुट्टै अस्तित्वमा रहे । फेरि, ४ वर्षपछि बाबुराम भट्टराई सरकारको पालामा विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय नामाकरण गरियो । पछिल्लोपटक २०७२ साल पुस ९ गते पुनः केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रालय टुक्र्याई विज्ञान तथा प्रविधि बनाएको थियो ।
बाबुराम भट्टराई सरकारको पालामा भविष्यमा पनि नटुक्र्याउने भन्दै विज्ञान तथा प्रविधिमा वातावरण जोडेर विज्ञान, प्रविधि र वातावरण मन्त्रालय बनाइएकोमा ओली सरकारले राजनीतिक भागबन्डा मिलाउन टुक्र्याएर विज्ञान तथा प्रविधि मन्त्रालय बनाएको थियो । भागबन्डा मिलाउन मन्त्रालय फुटाउँदा त्यसले मन्त्रालयको कामकारबाहीमा दीर्घकालीन रूपमा असर पार्ने विज्ञहरूको धारणा छ । त्यतिमात्र नभई टुक्र्याइएपछि तत्कालीन जनसंख्या तथा वातावरण मन्त्री विशेन्द्र पासवानको सक्रियतामा वैकल्पिक ऊर्जा प्रवद्र्घन केन्द्रलाई वातावरण मन्त्रालयमा राखिएको थियो । व्यक्तिगत आग्रह तथा चाहनामा मन्त्रालय टुटाउने र जोड्ने क्रम जारी रहेसम्म मुलुकले विज्ञान तथा प्रविधिको क्षेत्रमा प्रगति हुन नसक्ने पनि विज्ञहरूको भनाई छ । संक्षेपमा मन्त्रालयको गठन तथा पुनर्गठनको विवरण यस प्रकारको रहेको छ :
सि.नं. | निकाय | मिति | कैफियत |
१ | विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान | वि.सं. २०३९।०८।२० | स्थापना (तत्कालिन ने.रा.प्र.प्र.) |
२ | विज्ञान तथा प्रविधि मन्त्रालय | वि.सं. २०५३।०२।०२ | स्थापना |
३ | वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय | वि.सं. २०६१।१२।१८ | वातावरणसँग गाभियो |
४ | विज्ञान तथा प्रविधि मन्त्रालय | वि.सं. २०६६।०२।२९ | वातावरण मन्त्रालय छुट्टै गठन भएको |
५ | विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय | वि.सं. २०६९।०२।०५ | वातावरणसँग गाभियो |
६ | विज्ञान तथा प्रविधि मन्त्रालय | वि.सं. २०७२।०९।०९ | जनसंख्या तथा वातावरण मन्त्रालय छुट्टै गठन भएको |
मन्त्रालय अर्न्तर्गतका निकायहरू
१. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)
२. राष्ट्रिय विधि विज्ञान प्रयोगशाला
३. सूचना प्रविधि विभाग
४. वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति
५. राष्ट्रिय सूचना प्रविधि केन्द्र
६. प्रमाणीकरण नियन्त्रकको कार्यालय
७. विज्ञान प्रविधि परिषद
*गोपाल भण्डारी साईन्स इन्फोटेकका प्रधान-सम्पादक हुनहुन्छ ।
स्रोत : विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवार, काठमाडौं, नेपाल