धर्म-सस्कृति

संसारलाई नै मोहित पार्ने भगवान श्रीकृष्णका १६ कलाहरु

भगवान श्रीकृष्णलाई हिन्दू धर्ममा विष्णुको अवतार मानिन्छ । उनी युगपुरुष थिए । भगवान श्रीकृष्णको जन्म आधुनिक भारतको मथुरा शहरमा भएको थियो । श्रीकृष्णलाई जन्मिएकै घडी कंशबाट बचाउन उनका पिता वसुदेवले गोकुलवासी नन्द गोपका घरमा छोडेका थिए। त्यसैले श्रीकृष्णको बाल्यकाल नन्द गोपका घरमा बितेकोले उनलाई गोपाल तथा नन्दलाल नामले पनि जानिन्छ । ईश्वरीय शक्तिको रुपमा भगवान श्रीकृष्णको पूजा आर्यावर्तमा लगभग ५०० वि.पू. प्रारम्भ भइसकेका प्रमाणहरु भेटिन्छन् । कृष्णको गीता-ज्ञान सम्पूर्ण मानव जातिका लागि पथ-प्रदर्शक मानिन्छ । संसारलाई नै मोहित पार्ने भगवान कृष्णका १६ कलाहरु निम्न अनुसार छन् ।

१. धन-सम्पदा

पहिलो कलाको रुपमा धन सम्पदालाई स्थान दिइएको छ । जुन व्यक्तिसँग अपार धन छ र ऊ आत्मिक रुपले पनि धनवान छ । जसको घरबाट कोही पनि खाली फर्कदैन ऊ पहिलो कलाले सम्पन्न मानिन्छ । यो कला भगवान श्रीकृष्णमा थियो ।

२. भू-अचल सम्पति

जुन व्यक्तिसँग पृथ्वीमा राज गर्ने क्षमता हुन्छ । पृथ्वीको एक ठूलो भागमा जसको अधिकार हुन्छ र त्यस क्षेत्रमा बस्ने वासिन्दाको आज्ञालाई सहर्ष स्विकार्छ त्यो अचल सम्पतिको मालिक हुन्छ । भगवान कृष्णले पनि आफ्नो योग्यताले द्धारिकालाई पुरीलाई बसाए ।

३. कीर्ति

जसको मान-सम्मान वा गौरवले चारै दिशा गुञ्जिन्छ । मानिस जोप्रति स्वत विश्वास राख्छ त्यहि व्यक्ति तेस्रो कलाबाट सम्पन्न हुन्छ । भगवान कृष्णमा यो कला थियो ।

४. वाणीको सम्मोहकता

भगवान श्री कृष्णमा यो कला थियो । श्री कृष्णको वाणी सुनेर क्रोधित व्यक्ति पनि आफ्ना शान्त हुन्थे । मनमा भक्तिको भवना भरिएर आउथ्यो । गोपिनीहरु यशोदा मैयासँग पोखाउने गरेका गुनोसो कृष्णको वाणी सुनेपछि भुल्थे ।

५. लीला (आनन्द उत्सव)

भगवान श्री कृष्ण धर्तीमा लीलाधरको नामले पनि चिनिन्छन्, किनकि उनको बाल लीलादेखि जीवन घटना रोचक र मोहक छन् । उनको लीला कथाहरु सुनेर कठोर व्यक्ति पनि भावुक बन्थे ।

६. कान्ति (सौन्दर्य र आभा)

जसको मुहार देखेर मन स्वत आकर्षित भएर प्रसन्न हुन्छ । भगवान राममा पनि यो कला थियो । कृष्ण यही कलादेखि सम्पन्न थिए । कृष्णको यो कला देखेर पूरा ब्रज मंडल हर्षित हुन्थे । गोपिनीहरु कृष्णलाई देखेर पतिको रुपमा पाउने कामना गर्ने ।

७. विद्या (बुद्धि)

कृष्ण वेद, वेदांगको साथ युद्ध र संगीतमा पारंगत थिए । राजनीति एवं कूटनीति पनि कृष्णलाई पोख्त थिए ।

८. पारदर्शिता

जो व्यक्तिसँग छल-कपट हुँदैन, ऊसँग पारदर्शिता हुन्छ । भगवान श्री कृष्ण समान व्यवहार राख्थे सबैमा । उनका लागि न कोही सानो न ठूलो । महारासको समय उनले आफ्नो यस कलालाई प्रदर्शन गरेका थिए । उनले राधा र गोपिनीहरुमा केही फरक देखेनन् ।

९. उत्कर्षिणि (प्रेरण-नियोजन)

महाभारतको युद्धको समयमा श्री कृष्णले आफ्नो यो कलालाई देखाएका थिए । उनले युद्धबाट विमुख अर्जुनलाई युद्धका लागि प्रेरित गरेका थिए र अधर्ममाथि धर्मको विजय गराएका थिए ।

१०. ज्ञान

भगवान श्री कृष्णले जीवनमा धेरै पटक विवेकको परिचय दिएका छन् । गोवर्धन पर्वतको पूजा होस् वा महाभारत युद्धलाई रोक्नेका लागि दुर्योधनसँग पाँच गाउँ माग्नु, यो सबै कृष्णको उच्च स्तरको विवेकाको परिचय हो ।

११. कर्मण्यता

जसको इच्छाले मात्रै संसारको जुनसुकै काम हुन्थ्यो । कृष्ण सामान्य व्यक्तिले जसरी कर्म गर्थे र अन्य मानिसलाई प्रेरित गर्थे । महाभारत युद्धमा कृष्णले हात हतियार चलाएनन् तर, अर्जुनको सारथी बनेर युद्ध समापन गरे ।

१२. योग

श्री कृष्ण योगेश्वर पनि भनिन्थ्यो । कृष्ण उच्च कोटीका योगी थिए । आफ्नो योगको बलले कृष्णले ब्रह्मास्त्रको प्रहारबाट माताको गर्भमा रहेको परिक्षितको रक्षा गरे ।

१३. अत्यन्तै विनय

कृष्ण सम्पूर्ण जगतको स्वामी हुन् । सम्पूर्ण सृष्टिको सञ्चालन उनको हातमा भएपनि उनका अहंकार भन्ने थिएन । गरीव सुदामालाई मित्र बनाएर छातीमा टासे ।

१४. सत्य (यथार्थ)

श्री कृष्ण कटु सत्य बोल्नेदेखि डराउँदैन थिए र धर्मको रक्षाका लागि सत्यलाई परिभाषित गर्न पनि जान्ने कला उनमा थियो ।

१५. आधिपत्य

श्री कृष्णले आवश्यक परेमा आफ्नो प्रभाव महशुस गराउँन सक्थे । उदाहरणका लागि मथुरा निवासीहरुलाई द्धारिका नगरीमा बस्नका लागि राजी बनाए ।

१६. अनुग्रह (उपकार)

बिना प्रत्युकारको भावनाले मानिसको उपकार गर्ने यो कला हो । भगवान कृष्ण कुनै पनि भक्तसँग केही पाउने आशा राख्दैन थिए ।

यो पनि पढ्नुहोस्

यस्तो छ सवैले एकपटक पढ्नैपर्ने गीताको सार

श्रीकृष्ण र गीता धर्म

गीतामा भगवान् कृष्णको वाणी

के हो श्रीमद्भगवद गीता ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!